
उमेर २१ बर्ष टेक्दै थियो । घरमा ९ महिने छोरी छोडेर जतिबेला उनी मलेसिया जान भनेर काठमाडौं उत्रिए त्यो कहालीलाग्दो दिन थियो । इराकमा १२ जना नेपाली घाँटी रेटेर मारिएपछि त्यसको आक्रोशले काठमाडौं जल्दै थियो । मेनपावर कम्पनीका कार्यालयहरु खोजिखोेजि आगो लगाईंदै थिए । बजारमा गाडी चलेका थिएनन् । अर्थात काठमाडौंमा ताण्डव नृत्य चलिरहेको थियो ।
नवलपरासीको अर्को एकजना साथिसँग काठमाडौं पुगेका जयराम कलुवारलार्ई सोच्दै नसोचेको आपत आइपर्यो । नमस्ते नेपाल नामको मेनपावरसम्म पुर्याइदिने गाउँले मान्छेले खवर ल्याए सो मेनपावरमा जम्मा तीनवटा पासपोर्ट बाँचेका छन् जलाइनबाट, त्यसमध्येमा एउटा तिनै जयरामको थियो ।
दोधार भयो उनलाई । घरबाट पैसा कमाउन भनेर हिंडेको मान्छे त्यसै घर कसरी फर्किनु ? विदेश जाउँ, १२ जना नेपालीको घाँटी रेटेर मारिएको आक्रोशमा त्यत्रो विध्वंश नेपालमै हुँदै थियो ।
अलमल अलमल गर्दै उनी पुगे बसुन्धराको एउटा गेष्टहाउसमा । रातमा निद्रा परेन । भोलीपल्ट पनि स्थीति साम्य भएन । हिंडेरै उनी त्रिभुवन विमानस्थलसम्म पुगे झण्डै तीन घण्टा लगाएर ।
मलेसियामा उनी जोहरवारु भन्ने ठाउँमा पुगे काम गर्न । सो कम्पनीमा काम गर्न जाने उनी एक्लै थिए । उनी पुग्दा अर्का एकजना नेपाली भेटिए त्यो कम्पनीमा । बाँकी सवै अरु देशका नागरिक । ती एकजना नेपाली पनि उनी पुगेको हप्तादिन पछि नै नेपाल फर्किए । एक्लो परे उनी ।
विदेशको ठाउँ भाषा बुझिंदैन । सुपरभाइजरले के भन्छ, उनी के गर्छन् । रिसाउँदै गाली गर्छ, उनी वाल्ल परेर हेर्छन् । यहि गतिले सुरुका दुई महिना जसोतसो कटे । त्यसपछि उनी काम गर्ने कम्पनीमा अरु ७ ८ जना नेपाली थपिएपछि उनलाई थोरै सास आयो ।
सवै नेपालीको ताल उही । भाषा कोहि बुझ्दैनन्, यो गर् भन्यो उ गरिदिन्छन्, अनी सुपरभाइजरको गाली खान्छन् । १० बर्ष अघिको दिन सम्झिंदै खित्खिताउँदै थिए उनी ।
कम्पनीले बुझ्यो अव नेपालीलाई भाषा सिकाउने मान्छे नभइ काम लगाउन सकिन्न । त्यसैले अर्को कम्पनीबाट मले भाषा जान्ने केहि पुराना नेपाली कामदार झिकाएपछि उनीहरुले नै ति नेपालीलाई भाषा पनि सिकाए र काम पनि । झण्डै ६ महिना लगाएर काम चलाउ भाषा जानेपछि सुपरभाइजरको व्यवहार पनि फेरियो ।
उनी परिवारको कान्छो छोरा । दाजु थिए । उनी यतै पसल गर्थे । कमाइ थोरै थियो अनी खानेमुख धेरै । त्यसैले दुईचार पैसा कमाउन भन्दै जयराम मलेसिया उडेका थिए ८० हजार बुझाएर ।
काम सुरुमा गाह्रै भयो । भाषाको मात्र समस्या थिएन, ४ सय ८१ रिंगिट मासिक तलव पनि उति धेरै बचाउन सम्भव थिएन । कमाएर पठाएको पनि यता बचेन ।
बाबु उति दामकामको कुरा जान्दैनथे । त्यसैले उनले सुरुका ५ बर्ष खुरुखुरु दाजुलार्ई पैसा पठाए । तर झण्डै ५ बर्षपछि अकस्मात एउटा नमिठो खवर मलेसिया पुग्यो, दाजुले बिष खाएर आत्महत्या गरे । व्यापारमा घाटा लागेको भन्दै दाजुले आत्महत्या गरेको सुनेपछि कम्पनीबाट छुट्टी लिएर हतासिंदै उनी आइपुगे रुपन्देही । उनका दाजु चार छोराछोरीको बाँकी भविष्य उनकै जिम्मा लगाएर कहिल्यै नफर्किने बाटो लागिसकेका थिए ।
तीन महिना बसेर फेरी फर्किए उही मलेसिया । उही कम्पनी, उही काम । कमार्ई भनें केहि बढेको थियो उनको । त्यसैले यसबीचमा उनले कमाइ केहि जोहो गरेर १६ कठ्ठा जमिन जोडेका छन् । ४ कोठे एउटा पक्की घर पनि बनाएपछि उनलाई मलेसिया बसेको फल मिल्यो भन्ने लागेको छ ।
५ महिना अघि घर फर्किंदा उनको तलव मासिक २ हजार रिंगिट पुगेको थियो । माछा, मासु प्याकिंग गर्ने कम्पनी भएका कारण खानेकुरा उति किन्न पर्दैन । चामल र हरियो तरकारी बाहेक । त्यसैले कमाई लगभग चोख्खै बच्छ । त्यसैले उनी झण्डै ५० हजार महिनामा चोख्खै बच्ने जागिरमा लोभिएका छन् । भन्छन् नेपाल बसेर पनि के गरुँ र ? भतिजाभतिजि र छोराछोरी पाल्न, पढाउन पनि अव त मलेसिया नगइ सुखै छैन ।
तर सवैले कमाउँदैनन् मलेसियामा । उनले आफ्नै आँखाले देखेका छन् मलेसियामा पैसा फाल्ने ठाउँहरु । मेरै थुप्रै साथिहरु रक्सि र केटीको फन्दामा परेर मलेसियामा डुवेका छन् उनी हिसाव लाउँदै भन्छन् त्यस्ताले त बर्षमा दुई लाख पनि घर पठाउँदैनन् ।
उनको छिमेकी कम्पनीकै कथा फरक छ । त्यहाँ बाग्लुङ र दाङका दुई भाइ काम गर्छन् । कमाई ३ हजार रिंगिट बढी नै हुन्छ । तर महिना मर्ने बेलासम्ममा टाट पल्टिसक्छन् उनीहरु । उनीहरुलाई देखेर पनि जयरामलाई पैसाको अझ लोभ लाग्छ, घरको दायित्व सम्झिन्छन् उनी ।
मेरो छोराछोरी मात्र भएको भए कुरा अर्कै हुन्थ्यो, दाजुले छोडेर गएका भतिजा भतिजीको भविष्य त अव मैले नै त बनाउनु पर्यो निक्कै गम्भिर भएर उनले भने नत्र छरछिमेकीले त भन्छन् नै, मेरो दाजुको पनि श्राप लाग्छ मलाई । यति भनिसकेर निक्कै बेर चुपचाप लागिरहे उनी ।
उनी भर्खरै काठमाडौंको गौशालामा रहेको एउटा मेनपावरमा पासपोर्ट बुझाएर घर फर्किंदैछन् । पहिले काम गरेकै कम्पनीले भिसा पठाइदिन्छ रे । बाँकी काम गरेको र टिकट वापत ८५ हजार तिर्ने कबोल गरेछन् उनले । उनी त्यो त दुई महिनाको कमाई न हो भनेर ढुक्क देखिन्थे । अव त काम पनि पहिले झैं गाह्रो हुन्न । दिनमा १६ घण्टासम्म उभिएर समेत काम गर्न सक्छन् उनी । प्याकिंगको काम गर्ने कम्पनीमा कामको खाँचो छैन । अनी कमाईमा पनि उनी सन्तुष्ट नै छन् ।
अव कति यसरी नै मलेसिया नेपाल चलिरहला त ? यसको उनीसँग पनि उत्तर छैन । घरमा श्रीमतिले यहि भनेर कचकच गरिरहन्छिन् । तर जयरामसँग विकल्प पनि छैन । त्यसैले ६४ बर्ष पुगेका बाबुआमा, श्रीमति र आफ्ना र दाजुका गरी ७ जना बच्चाको भविष्यका लागि उनी अर्को महिना फेरी मलेसिया उड्ने तरखरमा छन् ।
अचम्मको संयोग, त्यहि बखत काठमाडौंबाट भैरहवा जाँदै गरेको उनी चढेको गाडीमा गीत घन्कियो
परदेश नगई हुन्न र ? …….. मलेसिया, साउदी कतार हराभरा भाछ …. बारी बनमाराले खा’छ परदेश नगइ हुन्न र ?
लौ के भन्नुहुन्छ ? केहि जिस्क्याउने भावले प्रश्न सोधें । जवाफमा फिस्स हाँसे मात्र उनी । अनी केहिबेर झ्यालबाट बाहिर हेरिरहे । झण्डै ५ मिनेट पछि बडो दार्शनिक ढंगले जवाफ दिए मन त मेरो पनि तपार्ईहरु जसरी नै यसरी नै काठामाडौं भैरहवा गरिरहुँ भन्ने छ नी सर, तर मेरो भाग्यमा त्यहि मलेसिया, त्यहि जोहारबारु लेख्या रै’छ, बोलाइरहन्छ । के गरुँ ?
अव वाल्ल पर्ने पालो मेरो थियो । मसँग उनको कुराको न कुनै जवाफ भयो, न उनले नै अरु कुरा थप्न चाहे । हामी धेरैबेर चुपचाप यात्रा गरिरह्यौं ।
सुनिल न्यौपाने, नवलपरासी
तपाईको विचार लेख्नुहोस्