कोहि रुँदै फर्किए, कसैले परिवारलाई रुवाएर विदा भए

रामबहादुर मुसहरलाई वैदेशिक रोजगार भनेको आरामले पैसा कमाउन सकिने ठाउँ जस्तो लाग्थ्यो । त्यही सुनौलो भविष्यको सपना बोकेर उनी पनि अरु धेरै नेपाली युवाहरुको गन्तव्य, मलेसिया पुगे ।

‘मलेसिया पुगेपछि मात्र मैले थाहा पाएँ विदेशमा काम गर्न जानु भनेको त सपना देखे जस्तै रहेछ’ कावासोती नगरपालिका–७, साँडका मुसहरले भने, –‘यहाँ स्वरोजगार हुँदाहुँदै पनि विदेश जाने लहड चलेर मलेसिया गएँ ।’ मलेसिया पुगेपछि नेपालमा सम्झौता गरेभन्दा फरक काम गर्नु पर्यो उनले ।

‘यहाँबाट मेनपावर कम्पनीले प्लाष्टिक उद्योगमा काम हो, पैसा पनि धेरै कमाइन्छ भनेर मलेसिया पु¥यायो’ आफ्नो पीडा पोख्दै मुसहरले सुनाए–‘मलेसिया पुगेपछि रबर उद्योगमा काम लगायो ।’

‘प्लाष्टिक उद्योगमा काम भनेर पठाएर मलाई किन रबर उद्योगमा काम गर्न लगाएको भनेर मैले प्रश्न गर्दा रबर र प्लाष्टिक कम्पनी भनेको उस्तै हो भनेर मेनपावर कम्पनीले जवाफ दियो’ मुसहरले दुःखेसो पोख्दै भने,– ‘काम एकदम अप्ठेरो थियो, नौ सेकेण्डमा ३५ किलोका तीन वटा रबर उचालेर अर्को ठाउँमा राख्नु पथ्र्यो ।’

आधारभूत तलब वापत नौ सय मलेसियन रिङ्गेट दिने र अतिरिक्त कामको छुट्टै तलब सुविधा पाउने मौखिक शर्तमा उनी मलेसिया पुगेका थिए । मलेसिया पुगेपछि आठ घण्टा बाहेक अतिरिक्त समय काम गर्न नपाएको र काम पनि साह्रै अप्ठेरो भएको उनी बताउँछन् ।

काम गाह्रो भएपनि उनले घरपरिवार र विदेश जाँदाको ऋणधन सम्झिएर जेनतेन गर्दै थिए । तर एकदिन काम गर्दै गरेको अवस्थामा कम्पनीमा नै दुर्घटनामा परेर घाइते भएपछि विदेश गएर छोटो समयमै मनग्यै धन आर्जन गर्ने मुसहरको सपना चकनाचुर भयो ।

कम्पनीको काम गर्दा घाइते भएपछि औषधि उपचारको अभावमा यत्तिकै बस्नु परेको मुसहरले बताए । कम्पनीले औषधि उपचार गर्नुको साटो घर पनि आउन नदिइ चार दिनसम्म कोठामा थुुनेर राख्यो ।

‘दुर्घटनामा परेपछि प्यारालाइसिस भएजस्तै गरी मेरा खुट्टाहरु चल्नै छोडे’ मुसहरले भने,– ‘पछि मलाई सुरक्षित आप्रवासन सूचना केन्द्रबाट खटिएका व्यक्तिले उद्धार गरेपछि मात्र घर फर्किन पाएँ ।’

घर फर्किएपछि केन्द्रले नै उपचार गरिदियो भनें उनले क्षतिपूर्ति वापत बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ६० हजार रुपैयाँ पाए ।

‘आफ्नै मान्छे हो भनेर विश्वासमा परेर कोही पनि विदेश नजानु होला’ दुर्घटनामा परेपछि गह्रौं काम गर्न नसक्ने भएका मुसहरुले आजकल सबैलाई सतर्क गराउँछन्– ‘आफ्नै मान्छेले झन् ठग्दो रहेछ ।’

रामबहादुर मुसहर गाउँकै चिनजानको मान्छे मार्फत मलेसिया पुगेका थिए । वैदेशिक रोजगारमा जान चाहने युवालाई सीप सिकेर मात्र जान उनको आग्रह छ । उनी अहिले घरमै बसेर मुढा बुनेर जीविका चलाउँदैछन् ।

यो वैदेशिक रोजगारको एउटा साझा कथा जस्तै हो । वैदेशिक रोजगारीमै गएका नवलपरासी रुचाङका श्यामबहादुर रानाको घरपरिवारमा अहिले बज्रपात भएको छ । चार वर्ष अगाडि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका रानाले पुस ६ गते सदाका लागि आँखा चिम्लिए, परदेशको भूमिमा ।

‘काम अप्ठेरो भयो श्यामबहादुरलाई नेपाल फर्काइदेउ भनेर मेनपावरमा कुरा पनि गरेका थियौँ’ उनका भिनाजु विष्णुवीर कानूले भने,– ‘उ तीन वर्षको लागि गएको हो, बीचमा फर्काउन मिल्दैन भनेर उल्टै मेनपावरको मान्छेले हामीलाई थर्काए ।’ तीन वर्ष काम गर्दा रानाको पासपोर्टको मिति सकिएको र नयाँ पासपोर्ट बनाउनको लागि नेपाल आउन खोज्दा कम्पनीले आउन नदिएको कानू बताउँछन् ।

‘सालाको पासपोर्ट बनाउनको लागि हामीले यहाँबाट नागरिकता समेत उतै पठाइदियौँ’ कानूले भने –‘तीन महिनासम्ममा पनि पासपोर्ट बनेन र उसले पुसको दोस्रो हप्ता घर आउँछु भनि फोन ग¥यो ।’

गएको मंसिर २८ गते फोन गरेर पुसको दोस्रो साता घर आउने सुनाएका रानाको पुस ६ गते मृत्यु भएको खबर गाउँमा आयो ।

‘सालो घर आउँदैछ भनेर हामी खुसी भएका थियौँ’ कानूले भने –‘पुस ६ गते काम सकेर सुतेको मान्छे कहिल्यै नउठ्ने गरी सुतेछ ।’ मलेसियामा रोजगारीमा गएको व्यक्ति तीन वर्ष पुगेपछि कुनै घटना भएमा उसको परिवारले क्षतिपूर्ति पाउँदैनन् ।

मलेसिया पुगेको तीनवर्ष कटेपछि मृत्यु भएका कारण श्याम बहादुरको परिवारले बैदेशिक रोजगार विभाग मार्फत पाउने क्षतिपूर्ति समेत पाएन ।

‘हामी त गाउँको मान्छे नियमको बारेमा केहि थाहा भएन’ कानूले भने,– ‘परदेशमा सालोको ज्यान गयो, परिवारलाई क्षतिपूर्ति पनि छैन, अब उसका ८० वर्षका बुबाआमा कसरी बाँच्ने हुन् ?’

वैदेशिक रोजगारीको क्षेत्र असुरक्षित बन्दै गएको सन्दर्भमा व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य समेत रहेकका नवलपरासी क्षेत्र नम्बर २ का सभासद जीवन श्रेष्ठले नेपालभरी नै वैदेशिक रोजगारी सम्बन्धमा समस्या रहेको बताए ।

आफूहरुको समितिमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको पीडाका सम्बन्धमा छलफल भइरहेको र चाँडै नै सरकारले उचित कानुन ल्याउने श्रेष्ठको भनाइ छ ।

‘मेनपावरले सेवा दिन भन्दापनि नाफा सोचेका कारण नेपालीहरु पीडित बनेका छन्’ सभासद श्रेष्ठले भने, –‘ती सबै समस्यालाई राज्यले राम्रोसँग सम्बोधन गर्न सकेको छैन ।’ वैदेशिक रोजगार सम्बन्धी कानुन बनेर पनि कार्यान्वयन हुन नसकेको श्रेष्ठले बताए ।

आनन्द पोखरेल नवलपरासी

तपाईको विचार/भोगाई लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय