एउटै जिल्लामा दैनिक ८ करोड रेमिट्यान्स
परासी : नवलपरासी जिल्लामा मात्र दैनिक आठ करोडभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था र निजी रूपमा सञ्चालन गरिएका रेमिट्यान्स कम्पनीका शाखा उपशाखाबाट दैनिक वितरण हुने रकमका आधारमा यो तथ्यांक निस्केको हो।
जिल्लाबाट रोजगारका लागि बिदेसिने क्रमसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्दै गएको देखिएको छ। पछिल्लो पटक ग्रामीण क्षेत्रका बासिन्दाको रोजीरोटी विदेशी कमाइले धानेको छ। दैनिक जसो जिल्लाबाट ३५ देखि ४० जना युवा रोजगारका लागि बिदेसिने गरेको तथ्यांक छ।
जिल्ला सदरमुकाम परासीलगायत सुनवल, भुमही, बर्दघाट, गोपीगन्ज, दुम्किवास, अरुणखोला, चोरमारा, डन्डा, कावासोती, रजहर, प्रगतिनगर, दलदले, मुकुन्दपुर, गैंडाकोटलगायतका बजार क्षेत्रमा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था छन्।
यसैगरी विभिन्न रेमिट कम्पनीबाट अनुमति लिएर सञ्चालनमा रहेका ३० भन्दा बढी एजेन्टका शाखा र उपशाखा छन्। पछिल्लो पटक सहकारीमार्फत पनि रेमिट्यान्स वितरण हुँदै आएको छ । दैनिक वितरण हुने रकममध्ये निजीबाट बढी हुने गरेको पाइएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा दैनिक दुई लाखदेखि ६ लाखसम्म रकम वितरण हुने गरेको छ। राष्ट्रबैंकले रेमिट्यान्स बुझ्न खाता अनिवार्य गरे पनि अधिकांश बैंकले त्यसलाई कार्यान्वयनमा ल्याएका छैनन्।
हरि सटही काउन्टर परासीका सञ्चालक अवधेश अग्रवालका अनुसार उनको काउन्टरबाट दैनिक ३० देखि ३५ लाख रुपैयाँ वितरण हुन्छ। मासिक रूपमा १ देखि १५ तारिखभित्र सबैभन्दा बढी रकम आउने गरेको उनको भनाइ छ।
सो अवधिमा दैनिक ४५ देखि ५० लाख वितरण गर्नेगरेको अग्रवालको बताए। परासी बजारमा मात्र करिब १० वटा बैंक तथा वित्तीय संस्था रहेका छन् भने निजी रूपमा सञ्चालित मनि चेन्जर काउन्टर चारवटा छन्। ती सबै संस्थालगायत कावासोती क्षेत्रबाट पनि रकम वितरण हुने गरेको छ।
कावासोतीस्थित हिरा इन्टरप्राइजेजका सञ्चालक कृष्ण गिरीका अनुसार उनको काउन्टरबाटमात्र दैनिक ४० देखि ५० लाख रुपैयाँ रेमिट्यान्स वितरण हुँदै आएको छ। कावासोती र डन्डा बजारमा मात्र डेढ करोडभन्दा बढी रकम वितरण हुने गरेको गिरीको अनुमान छ।
बुद्धचोकस्थित परमेश्वर मनी ट्रान्सफरका सञ्चालक नरेश जयसवालका अनुसार दैनिक ३५ देखि ४० लाख रकम वितरण हुँदै आएको छ।
बैंकहरूमा भीडभाड र तत्काल रकम पाउन झन्झटिलो हुने भएका कारण सर्वसाधरण बढीजसो निजी संस्थामा रकम निकाल्न जाने गरेको पाइएको छ।
बैंक र निजी गरी परासी सदरमुकाममा मात्र दैनिक डेढ करोड रेमिट्यान्स वितरण हुँदै आएको सञ्चालकहरू बताउँछन्।
सिद्धार्थ फाइनाइन्सका परासी शाखा प्रबन्धक कृष्ण गुरुङका अनुसार दैनिक चारदेखि पाँच लाख रेमिट्यान्स वितरण हुने गरेको छ। स्थानीय व्यक्तिहरूले रेमिट्यान्स वितरणको काम गर्ने भएकाले सर्वसाधारण बैंकमा जान नखोज्ने गरेको गुरुङको भनाइ छ।
बैंकबाट रकम निकाल्दा सुरक्षित हुने भए पनि त्यसबारेमा सर्वसाधारणले वास्ता नगर्दा बैंकमा रकम निकाल्नेको संख्या कम भएको हो। निजीबाट रकम निकालेपछि जम्मा गर्न बैंक जाँदा असुरक्षित हुने सम्भावना हुन्छ तर सर्वसाधारणले त्यसतर्फ ध्यान नदिने गरेको गुरुङको भनाइ छ।
परासीस्थित इनिसा मनी ट्रान्सफरका सञ्चालक उमेश पौडेलले भने बैंकका शाखाहरूले रेमिट्यान्स वितरण गर्नुभन्दा पहिलादेखि नै निजी क्षेत्रले रेमिट्यान्स वितरण सुरु गरेकाले स्थानीयले उनीहरूलाई विश्वास गर्ने गरेको बताए। व्यक्तिगत पहुँच र चिनजानले पनि निजी मनी ट्रान्सफरबाट रेमिट्यान्स बढी वितरण हुने गरेको पौडेलको अनुभव छ।
जिल्लामा सबैभन्दा बढी प्रभु, आईएमई, हिमाल, वेस्टर्न युनियन र सिटी मनी ट्रान्सफरमार्फत विदेशबाट रकम आउने गरेको छ। जिल्लामा सबैभन्दा बढी मलेसिया, कतार र दुवईबाट रेमिट्यान्स आउने गरेको छ ।
अन्नपूर्णपोष्टबाट
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: