जव तप्प तप्प आँशु झार्दै उनी मौन हुन्छन् उनको अनुहार हेरिरहन जोकोहिलाई मुस्किल पर्छ

रामेछाप- न उनी बोल्न सक्छन्, न त आफैं खान र दिसा पिसाव गर्न नै । बस्दा पनि मुढो उभ्याए झैं, सुत्दा पनि उहि गति । खुवाउनु देखि दिसापिसाव गराउन कि त श्रीमति साथमै हुनुपर्छ कि त छोराछोरी । अर्थात उनी कुवेतबाट फर्किन त फर्किए तर कठिन जीवन लिएर ।

उनी जाँदा त ठिक थिए । पहिले पनि तीन बर्ष उनी त्यहि घरमा काम गरेर फर्केका थिए । कुवेतीको घर थियो जहाँ उनी घरायसी काम गर्दथे । तर जाँदा ठम्ठम्ती हिंड्दै हाँस्दै गएको मान्छे फर्किंदा अर्कै रुपमा फर्काइए ।

उनी अरुले बोलेको त बुझ्छन्, आफू बोल्न सक्दैनन् । जो कोहि गएर पनि उनका बारेमा सोधिखोजि गर्दा हातका तीन औंलाको इशारा गर्छन्, अर्थात उनले तीन महिनाको तलव लिन बाँकी नै छ रे ।

अनी तप्प तप्प आँशु झार्दै उनी मौन हुन्छन् र ट्वाल्ल हेरिरहन्छन् जसको अनुहार हेरिरहन हरकोहिलाई मुस्किल पर्छ । 

रामेछापको गेलु गाविस ७ का ५१ बर्षे शम्भू बुढाथोेकी २०७० साउन ७ मा दोश्रो चोटि कुवेतका लागि उडेका थिए केहि पैसा कमाउने आशमा । उनी एकपटक भारतको बाटो हुँदै त्यहि कुवेत पुगिसकेका थिए । त्यसैले कुवेत र कुवेतीको घर उनका लागि नौलो पनि थिएन ।

उनले पहिलोचोटी कमाएर पठाएको पैसाले यता श्रीमतिले घर बनाएकी थिइन् । त्यसैले दोश्रो पटक उनी केहि जग्गा किनौंला भन्दै परदेश लागेका थिए । ‘पाखोबारी छ । त्यहाँको उव्जनीले ६ महिना खान पनि मुस्किल छ, त्यसैले केहि उव्जनी हुने जग्गा थप्नु पर्छ भन्दै हिंड्नु भएको थियो, अव यस्तो भएर फर्किनु भयो’ शम्भूकी श्रीमति गोमाले भनिन् ।

दोश्रो पटक कुवेत गएपछि २०७० असोजमा उनले घरमा फोन गरेका थिए । ४० हजार पैसा पनि पठाएका थिए । अव माघमा तीन महिनाको तलव पठाउँछु है भनेका उनको त्यसपछि न फोन आयो न त पैसा नै । ‘पुष मसान्तकै दिन ढल्नुभएछ’ गोमा भन्छिन् ‘यो कुरा धेरै महिनापछि हामीले विराटनगरमा रहेका एकजना आफन्त मार्फत थाहा पायौं ।’

कुवेतमै काम गर्ने विराटनगरका एक व्यक्तिले बुढाथोकीका आफन्तलाई उनका बारेमा भनेपछि उनको अस्पताल बास भएको कुरा बुढाथोकी परिवारसम्म पुग्यो ।

के भएको थियो ? शम्भू भन्न सक्दैनन् । उनको झोलामा फेला परेको कागजपत्रमा उनलाई मष्तिष्कघात भएको र कुवेतको अरेवियन गल्फ हस्पीटलमा उपचार गरेको देखिन्छ । अस्पतालको कागजपत्रमा उनलाई बेहोसी अवस्थामा उनका रोजगारदाताले एम्वुलेन्समा हालेर अस्पताल ल्याएको, त्यहाँ उनको टाउकोको अपरेशन गरिएको र त्यसपछि उनको होस खुलेको उल्लेख छ ।

त्यसपछि उनले मान्छे चिने पनि बोल्न नसकेको र यसको कारण उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । त्यहाँ उनको मृगौलामा समेत समस्या देखिएको भन्दै आइसीयूमै राखेको समयमा चारपटक डाइलासिस गरिएको पनि उल्लेख छ ।

कुवेतको अस्पतालमा झण्डै एक बर्र्ष राखेपछि उनलाई नेपाल फर्काइयो । अस्पतालले थप उपचारले केहि गर्न नसकिने भन्दै गाउँमै लगेर राख्दा केहि सुधार हुन सक्ने भन्दै पठाइदिएको हो ।

‘त्यत्रो अस्पतालमा त उपचार हुन सकेन, अव यो गाउँमा के हुनु, हामीले के गर्नु ?’ शम्भूकी श्रीमति गोमा भन्छिन् ‘खै कमाउन भनेर जानु भएको मान्छे, ज्यूँदै लाश जस्तै भएर फर्किनु भएको छ, अव उहाँलाई त हेरचाह गर्नु छ नै पाँच जना छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले उत्तिकै सताएको छ’ उनले भनिन् ।

बुढाथोकीले क्षतिपूर्ति समेत पाएको छैन । क्षतिपूर्ति पाइन्छ भन्ने समेत थाहा छैैन परिवारलाई । त्यसैले मद्धतका लागि गोमाले स्थानिय गैरसरकारी संस्था चारघरे सेवा समितिमा निवेदन दिएकी छिन् । र, हेल्भेटास स्वीस इण्टरकोअपरेशन, सामी परियोजनाद्धारा सञ्चालित सुचना तथा परामर्श केन्द्रबाट केहि सहयोग पाइएला भन्ने आशमा छिन् उनी ।

केन्द्रकी परामर्शकर्ता सिर्जना बस्नेतका अनुसार बुढाथोकीको निवेदन काठमाडौंमा प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी) मा पठाइएको छ । सो निवेदनलाई पीएनसीसीले बोर्डमा बुझाउनेछ र आवश्यक समन्वयको काम गर्नेछ । यसलाई सुचना केन्द्रको तर्फबाट नियमित फलोअप गरिने बस्नेत बताउँछिन् ।

यसरी बैदेशिक रोजगारका क्रममा अंगभंग भएर फर्केका वा मृत्यु भएका व्यक्तिका परिवारलाई बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मार्फत राहत उपलव्ध गराउने कानूनी व्यवस्था छ । यसका लागि बोर्डमा निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ । आवश्यक प्रकृया पूरा भएपछि पछिल्लो व्यवस्था अनुसार पीडितले अधिकतम ३ लाखसम्म राहत तथा क्षतिपूर्ति पाउँछन् ।

उनलाई नेपाल फर्काएपछि स्थानीय तामाकोशी सहकारी अस्पतालमा जँचाइयो । त्यहाँ डाक्टरले उहि कुरा लेखेका छन् अर्थात उच्च रक्तचाप, मृगौला सम्वन्धि समस्या र यस्तै उस्तै । र उनलाई मुटु र नशा सम्वन्धि विशेषज्ञ डाक्टरलाई देखाउन सिफारिस गरिएको छ । तर शम्भूका परिवारको समस्या अर्कै छ । गोमा भन्छिन् ‘हामी गरिवलाई खानै धौ धौ छ, कसरी लैजानु अन्तका डाक्टरलाई देखाउन ?’

सुनिल न्यौपाने, रामेछाप

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय