मलेसियाबाट एउटा पूर्व लडाकुको बकपत्रः छातीमा हात राखेर सोच, के सही के गलत भयो ?

धनीराम सिम्खडा- बाल्यकालमा मेरो बुबाको मृत्यु भएपछि मेरो लालनपालन मेरी बिधवा आमाले गरिन् । खान लाउनको अभाव थियो । जिउमा एकसरो मैलो खद्दरको फाटेको लुगा थियो । कपाल लामो लामो थियो । लामो कपाल काट्ने कैँची थिएन । लिखा जुम्रा त्यतिकै थिए । कपाल कन्याईरहन्थे ।

कपाल कन्याएको देखेर आमाले मलाई मेरो लुगा सिउने ढोली कहाँ कपाल काट्न लानुहुन्थ्यो । दमाई दाईले कपड़ा काट्ने कतन्नुले कपाल काटी दिन्थे । अलि ठुलो भएपछि स्कुल जान थालें । पढाई नि राम्रो भयो । गरिब परिवारमा जन्मिदा धेरै दुःखकष्ट अभाव झेल्नुपर्दो रहेछ । बिस्तारै बिस्तारै यी कुरा थाहा पाएँ ।

अनि मेरो मनमा धेरै कुरा खेल्न थाले पछि म इमानदारीपूर्वक लगनशील मिहिनेती भएर पढाइ थाले । स्कुल फस्ट भएरै अगाडी बढियो । माध्यमिक तहको पढाई सकें । अब उच्च शिक्षा हासिलको लागि शहर जानुपर्ने भयो । तर विडम्बना मेरो गरिबीको कारण मैले पढ्न पाईन, मेरो पढाई यत्तिकैमा रोकियो ।

त्यतिबेला गाउँ घरतिर अन्याय अत्याचार छुवाछूत विकृति विसंगति हदैसम्म थियो । त्यसको विरुद्धमा माओवादी जनयुद्ध शुरु भएको रहेछ । खासै थाहा थिएन । पछी माओवादीहरु गाउँ गाउँमा आएर संगठन बिस्तार गर्न थाले । सांस्कृतिक कार्यक्रम देखाउने रातिराती बैठक गर्ने काम गर्दथे ।

अनि हामी युवायुवतीहरुलाई मिलिसियाको संगठन बनाएर पुरै गाउँको सुरक्षा गर्ने दुश्मनको चलखेल हर्कत बुझ्ने र सूचनालाई आदानप्रदान गर्ने कामकारबाहीको जिम्मेवारी दिन्थे ।

त्यही सिलसिलामा मलाई मिलिसिया कमान्डर बनाइ दिए । सबै काम गर्नुपर्ने भयो । पार्टीको आमसभा कार्यक्रममा आफ्नो गाउँका बासिन्दालाई लिएर जाने, भाषण सुनाउने र सकुशल घर फर्काउने काम मेरो टिमको थियो ।

बैधानिक रूपमा घरमै बसेर पार्टीका सम्पुर्ण कामकारबाहीमा सहभागी हुने काम भयो । पछि सुराकीहरुबाट हाम्रो कामकारबाहीको बारे सेना पुलिस प्रशासन कहाँ रिपोर्ट गरेपछि पुलिसले हामीलाई खोज्ने, घरमा घेरा हाल्ने, आमा दाजुभाइलाई दुःख दिने काम सुरु भयो । प्रहरी प्रशासनको ज्यादती सहन नसकेर पुर्णकालिन बनियो । भूमिगत भइयो ।

अब माओवादी पार्टीमा भुमिगत भैसकेपछी पार्टीको योजना नीति र कार्यक्रमलाई दह्रोसँग पकडे्र अगाडी बढियो । सैनिक तालिमपछि एरिया स्क्वाडको कमान्डर हुँदै अघि बढें । जिल्ला प्लाटुनको संरचना बनेपछि मेरो कार्यक्षेत्र सेति महाकालि थियो ।

पार्टीको योजनालाई कार्यन्वयन गर्ने जनताको चेतना स्तर माथी उठाउनुपर्ने र दुश्मनको अवरोधलाई विफल पार्ने काम हाम्रो प्लाटुनको थियो । संगठन सुदृढ र बिस्तार अभियानबाट सेमका अछाम बाजुरा बझाङ डोटि जिल्लाभर यो अभियान संचालन गरियो । कैयौंपटक तत्कालिन शाही सेनासँग भिडन्त भयो । मुकाबिला गरियो । टिम सुरक्षित पार्ने काम भयो ।

एकदिन काडामा खप्तड राष्ट्रिय निकुञ्जबाट आएको सेनाले अभियान टोलिलाई लखेट्यो । त्यो दिन जिन्दगीको अविस्मरणीय क्षण बनेको छ । भदौको अध्यारो रात, पानी परेको पर्यै थियो । जंगल जंगल घघारुको काडाले कोतारेर पुरा जीउ रक्तम्य, जुकाको टोकाई पनि थप थियो । भोकभोकै कुदियो । तर साहस धैर्यता र वीरता मुख्य कुरा रहेछ ।

हाम्रो प्लाटुनसँग अछाम जयगढमा सेनाको भिडन्त भयो । दिन भर एउटा राइफल भरुवा बन्दुक सकेट बमबाट सेनासँग लडाइँ जारी रह्यो । सो भिडन्तमा कमरेड सुनिलको शहादत भयो । त्यसपछि केन्द्रिय फोर्समा जानू पर्ने भयो । जाने बित्तिकै जुम्लाको खलंगा आक्रमण हुँदै कैयन लडाइँ लडियो । लडाइँका अनगिन्ती मोर्चामा म उपस्थित भएको छु ।

मैले बम बारुद र बन्दुक बाट होईन फोर्सेप र सिजरबाट क्रान्तिलाई सहयोग गरेको छु । रणमैदानमा रक्तमुच्छेल घाइते योद्धा हरुको मलमपट्टी गरेर जीवन बचाउने काम गरे । घाइते बिरामीको प्राथमिक उपचार गरे । युद्ध मैदानमा लडाइँ लडेर घाइते भएका सबैको उपचार गर्नु एक जन स्वास्थ्यकर्मिको दायित्व थियो ।

हुन त म एकेडेमीक रूपमा प्रमाणपत्र प्राप्त गरेको स्वास्थ्यकर्मी होईन । तर ज्ञान, सीप र व्यवहारबाट आर्जन गरेको शिक्षा र व्यवहारलाई प्रयोग गर्दा अरु भन्दा कम थिइन । कस्तो कस्तो घाइतेहरुलाई बचाउने काम गरियो । चिरफार अपरेसन सामान्य बनेर गयो । घाइते भएका सेना पुलिसलाई पनि सेवा गरियो ।

लडाइँका अनगिन्ती मोर्चाहरु जस्तै जुम्ला, म्यादी, अर्घाखाँची, अछाम खारा, पिलि, धनगढी, आमखैया, खिमडी, पाण्डौन, गणेशपुर , दुर्गौली, कोटवाडा, बिल्थम, कोटगाउ, पाल्पा, थानकोट, झुरझुरे, पशुपतिनगर, चन्द्रनिगाहपुर, लमाहा, पनौती, चौतारा जस्ता मोर्चामा लडेर युद्धविराम र वार्ताको माध्यमबाट माओवादी शान्तिपूर्ण बाटोबाट संविधानसभा प्रयोग गर्दै अगाडि बढ्ने योजनामा आइपुग्यो ।

सेना क्यान्टोनमेन्टमा बसेपछि पनि मैले जनमुक्ति सेनाको स्वास्थ्य विभाग चलाएर काम गरे । जनताको पनि उपचार गर्दै जनतामा स्थापित हुने काम भयो । मेरो कसैलाई पनि भक्तभाव गर्ने बानी छैन । सहि र सत्य कुरालाई समर्थन गर्छु गलतको बिरोध भण्डाफोर गर्छु । कसैको गुलामी बन्दिन । नेता कमान्डरको नजिक हुदैन । कसैको कुरा लगाउने बानी नि छैन । नेताको भलो भएर कहिल्यै प्रमेशन हुने खेल खेलिन सहि सत्यको बाटो हिडिरहे । यो मेरो आदर्श थियो ।

जनताको जनवाद ल्याउने भनेर युद्धमा हिडेको एउटा योद्धा आज बिदेशको भुमिमा आफ्नो अमुल्य पसिना चुहिएको र श्रम बेचेर बिदेशिको दास बन्न तयार छ यो परिस्थिति कसले निम्त्याएको हो ? हो, निश्चय पनि मुख्य नेताहरुले नै निम्त्याएका हुन् । कता गयो आदर्श विचार ? अनि मालेमावादी सिद्धान्त हरायो ।

सहिद, घाइते अपांग, बिधुवा, टुहुरा अनाथ, वीर योद्धा जनसेना लाई बिर्सेर संसदीय खेलमा रमाउने पद प्रतिष्ठाका लागि पार्टी फुटाउने जनयुद्धको एजेन्डालाई समाप्त पार्ने प्रतिक्रियावादी सग घाँटी जोडने सत्तामा रमाउने भ्रष्टाचार गर्ने नेताहरूबाट हामी सिधा सोझा इमान्दार कार्यकर्तालाई अरबको खाडी मरुभूमिमा पठाउनेहरुले आफ्नो आत्मालाई सोधुन्, के उनीहरुले ठिक काम गरे त ?

(हाल मलेसियामा रहेका उनी पूर्व छापामार कमान्डर हुन् । यो सामग्री सेतो परेवाबाट साभार गरिएको हो ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय