परदेशमा मरे श्रीमान्, घरमा भयो विचल्ली

दाङ- विदेश धेरैको सपना हो। सुखमय जीवन जिउने सपना बोकेर विदेशी मुलुक धाउनेको ताँती नै छ। सपना सबैका पूरा हुँदैनन्। केही पूरा हुन्छन् त केही बीचैमा मर्छन्। अनि विदेशी कमाइको लोभ जिन्दगी दुखाइरहने चोट बन्छ। उता सपना मर्छन्, यता ऋणको भारीले च्याप्छ।

सोनपुर-५, टिकुलीगढकी फूलमती चौधरीलाई अहिले यस्तै भएको छ। उनको धेरै कमाएर सुखमय जीवन बाँच्ने सपनामात्रै तुहिएन, जीन्दगीको सहारासमेत सदाका लागि टुट्यो। धेरै कमाएर घर फर्कने आश देखाएका श्रीमान शेरबहादुरको शव चार दिनअघि बाकसमा प्याक भएर घर आइपुग्यो। धेरै कमाएर सुखसँग बसौंला भन्नुहुन्थ्यो, विक्षिप्त फूलमतीले भनिन्, कहिल्यै नफर्किने बाटो रोज्नुभयो।

गाउँमा घर हाल्दा लागेको तीन लाख रुपैयाँ ऋण थाप्लोमै थियो। त्यत्रो ऋण तिर्न यहाँ सम्भवै भएन। शेरबहादुरका लागि एकमात्रै उपाय वैदेशिक रोजगार बन्यो। उनी पहिलेको ऋणमा दुई लाख थपेर २०७० साल मंसिर २७ गते साउदी उडे। श्रीमानले विदेश पुगेर फोन गरेपछिको घटना सम्झँदै फूलमती भन्छिन्, अब दुःखका दिन गए भन्ने लागेको थियो।

सुखमय जीवनको सपनामा हराइरहेकी फूलमतीले सात महिनापछि नै दुखद् खबर सुन्नुपर्यो। साउदीमा ड्राइभिङ काम थालेका शेरबहादुर जेल परेछन्। पार्किङ निषेध ठाउँमा गाडी रोकेकै कारण प्रशासनले उनलाई कारबाही गर्यो।

जेल परेपछिका तीन महिना चिन्तामै बिते। तीन महिनापछि श्रीमान जेलमुक्त भएको खबरले फूलमतीका मनमा आशाको मुना पलाउँदै थियो। जेलबाट छुटेको छैटौं दिन शेरबहादुरले साथीसँगै ऋण सापट गरेर दसैं मान्ने खर्च पठाइदिएपछि फूलमतीको खुसी झनै चुलियो।

पैसा पठाइदिएपछि शेरबहादुरले फोनमा भनेका थिए, नानीहरु (दुई छोरी) लाई मासु किनेर खुवाउनू, कपडा किनिदिनू, टीका लगाएर दक्षिणा दिनू। शेरबहादुरसँग त्यही नै उनको अन्तिम कुराकानी भयो।

त्यसपछि शेरबहादुरको फोन कहिल्यै आएन, न त अब आउने नै छ। त्यसको भोलिपल्टै (जेलबाट छुटेको सातौं दिन) असोज ११ गते उनको निधन भयो। परिवारका अनुसार राति सुतेका शेरबहादुर अर्को दिन बिहान मृत फेला परेका थिए।

दुई–तीन दिन फोन गर्दिन, पैसा छैन भन्नुभएको थियो, फूलमतीले भनिन्, घर–परिवारको बारेमा त्यो दिन धेरै सम्झाउनु पनि भयो।

श्रीमानको मृत्यु भएको चार दिनसम्म फूलमतीले श्रीमान मरेको भन्ने थाहै पाइनन्। अति सिरियस बिरामी भनेरै उनलाई ढाँटियो। बितेको चार महिनापछि माघ ९ मा शेरबहादुरको शव घर आइपुगेको थियो। शव आइपुगेपछि फूलमती विक्षिप्त छिन्।

श्रीमान गुम्नुको पीडा छँदैछ, श्रीमानले छाडेर गएको पाँच लाख ऋणको भारी पनि उनको थाप्लोमा सरेको छ। उनी भन्छिन्, त्यत्रो ऋण के गरी तिरम्ला? सम्पत्तिको नाममा रहेको सुर्को बारीको उब्जनीले वर्षभरि पेट भर्नै पुग्दैन। आम्दानीको अरु कुनै स्रोत छैन। त्यसमाथि ८ र ३ वर्षीया दुई छोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता।

फूलमतीजस्तै सौडियारकी नारायणी गिरीलाई पनि नियतीले ठग्यो। पति गुम्नुको पीडासँगै थाप्लोमा परेको डेढ लाखको ऋणको भारीले गलाउँदै छ उनलाई। कसरी तिर्ने उपाय भेटिन्न। साहुको ताकेताले दिक्क बनाउँछ तर झुक्नुबाहेक उपाय छैन।

मलेसिया कमाउन गएका श्रीमान विष्णु जिउँदो फर्केनन्। नारायणी भन्छिन्, जिउँदो भेट्नु त परैजाओस्, लास पनि हेर्न सकिन। विष्णुले ऋण–सापट गरेर घोराही– १, सर्रामा घडेरी किने। घडेरीमात्रै किनेर के गर्नु ? घर पनि त बनाउनुपर्यो। यही सोचेले २०७० माघ २१ मा उनी मलेसिया उडे।

सेक्युरिटी गार्डको काम सुरु गरेदेखि नै उनी असन्तुष्ट थिए। कारण थियो, सहमतिभन्दा कम तलब। ओभरटाइमसहित मासिक १६ सय तलब भनेर जानुभएको थियो, नारायणी भन्छिन्, दिने बेला १४ सयमात्रै दिएछ।

तलबकै विषयमा कम्पनीसँग विवादसमेत भएको थियो रे । तैपनि अर्काको ठाउँ, सहनुको विकल्पै थिएन। फोनमा उनले घर फर्कने इच्छा देखाएका थिए। नारायणी भने दुई–चार पैसा भए पनि कमाएर एक वर्षपछि फर्कन सम्झाइरहन्थिन्। तर, एक वर्षसम्म उनी रहेनन्, सात महिनामै कहिल्यै नआउनेगरी बिदा भए।

२०७० माघमा मलेसिया पुगेका विष्णुको साउन २२ मा मृत्यु भयो। उनको टाउको फुटेर मृत्यु भएको भनिएको थियो तर शवमा घाँटीमा टाँका लगाइएका कारण घाँटी रेटेर हत्या भएको परिवारको दाबी छ। उनको शव १६ दिनपछि घर आइपुगेको थियो।

श्रीमान गुमे तर टाउकोमा ऋणको भारी छँदैछ। नारायणी भन्छिन्, डेढ लाख रुपैयाँ ऋण छ, कसरी तिर्ने, चिन्तामात्रै लाग्छ। गाउँमा उनको पाँच कट्ठा जमिन छ। खाने, लाउने, छोरा पढाउने सबै यही जमिनको भर छ, उनी भन्छिन्।

जिल्लामा यस्ता घटना छिट्फुट भइरहेका हुन्छन् । तर वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको यकिन तथ्यांक जिल्ला तहमा कहीँ, कतै राखिएको छैन। जिल्ला प्रशासन कार्यालय वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको यकिन तथ्यांक कार्यालयमा नरहने बताउँछ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई उपलब्ध हुने सरकारी सेवा–सुविधाका लागि जिल्ला प्रशासन कार्यालयले समन्वयमात्रै गर्छ तर यकिन तथ्यांक भने नराख्ने प्रशासन बताउँछ।

कमाउनकै लागि भारत पसेका गोल्टाकुरीका उपेन्द्र वलीले पनि उतै ज्यान गुमाए। थाप्लोमा रहेको ६० हजार रुपैयाँ ऋण चुक्ता गर्ने लक्षसहित कमाउनका लागि भारतको गोवा पुगेका उपेन्द्रको बन्दै गरेको घरले च्यापिएर मृत्यु भयो। परिवार लालनपालनकै क्रममा लागेको ६० हजार रुपैयाँ ऋणको भारी उपेन्द्रको घरबाट अहिलेसम्म हटिसकेको छैन। साहु ताकेता गर्न घरमै आइरहन्छन्। पछि दिम्ला भनेर पन्छाउँछु, श्रीमती शान्ता भन्छिन्, खानै पुग्दैन, कसरी तिर्नु ?

दुई छोरी एक छोराको पढाइ खर्च जुटाउनै मुस्किल पर्छ शान्तालाई। सम्पत्तीको नाममा पाँच कठ्ठा जमिन मात्रै हो। त्यहि जमिनमा पनि बर्षेनी उव्जनी घट्दै गएको छ। मर्ने त मरेर गइसक्नुभयो, उनले भनिन्, बाँच्नेलाई पनि मरे बराबर भयो।

नागरिक दैनिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय