कतारको दुतावास पासपोर्टमा अग्रस्थानमा

काठमाडौं- कूटनीतिक नियोगहरुबाट सन् २०१४ मा सबभन्दा बढि पासपोर्ट(राहदानी) कतारबाट जारी भएका छन् । कतारबाट ६९ हजार ६ सय ८९ वटा पासपोर्ट जारी भएका छन् । सबभन्दा कम कलकत्ता स्थित महाबाणिज्य दूतावासबाट ६ वटा राहदानी सन् २०१४ को अन्त्यसम्ममा जारी गरिएको छ ।

साउदी अरबस्थित दूतावासबाट ५५ हजार ९ सय ३२, युएईबाट ५३ हजार ७ सय ९८, मलेसियाबाट ४१ हजार ८ सय १८ जारी भएका छन । यूरोपमा रहेको नेपाली दूतावासहरुमध्ये बेलायतबाट सबभन्दा बढि १८ हजार ८ सय २३ एमआरपी जारी भएको छ भने जापानबाट पनि ८ हजार १५ राहदानी जारी भएको छ ।

त्यस्तै अस्ट्रेलियाबाट ५ हजार ३, हङकङबाट १३ हजार ७ सय ७२, थाइल्याण्डबाट ५ हजार ३ सय ५७, अमेरिका (न्यूयोर्क र डीसी) बाट ११ हजार एक सय ३७ राहदानी जारी भएक छन् । अन्य स्थानबाट भने पाच हजार भन्दा कम राहदानी जारी भएका छन् ।

जिल्लाबाट सबभन्दा बढि काठमाडौं र कम डोल्पाबाट

जिल्लामा सबभन्दा कम राहदानी जारी हुने डोल्पा रहेको छ । सन् २०१४ भरि डोल्पाको जिल्ला प्रशासन कार्यालयबाट एक जनाले मात्र राहदानी बनाएका छन भने विगत चार बर्षमा ९ जनाले राहदानी बनाएका छन् । विकट जिल्लाका सबजसो ब्यक्ति काठमाडौं स्थित विभागमा नै आएर बनाउने हुदा त्यहाँबाट कम राहदानी जारी भएको हो ।

सबभन्दा बढि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ८५ हजार १ सय १४, त्यसपछि झापा ६८ हजार ६ सय ३ राहदानी जारी भएका छन् । अन्य जिल्लामा भने ५० हजार भन्दा कम जारी भएका छन् ।

मोरङ र रुपन्देहीबाट पचास हजारभन्दा बढि जारी भएको छ भने चितवन, नवलपरासी, सुनसरीबाट ४० हजारको भन्दा बढि राहदानी जारी भएका छन । अरु जिल्लामा ३० हजार भन्दा कमदेखी ९ वटासम्म जारी भएका छन् ।

यसैबीच सरकारले जिल्लाबाट पासपोर्ट बनाउने क्रमलाई तिब्र र व्यवस्थीत बनाउने भएको छ । यसले पासपोर्ट बनाउनकै लागि काठमाडौंसम्म गर्नुपर्ने यात्रा, समय र खर्चको बचत हुने भएको छ ।

यसका लागि हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार राहदानी लिएर जाने ब्यवस्था अनिवार्य गर्न परराष्ट्र, अर्थ र गृह मन्त्रालयले सहकार्य गर्ने भएका छन् । परराष्ट्र र गृहको समझदारीमा यसअघि पनि त्यसरी वितरण गर्ने भनिए पनि ४५ दिन देखि तीन महिना सम्म लाग्ने गरेको अवस्था थियो । अब त्यस्तो हुने छैन । एमआरपीहरु वेवसाइटमा हुन्छ, विग्रेकालाई एसएमएस जान्छ त्यसैले अव सहज ढंगले समयमा राहदानी पाउने अवस्था बनेको राहदानी विभागले जनाएको छ ।

राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने हरेक १५ दिनमा जिल्ला जिल्लाबाट राहदानीको आवेदन लिएर आउने र बनेको राहदानी लिएर जाने गर्नुपर्छ । संख्याको कुनै सीमा छैन । एउटा वा एक हजार जति भए पनि तोकिएको दिनमा आउनैपर्छ । सार्वजनिक विदा परे पनि विभागले कार्यालय खुला राखेर राहदानी उपलब्ध गराउने र ल्याएको फारम पनि बुझ्नेछ ।

राहदानी विभागका अधिकारीका अनुसार अब काठमाडौंमा आएर नारायणहिटीस्थित राहदानी विभागमा पुगी दोब्बर राजश्व अर्थात १० हजार रुपैया तिरेर पासपोर्ट बनाउनु भन्दा आफ्नै जिल्लामा २० दिन भित्र राहदानी लिनु नै राम्रो हुनेछ । आठौं दिनमा लिनु र २० दिनमा लिनुमा खासै भिन्नता रहन्न ।

काठमाडौंसम्मको यात्रा, आफ्नो नागरिकता बनेको जिल्लामा प्रमाणित गर्ने सबै कार्यले गर्दा दुई साताभन्दा बढी नै लाग्ने हुनाले आफूले नागरिकता लिएको जिल्ला वा बसाइँ सरेको जिल्लाबाट नै राहदानी लिन उचित हुने भएको छ ।

७५ वटै जिल्ला प्रशासन कार्यालयले २० दिन भित्र राहदानी उपलब्ध गराउनुपर्ने भएकाले यो विकल्प उपयुक्त देखिएको हो । सर्वसाधारणलाई निकै हैरानी भएको उक्त राहदानी प्राप्तिलाई सरल बनाउनका लागि हरेक जिल्लाले १५ १५ दिनमा राहदानी विभागबाट आफ्नो जिल्लाको राहदानी लैजान पर्ने भएपछि अव २० दिन भित्र सबै कार्यालयले राहदानी दिन सक्ने दावी विभागको छ ।

विभागले त्यही अनुरुपको नियम र तालिका तय गरेले पनि प्रभावकारी हुने विभागका अधिकारीले बताउँछन् । तत्काल प्रत्यक्ष फारम भर्ने प्रणालीमा जान सक्ने अवस्था नभएकोले यसलाई प्रभावकारी बनाइएको विभागले जनाएको छ । आगामी केही महिनाभित्र हस्तलिखित विस्थापित गर्नुपर्ने र नयाँ राहदानीसमेत बनाउनुपर्ने भएकाले हाल विभागमा भीड बढेको हो ।

सन् २०१० को अन्त्यबाट आरम्भ गरिएको एमआरपी २०१४ को अन्त्यसम्म २८ लाख ३३ हजार ३ सय ३६ जारी भएको राहदानी विभागका निर्देशक शरदराज आरणले बताए । उनले भने, एमआरपी लागू भएपछि ७५ जिल्लाबाट ११ लाख ९३ हजार ६ सय ३० तथा विभागबाट मात्रै १२ लाख ९८ हजार ४ सय ४४ राहदानी जारी भइसकेका छन् । त्यस्तै विभिन्न मुलुकका ३५ कूटनीतिक नियोगहरुबाट तीन लाख ३१ हजार २ सय ६२ राहदानी जारी भएका छन् ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: