‘पासपोर्ट बनाउन सजिलो बनाएकाले मात्र मुलुकको अर्थव्यवस्था जोगियो’

काठमाडौं-अर्थमन्त्री रामशरण महतले समयमै राहदानीको व्यवस्था खुकुलो नबनाएको भए अहिले मुलुकको आर्थिक स्थिति धराशयी अवस्थामा पुगिसक्ने बताएका छन्। अहिले मुलुकको आयात र निर्यातबीच बिकराल अवस्थालाई रेमिटेन्सको उच्च आप्रवाहले धानेकाले मात्र मुलुक गम्भीर अवस्थामा नपुग्ने उनले बताए। ‘अहिले निर्यातले आयातको अंश करिब १३ प्रतिशतमात्र धानेको छ,’ विश्व भन्सार दिवसका अवसरमा बोल्दै उनले भने, ‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स आएरमात्र हाम्रो अर्थतन्त्र जोगिएको छ।’

उनले २०४६ सालको परिवर्तनपछिको सरकारले राहदानी वितरणलाई सहज बनाएकै कारण अहिले लाखौं युवा विदेशमा जान सक्ने वातावरण बनेको बताए। ‘राजतन्त्रको समयमा विभिन्न बहाना गरेर राहदानी दिन रोक्ने गरिन्थ्यो,’ उनले भने, ‘०४६ को परिवर्तनपछिको सरकारले यसलाई खुकुलो बनाएको हो।’ उनले हुन्डीमार्फत आउने रेमिटेन्सलाई बैंकिङ प्रणालीमा ल्याउन रेमिटेन्स कम्पनीलाई अनुमति दिने काम पनि त्यही सरकारले गरेको जानकारी दिए।

अर्थमन्त्री महतले मुलुक सधैं रेमिटेन्सको भरमा मात्र चल्न नसक्ने जनाउँदै निर्यात बढाउनुको विकल्प नभएको बताए। ‘अहिले निर्यात घटिरहेको छ, यसलाई बढाउनु पर्छ, यसको विकल्प छैन,’ उनले भने। निर्यात बढाउने उपाय खोज्न राष्ट्र वैंक र वाणिज्य मन्त्रालयलाई अनुरोध गरेको बताउँदै उनले व्यवसायीलाई पनि यसतर्फ ध्यान दिन आग्रह गरे। ‘हामीले यो वस्तु यो समयमा यति निर्यात गर्न सक्छौं तर यी यी सुविधा चाहिन्छ भनेर निजी क्षेत्र आउनु पर्यो,’ उनले भने, ‘सरकार सबै सुविधा दिन तयार छ।’

अर्थमन्त्रीले सरकारले अलैँची, अदुवा र कफीजस्ता सरकारको उच्च योजनामा नपारेका वस्तु अहिले निर्यातको उच्च सूचीमा रहेको जानकारी दिए। ‘निर्यातका लागि बजार असीमित छ,’ उनले भने ‘व्यवसायी थोरैमात्र सिर्जनशील हुन सक्नुपर्योए।’ उनले अलैँची र अदुवा जस्ता वस्तु त्यसै निर्यात गर्नुभन्दा थोरै प्रोसेसिङ, ग्रेडिङ र प्याकिङ गरेर बेचे दोब्बर मूल्य पर्ने बताए।

नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय