‘विदेशमा सीप सिकियो, नेपालमा कमाउन थालियो’

काठमाडौं- स्वदेशमा कुनै सम्भावना छैन भन्दै दैनिक १५ सयभन्दा बढी युवा बिदेसिइरहेका छन् । हिंसात्मक द्वन्द्व सकिएर मुलुक शान्तिको बाटोमा हिँडेको दशक पुग्न लाग्दा पनि अवसरको खोजीमा बिदेसिनेहरूको ग्राफ बढ्दो क्रममा छ ।

बर्सेनि बिदेसिने करिब ५ लाख नेपालीमध्ये लगभग ८० प्रतिशत औसत मासिक २५ हजार रुपैयाँका लागि खाडी मुलुक र मलेसिया पुगेका छन् । स्वदेशमा अवसर र सम्भावना नदेखेर डेढ दशकको अवधिमा ५० लाखले विदेशी भूमिमा रगत–पसिना बगाइसके । अहिले पनि करिब १५ लाख नेपाली ५० डिग्रीको अरबको तातो भोगिरहेका छन् ।

खाडी र मलेसियामा मात्र वर्षभरमा सयौं नेपालीले ज्यान गुमाउँछन् । अंगभंग हुनेको संख्या पनि उल्लेख्य छ । कति नेपाली ती मुलुकका जेलमा छन् । सामाजिक–पारिवारिक विचलन बढिरहेको छ । पश्चिम नेपालबाट भारतमा दरबान बन्न जाने क्रममा कमी आएको छैन ।

तर, केही युवा यस्ता पनि छन् जो विदेशको अवसर छाडेर स्वदेशमा पसिना बगाइरहेका छन् । विदेशमा रहँदा सिकेको सीप स्वदेशमै खर्चेर यही आम्दानी गर्नेहरूको संख्या पनि बढ्दो छ । दुःख गरे नेपालमै आम्दानी गर्न सकिने र केही लाख रुपैयाँका लागि बिदेसिनु नपर्ने उनीहरू बताउँछन् ।

यस्तै एक हुन् सन्तोष बोगटी । विदेशमा धेरै कमाउने सपना बोकेर मलेसिया पुगेका उनी त्यहाँ सिकेको सीप नेपालमै खर्चिन्छु भन्ने अठोट गर्दै स्वदेश फर्किए अनि सुरु गरे देशकै माटो खोस्रिन । ०६६ सालमा नेपाल फर्केका उनले आउनासाथ होटल खोले । तर, होटलबाट राम्रो आम्दानी भएन । त्यसपछि सोचे, मलेसियामा कृषि फार्ममा काम गर्दा सिकेको सीप प्रयोग गरौं । “३ रोपनी जग्गामा फार्म सुरु गरें,” उनले भने, “मलेसियामा सिकेको सीप स्वदेशमै खर्चिनुपर्छ भन्नेमा थिएँ, त्यही भावनाले कृषिमा तानिएँ ।”

मलेसिया पुगेपछि सुरुमा उनले सपिङ सेन्टरमा काम गरे । उनले सोचे, यहाँ काम गरेर पैसा कमाए पनि भोलि स्वदेश फर्केर के गर्ने ? त्यसपछि लागे सपिङ सेन्टरको सजिलो जागिर छाडेर कृषि कला सिक्न । यसका लागि मलेसियाको विकट क्याम्ब्रुन हाइल्यान्ड पुगे । त्यो ठाउँ चीनबाट खेदिएका पुँजीपति शरणार्थीका रूपमा मलेसिया पुगेपछि मलेसियाली सरकारले तिनका लागि बसोबास गर्न छुट्याइदिएको थियो ।

चिनियाँहरूले बसाइ सँगसँगै कृषि कार्य गरे । अहिले सो क्षेत्र कृषि पर्यटनका लागि चर्चित छ । त्यहाँ कृषि काम सिक्न पुगेका उनले जागिर पाए फूल बगानमा । जागिर फूल बगानमा भए पनि व्यावसायिक तकारी खेती सिक्ने भोक उनमा छँदै थियो । ड्युटी सकेर नजिकैको तरकारी फार्ममा पनि उनले काम गर्न थाले ।

स्वदेश फर्केपछि उनलाई त्यहाँ सिकेको सीपले सन्तुष्टि दिइरहेको छ । “आफ्नै माटोमा केही गर्न पाउँदा सन्तुष्ट छु,” उनले भने । ०६६ सालमा नैकापनजिकै तीनथानामा ३ रोपनीबाट सुरु गरेको कृषि फार्म अहिले दहचोकमा पुग्दा ८० रोपनीमा विस्तार भएको छ । फार्ममा मात्र ८५ लाख रुपैयाँ लगानी भएको उनले बताए ।

उनले गरेको अग्र्यानिक तरकारी खेतीमा नियमित १५ जनाले रोजगारी पाएका छन् । “सिजनमा ४०÷४५ जना कामदारसम्म लाग्छ,” उनले भने, “मासिक तलबबापत नै साढे २ लाख लाग्छ ।” मासिक कति कमाउँछन् त उनी ? “१५ देखि २० लाखको हाराहारीमा आम्दानी हुन्छ, आफ्नै देशमा श्रम गर्न पाउँदा त्यसैमा सन्तुष्ट छु,” उनले भने ।

उनको अग्र्यानिक कृषि फार्ममा स्वदेशी तरकारीबाहेक विदेशी तरकारी अस्ट्रेलियन साग, पेटिनोमेलन पनि उत्पादन भइरहेको छ । दहचोकको फार्ममा फलेका तरकारी काठमाडौंमा मात्र सीमित छैन । बुटवल, भैरहवा, पोखरा, हेटौंडा तथा वीरगन्जसम्म पनि तरकारी पुग्ने उनले बताए । आफ्नो खेतीलाई चाहिने प्रांगारिक मलका लागि फार्मभित्रै २ वटा गाई पालेका छन् । “श्रम यही गरौं । आफ्नो देश भनेको आफ्नै हुन्छ,” स्वदेशमा श्रम गर्न लाज मान्न नहुने भन्दै सन्तोष भन्छन् ।

यस्तै अर्का उद्यमी हुन्, खोजराज कट्वाल ।  साउदी अरबमा ६ वर्ष र इजरायलमा ७ वर्ष काम गरेर फर्किएका उनी विदेशको रोजगारी छोडेर नेपालकै माटो खोस्रिन आइपुग्ने अर्का युवा हुन् । उनीसहित इजरायलबाट फर्किएको ६ जनाको समूहले जीतपुरफेदीमा इजरायली मोडलको फार्म खोलेर व्यावसायिक रूपमा कृषि उत्पादन गरिरहेको छ ।

त्यहाँ उनीहरूले ५ वर्षअघिदेखि २० रोपनी जग्गामा इजरायली मोडलको फार्म चलाइरहेका छन् । “नेपाली दाजुभाई– दिदीबहिनीलाई रोजगारीसमेत दिन सकेका छौं,” उनले भने । उनीहरूको फार्ममा ९ जनाले रोजगारी पाएका छन् । त्यसबाहेक थोपा सिँचाइ जडान गर्ने ७ जनाको अर्को टिम छ । यो समूहले थोपा सिँचाइ गर्न चाहने कृषककोमा पुगेरै यो प्रविधिको जडान गर्ने काम गर्छ ।

५५ लाखबाट सुरु गरेको फार्मको मूल्यांकन अहिले डेढ करोड पुगेको उनी बताउँछन् । सिजनमा फार्मले मासिक ४/५ लाख रुपैयाँसम्मको तरकारी बेच्ने गरेको छ ।

कृषिमा मात्र होइन, विदेशमा सिकेको सीप अन्य व्यवसायमा लगाउनेको संखया पनि बढ्दो छ । यस्तैमध्येका अर्का नेपाली हुन्, रेशम लामा ।  ३५ वर्ष बेलायत बसेका लामा १५ महिनाअघि नेपाल फर्किए । केही समयमा बेलायत नै फर्किने सोच बोकेर नेपाल आएका उनी अहिले नेपाल नछाड्ने निर्णयमा पुगेको बताउँछन् । “अब यही केही गर्नुपर्छ भनेर लागेको छु,” उनले भने ।

लामा २०० वटा मःम आउटलेट खोलेर नेपाललाई विश्वमा ‘मःम कन्ट्री’का रूपमा चिनाउने सुरमा छन् । क्षेत्रपाटीमा ‘डेमो’ पनि सुरु गरिसकेका छन् । काठमाडौंमा ४० वटा आउटलेट र पोखरामा पनि ब्रान्च विस्तार गर्ने योजना उनले सुनाए ।

उनी जापानिज केमिकल कम्पनी ‘फ्ल्यागप्लग’ एडमिक्चरको नेपालका लागि अधिकृत विक्रेता पनि हुन् । यसको माग हाइड्रो र ठूला प्रोजेक्टमा बढी हुने गरेको छ  ।

लामाले आजीवन सहकारीमा पनि लगानी गरेका छन् । “सुरुमा २ करोड लगानी गरेको छु । केही महिनाको कामबाट सन्तुष्ट छु,” उनले भने, “अब बेलायत फर्किन्नँ । ग्रुप अफ कम्पनी बनाउने काममा अघि बढ्छु, स्वदेशमै केही गर्छु ।”

स्वदेशमै केही गर्न चाहने पछिल्लो समय बढेका छन् । तर, कतिपय अलमलमा परेर साथीभाईको लहैलहैमा विविध क्षेत्रमा हात हाल्ने गर्छन् । बिनायोजना र अनुसन्धान लगानी गर्ने कतिपय असफल पनि हुने गरेका छन् ।

७८ प्रतिशत नेपाली कृषिमा निर्भर छन् । कृषि पेसा व्यावसायिक बन्न नसक्दा पनि कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको योगदान ३५ प्रतिशत छ । कृषिमा बजेट बढाएर विदेशबाट फर्केका र जान खोज्ने युवालाई प्रेरित गर्ने हो भने आन्तरिक रोजगारी बढ्नुका साथै राष्ट्रिय आम्दानीको दायरा पनि फराकिलो हुनेछ । युवालाई आकर्षक कार्यक्रम ल्याएर कृषि कर्म र कम लगानीमा सञ्चालन गर्न सकिने घरेलु तथा साना उद्योगमा लगाउने हो भने पनि रेमिट्यान्सबाट प्राप्त हुनेभन्दा बढी लाभ हासिल गर्न सकिन्छ ।

कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय