क्षतिपूर्ति १५ लाखसम्म

काठमाडौं – निर्माण क्षेत्रमा काम गर्दागर्दै मृत्यु भएका नेपाली कामदारका परिवारले क्षतिपूर्ति पाउने गरेका छन् । काम लगाउने ठेकेदार वा साहुले बिनाबिमा नेपाली कामदारलाई काम लगाउने भएकाले ट्रेड युनियनले क्षतिपूर्तिका लागि दबाब दिन बाध्य भएको हो ।

मृतक कामदारको परिवारले २ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने गरेका छन् । “ठेकेदारको क्षमता तथा कामदारको सीपका आधारमा क्षतिपूर्ति बार्गेनिङ गर्छौं” नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनका अध्यक्ष नरनाथ लुइँटेलले भने, “दबाब नदिएसम्म कामदारले क्षतिपूर्ति नै दिन खोज्दैन ।”

गत आर्थिक वर्षको फागुनदेखि चालू आवको असोजसम्ममा निर्माण क्षेत्रमा ४२ जना दुर्घटनामा परेका थिए । त्यसमध्ये २४ कामदारको मृत्यु भएको थियो भने १८ कामदार अंगभंग भएका थिए । “यो संख्या हाम्रो सम्पर्कमा आएका कामदारको मात्र हो,” अध्यक्ष कँडेलले भने, “ती कामदारलाई क्षतिपूर्ति दिलाइसकिएको छ ।”

उनका अनुसार १ दिनको काममा लगाउँदा कामदारको मृत्यु भए पनि साहुबाट क्षतिपूर्ति असुल्ने गरिएको छ । “अधिकांश मजदुर जोखिमयुक्त काम गर्दा पनि बिनाबिमा काम गर्नुपर्ने बाध्यता छ” कँडेलले भने, “बिमा मजदुरको कारण नभई ठेकेदार तथा साहुको कारणबाट हो । त्यही भएर त्यसको आर्थिक भार ठेकेदार तथा साहुलाई पर्छ ।” मजदुर ढलानबाट खस्ने, घरको जग तथा सुरुङ खन्दा पुरिएर, रंगरोगन गर्दागर्दै खसेर र इनारमा डुबेर कामदार मृत्यु तथा अंगभंग हुने गरेका छन् । केही ठूला मल तथा सडकमा कार्यरत मजदुरको मात्र बिमा हुन्छ ।

निर्माण क्षेत्रमा कार्यतर मजदुरको पारिश्रमिक काठमाडौंबाहिर प्रतिदिन २ सय ५० सम्म छ । काठमाडौं उपत्यकामा भने ४ सयदेखि १२ सय रुपैयाँसम्म कमाउँछन् । ठेक्कामा काम गरे बार्गेनिङका आधारमा हुन्छ । त्यही कारण दैनिक २ हजार रुपैयाँसम्म पुग्नेछ ।

ठूला सडक निर्माण र भवन निर्माणमा लगातार वर्षदिनसम्म पनि काम हुन्छ । बिमा पनि हुन्छ । तर पारिश्रमिक भने कम दिने गर्छन् । सामान्य रूपमा निर्माण क्षेत्रमा महिनामा १५ देखि २० दिनसम्म काम गर्छन् । “खाडी मुलुकमा निर्माण क्षेत्रमा बढी कामदारको माग आउँछ,” कँडेलले भने, “यहाँ सीप सिकेपछि राम्रो पारिश्रमिक हुने भएकाले कामदार बिदेसिन्छन् ।”

कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: