महिनामा १५/२० हजार कमाई स्वदेशमै

काठमाडौं– रोजगारीका लागि दैनिक बिदेसिने क्रम त जारी नै छ । सरकारी तथ्यांकअनुसार औसतमा दैनिक १,५०० नेपाली युवा रोजगारीका लागि विदेशतिर लम्किन्छन् । तर, देश नै छाडेर गएका युवा मासिक १५,००० मात्र कमाइ हुने खाडी मुलुकका विभिन्न कम्पनीमा संलग्न भएको तथ्य आफैंमा मार्मिक छ । किनकि, विदेश जाँदैमा पैसा फलिहाल्ने भने होइन । दिनको ४–५ घण्टामात्र सुतेर पनि मुस्किलले २०–२५ हजार कमाउने बहुसंख्यक युवाको समस्या बुझेका कतिपय युवा भने देशमै तालिम सिकेर स्वरोजगार छन् ।

प्राविधिक शिक्षा लिएका युवा हात खाली बस्न नपर्ने अवस्था सिर्जना भएकाले यस्तो तालिमतर्फ आकर्षण बढेको छ । सीपमूलक तालिम लिएकाले मासिक १५ हजार रुपैयाँसम्म सजिलै कमाउने गरेको विभिन्न जिल्लाका स्वरोजगार युवाको अनुभवले देखाएको छ । सहरमा यति कमाएर गुजारा गर्न कम होला तर आफ्नै गाउँघरमा यति कमाइ गर्नु भनेको विदेश गएर कमाउनुको दोब्बरभन्दा बढी सकारात्मक पक्ष हो ।

हातमा सीप भएका युवा थप समय र मेहनत गरेर औसतमा २५–३० हजार सहजै कमाइरहेको पाइएको छ । गैरसरकारी संस्थाहरूलाई ‘डलर खाने’ भाँडो भनेर आलोचना गर्नेसमेत गरिन्छ । कतिपय यस्ता संघ–संस्थाले गरेको गलत अभ्यासले सबैलाई आक्षेप आउने गरे पनि केहीले खेलेको सकारात्मक भूमिकाले पनि युवालाई स्वरोजगार बनाउन मद्दत गरिएको छ ।

संघ–संस्थाका पैरवीमा आधारिक कार्यक्रमभन्दा पनि प्राविधिक तालिम गराउने कार्यक्रम सफल देखिएका छन् भने यस्ता तालिमबाट युवाले पनि मनग्य फाइदा लिएका छन् । अर्कोतर्फ सरकारी निकाय पनि आलोचनामुक्त छैनन् । ‘जागिरे मानसिकता’को कर्मचारीतन्त्रका कारण सरकारी सेवा प्रभावकारी नहुँदा स्वदेशमै स्वरोजगार सिर्जना नभएको आक्षेपका बाबजुद कतिपय जिल्लामा भने सरकारी निकायले खेलेको भूमिकाले भने सकारात्मक प्रभाव पारेको छ ।

विशेषगरी प्राविधिक शिक्षालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालयलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले आयोजना गर्ने मोटरसाइकल मर्मत, ड्रेस मेकर, मोबाइल फोन मर्मत, भवन तथा उद्योग वायरिङ, डकर्मी, सोलार प्राविधिकजस्ता तालिम प्रभावकारी छन् । यी बाहेक छाटो तथा लामो अवधिका लागि कम्प्युटर तालिम, मोटरसाइकल मेकानिक्स, मिक्स कुक, ढाका बुनाइ, जेटीए, फर्निचर, पोल्ट्री फर्मसम्बन्धी तालिमपछि युवा लगत्तै स्वरोजगार बन्ने भएपछि उनीहरूको आकर्षण बढ्दो छ ।

पूर्वाञ्चलमा बढ्दो युवा स्वरोजगार इलाम– फिक्कलका ध्रुव प्रधान हाउस वायरिङका प्रशिक्षक हुन् । झापा प्राविधिक शिक्षालयबाट तालिम लिएका उनले वायरिङसम्बन्धी शिक्षण गरेको १४ वर्ष पुग्यो । प्रशिक्षण गरेबापत झापा प्राविधिक शिक्षालयले प्रधानलाई मासिक १५ हजार तलब उपलब्ध गराउँछ । प्रधानको कमाइ यतिमा सीमित छैन ।

हातमा सीप र जाँगर भएपछि प्रधान विद्युतीकरण भएका गाउँघरमा वायरिङ गर्न पुग्छन् र नियमित तलबमा अरू १५ हजारभन्दा बढी थप्छन् । भन्छन्, “मासिक ३० हजारभन्दा बढी कमाइ हुन्छ, मासिक तलब त नियमित आउँछ नै थप खटाइले थप १५ हजार कमाइरहेको छु ।”

पाँचथर अमरपुरकी अनिता श्रेष्ठ पनि झापा प्राविधिक शिक्षालयबाट मोबाइल फोन मर्मतको तालिम लिएर अहिले प्रशिक्षक बनेकी छन् । अमरपुरमै रहेर श्रेष्ठले मोबाइल मर्मतसम्बन्धी तालिममा सहजीकरण गरेबापत मासिक १५ हजार कमाइरहेकी छन् । यहाँका महिलाका लागि श्रेष्ठको रोजगारी उदाहरणीय छ । रोजगार कोषको सचिवालय हेल्भेटास स्विस इन्टर को–अपरेसनको आर्थिक सहयोगमा झापा प्राविधिक शिक्षालयले मोबाइल फोन मर्मतसम्बन्धी तालिम दिएपछि श्रेष्ठका लागि रोजगारको ढोका गाउँमै खुलेको हो ।

“हातमा सीप भएपछि रोजगार पाउन गाह्रै रहेनछ,” उनी भन्छिन्, “सीप भएपछि ग्रामीण क्षेत्रमा पनि रोजगारीको बाटो खुल्दोरहेछ ।” झापा प्राविधिक शिक्षालयले निःशुल्क ३ महिने डे«स मेकर तालिम दिएपछि स्याम्रुम्बाकी सविना दर्जीकोे जीवनमा परिवर्तन आएको छ । तालिमपछि ८ हजार मूल्यबराबरको कपडा सिनाउने मेसिन पाएकी उनले सीप प्रयोग गरेर विस्तारै आम्दानी गर्न थालिन् । अलि अलि गरेर जोहो गरेको पैसाले उनले कपडा सिनाउने अर्को मेसिन खरिद गरिन् र गाउँमै टेलर्स सञ्चालन गर्न थालिन् । “राम्रो आम्दानी गरिरहेको छु,” उनले खुसी व्यक्त गरिन्, “परिवारकै जीवनस्तर परिवर्तन भएको छ ।”

‘सीप सिकौं, रोजगारको बाटो खोलौं’ भन्ने नाराका साथ झापा प्राविधिक शिक्षालयले पूर्वाञ्चलका युवालाई प्राविधिक विषयमा तालिम दिनथालेपछि उनीहरूको रोजगारीको बाटो खुलेको हो । “पूर्वाञ्चलमा विभिन्न १४ जिल्लाका १०,००० युवालाई तालिम दिएका छौँ,” शिक्षालयका प्रमुख नीलमणि बरालले भने, “तालिम लिएकामध्ये ८७ प्रतिशत रोजगारमा छन् ।”

शिक्षालयका पाँचथर संयोजक विकेन्द्र तामाङका अनुसार पाँचथरमा ५०० युवाले शिक्षालयबाट प्राविधिक तालिम लिएका छन्, जसमध्ये ९२ प्रतिशत रोजगार छन् । शिक्षालयले विभिन्न ५० विषयमा तालिम दिइरहेको छ । गरिबी निवारण कोषले अति विपन्न परिवारमा परिभाषित गरेका परिवारका सदस्यलाई तालिम प्रदान गरिएको हो । “पिछडिएको वर्ग, द्वन्द्वपीडित, एकल महिलालगायतका युवालाई तालिम दिने व्यवस्था छ,” संयोजक तामाङ भन्छन् ।

जाँगर भए आफ्नै गाउँघरमा रोजागारीको अवसर पाइन्छ भन्ने उदाहरण बाँकेका युवाले पनि प्रस्तुत गरेका छन् । मध्यपश्चिमको बाँकेमा ‘सेइस परियोजना’बाट तालिम लिएकाहरू प्रायः स्वरोजगार छन् । चुलोचौकोमा सीमित कोहलपुरकी चित्रा डीसी अहिले कपडा सिलाउन व्यस्त हुन्छिन् । उनले ड्रेस मेकरसम्बन्धी तालिम लिएकी थिइन् । “सबैभन्दा ठूलो कुरा सीप रहेछ,” उनले सगर्व भनिन्, “सीप सिकेपछि अर्कासँग पैसाका लागि हात जोड्नु नपर्ने रहेछ ।” उनी मासिक २०–२५ हजार कमाउँछिन् ।

परियोजनाबाट बाँकेको नौवस्तास्थित कौशिलानगरकी कमला थामी पनि स्वरोजगार बनेकी छन् । उनले ड्रेस मेकर तालिम लिई आफ्नै घरमा व्यवसाय सञ्चालन गरेकी छन् । बर्दियाको डेउढाकला गाविस माछागढका मनिराम थारूले मोटरसाइकल मर्मत तालिम लिएपछि राम्रो व्यवसाय सञ्चालन गरे । ‘सेइस परियोजना’ बाट युवा लाभान्वित भएको र रोजगारीसमेत सिर्जना भएको हेल्भटास नेपाल बाँकेका संयोजक यज्ञ पाण्डेले जानकारी दिए । उनका अनुसार ३ वर्षको अवधिमा बाँकेमा १४ प्रकारको बजारीकरण पत्ता लगाइएको छ ।

क्षमता अभिवृद्धि र दक्ष कामदार उत्पादन गर्ने उद्देश्यले नेपाल ट्रेनिङ सेन्टर नेपालगन्जसँग समन्वय गरी तालिम सञ्चालन गरेको उनले जनाए । “यो अवधिमा १८१ जनालाई रोजगारमूलक तालिम प्रदान गरेका छौं,” उनले भने ।

रोल्पाका युवायुवती सिलाइकटाइ पेसातर्फ आकर्षित हुँदै गएका छन् । सिलाइकटाइ पेसा जीविकोपार्जनका लागि भरपर्दो माध्यम बन्न थालेपछि उनीहरूको आकर्षण बढेको हो । व्यवसाय गरी आत्मनिर्भर बन्ने उपयुक्त विकल्प सिलाइकटाइ भएपछि रोल्पामा व्यवसायीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

लिवाङमा सिलाइकटाइ व्यवसाय गर्ने पुरुषभन्दा महिला बढी छन् । सिलाइकटाइ गरेर दिनचर्या गर्नेहरू आफ्नो पेसाप्रति सन्तुष्ट छन् । उनीहरूले रोजगारीका लागि बिदेसिने युवालाई स्वदेशमै परिश्रम गरे असम्भव भन्ने केही नहुने उदाहरण देखाएका छन् ।

सीप सिकेर व्यवहारमा लागू गरेपछि सजिलै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उनीहरूको अनुभव छ । सिलाइकटाई पेसामा लागेका युवायुवती दिनभर काम गरेर परिवारको पेट पाल्न सहज भएको बताउँछन् ।

लिवाङकी मनकुमारी कुँवरले घाँसदाउरा गर्दा आर्थिक संकट परेपछि सिलाइकटाइ सीप सिकेकी थिइन् । “अहिले जीवनस्तर सहज बनेको छ,” उनले भनिन् । कुनै पनि व्यवसाय जातीय आधारमा गर्नुपर्छ भन्ने छैन । सीपको सदुपयोग गर्न सके दैनिक गुजारा सजिलो हुन्छ ।

मिझिङ निवासी महावीर परियारले सिलाइकटाइ पेसाबाट छोराछोरी पढाउन र साँझ–बिहानको छाक टार्न कसैलाई गुहार्नुपरेको छैन । रोजगारीका लागि एक–डेढ लाख ऋणधन गरेर खाडी मुलुक गइरहेका युवायुवतीले स्वेदशमै व्यवसाय गरेर आत्मनिर्भर बनेकाहरूबाट पाठ सिक्न जरुरी छ ।

कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: