१० वर्ष विदेश बसेर कमाएको सम्पत्ति लिएर श्रीमती भागिन्

काठमाडौ, पुस २२ – धरानको लाहुरे बस्तीमा भर्खर एसएलसी दिएका एक किशोर फेल भइयोस् भन्ने मनस्थितिमा रहेछन् । मानवशास्त्रका एक अध्येताले सोधे, ‘किन यस्तो भनेको ?’ किशोरले भने, ‘एसएलसी पास भए यतै पढ्नुपर्छ । फेल भइयो भने विदेश जान पाइन्छ । पैसा त पढेर होइन, विदेश गएर आउँछ ।’ वर्षौंदेखि लाहुरे परम्परासँग जोडिएको उक्त बस्तीका अरू किशोरकिशोरीले पनि अध्ययनलाई भन्दा पैसा र स्वेदशभन्दा विदेशलाई प्राथमिकतामा राखेको अनुसन्धानबाट फेला परेको छ ।

पछिल्ला २० वर्षमा वैदेशिक रोजगारको भँगालो बढ्दै गएपछि स्वाभाविक रूपमा तन्नेरीहरूमा यस्तो सोच बाक्लिँदै गएको अनुमान लगाउन गाह्रो छैन । रोजगार र अध्ययनका नाउँमा मात्र होइन, विदेशमा स्थायी बसाइँसराइ गर्नेको संख्या पनि पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ । दैनिक करिब १ हजार ५ सय  युवा रोजगारका लागि मात्रै विदेश उड्ने गरेको तथ्यांक कुनै नौलो रहेन ।

विदेश पुग्नेका पनि आ-आफ्नै प्रकृतिका आयाम छन् । फरक-फरक सामाजिक र आर्थिक पृष्ठभूमिबाट फरक-फरक देशमा पुग्नेहरूले भिन्नभिन्नै रूपमा नेपालमा प्रभाव पारिरहेका छन् । सुदूरपश्चिम र तराईमा अझै पनि त्यस्ता धेरै गाउँका श्रमजीवी कहिल्यै राजधानी काठमाडौँसम्म आइपुग्दैनन् । उनीहरू वर्षाैदेखि  भारतका विभिन्न सहरमा पुगेर पसिना बेचिरहेका छन् । अरूका भन्दा सीमित सपना र आम्दानीमा बाँचेका त्यस्ता नेपालीका लागि खाडी, युरोप र अमेरिका केवल दन्त्यकथाजस्तो लाग्छ । “पासपोर्ट बनाउने पैसा पनि नभएका गरिबहरू, जो भारतलाई मात्र विदेश ठान्छन्, उनीहरूको तुलना अन्यसँग हुँदैन,” वैदेशिक  रोजगारको प्रभावबारे अनुसन्धान गरेका समाजशास्त्रका विद्यार्थी गौरव केसी भन्छन् ।

समाजमा ऋणधन गर्न सक्ने र अरूले पत्याउनेहरूका लागि सबैभन्दा सहज गन्तव्य खाडी मुलुक बनेको छ भने मध्यम र उच्च वर्गका लागि जापान, अस्ट्रेलिया, युरोप र अमेरिका । पछिल्ला दिनमा अफ्रिकामा पनि नेपालीको संख्या बढेको छ । वैध-अवैध रूपमा विदेश पुग्ने नेपालीले ठूलो धनराशि नेपाल पठाइरहेका  छन् । पछिल्लो जीवनस्तर सर्वेक्षण अनुसार ५६ प्रतिशत नेपालीले कुनै न कुनै रूपमा विप्रेषण प्राप्त गर्छन् । वाषिर्क करिब ५ खर्ब ४३ अर्ब रुपियाँ र दैनिक १ अर्ब ४८ करोड रुपियाँ नेपाल भित्रिने गरेको छ । १० वर्षअघि ३१ प्रतिशतभन्दा बढी नेपाली गरिबीको रेखामुनि थिए भने यसबीचमा यो संख्या घटेर २३ प्रतिशतमा आएको छ ।

विप्रेषणले नेपाली समाजको गरिबी घटाउन सघाउ पुगेको विश्वास गरिन्छ । तर, यसले अर्थतन्त्रमा दीर्घकालीन असर गर्छ भन्दै चिन्ता गर्नेहरू पनि त्यत्तिकै छन् । विदेशबाट भित्रिने पैसा र त्यसको उपयोगिताबारे धेरै अध्ययन-अनुसन्धान र चर्चा भएका छन् । तर, परिवारका सदस्यको पलायनले घरपरिवार, समाज र सस्कृतिमा परेको प्रभाव र भविष्यमा हाम्रो सामाजिक संरचनाको आकलनबारे भने कमै परिचर्चा भइरहेको छ । झन् यसबीचमा युवासँगै महिलाहरूको पलायन सुरु भएपछि हाम्रो सामाजिक, सांस्कृतिक र पारिवारिक जगको परम्परागत स्वरूप हल्लिन थालेको छ ।

“समाजको सबैभन्दा महत्त्वपूर्ण कडी परिवार मानिन्छ,” राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आप्रवासन विज्ञ गणेश गुरुङ भन्छन्, “वैदेशिक रोजगारको प्रभाव परिवारमा पनि परेको छ । तर, सबैभन्दा बढी जीविकोपार्जनको तरिकामा परेको देखिन्छ ।” खासमा हाम्रो पारिवारिक संरचना संयुक्त प्रकृतिको हो । तीन बर्ष अघिको जीवनस्तर सर्वेक्षणका अनुसार नेपालमा सरदर एउटा परिवारमा पाँच जना सदस्य छन् । १४ प्रतिशत परिवारमा जम्मा दुई जना सदस्य छन् भने २३ प्रतिशतमा तीनदेखि चार जना । अर्को ३२ प्रतिशतमा पाँचदेखि ६ जना सदस्य छन् भने १९ प्रतिशतमा सात जनाभन्दा बढी ।

महत्त्वपूर्ण के भने हाम्रो पारिवारिक संरचना संयुक्तबाट मझौला र एकलतर्फ अघि बढिरहेको छ । सानो परिवार सुखी परिवार भन्ने मान्यताले प्रवेश पाएको छ । खास गरी सहरी क्षेत्रमा त थोरै सदस्य भएको घरपरिवारको संख्या ह्वात्तै बढेको छ । परिवारको आकार सानो हुनुमा अरू धेरैमध्ये वैदेशिक रोजगार पनि एउटा  महत्त्वपूर्ण कारण मानिन्छ ।

जस्तो ललितपुर, कुपन्डोलका मीनबहादुर थापा, ६९, ले चार सन्तान जन्माए र बडो कष्टपूर्वक हुर्काए । अहिले परिवारमा आफू र श्रीमती मात्र छन् । दुई छोरा जापानमा रेस्टुराँ व्यवसाय गर्छन् भने एक अस्ट्रेलियामा स्थायी बसोवास गर्छन् । बाँकी एउटी छोरी पनि बिहे गरेर अमेरिका  पुगिसकिन् । सुसार गर्न नसकेपछि उनले तीन नातिनातिनालाई स्कुलको होस्टलमा राखेका छन् । बुढेसकालमा पैसा त छ तर पारिवारिक माहोल नहुँदा थापा दम्पती कहिलेकाहीँ त उच्चाटलाग्दो उदासीमा फस्छ । मीनबहादुर भन्छन्, “धन र परिवार भनेको भिन्दै भिन्दै रहेछन् । अहिले त मरियो भने पनि कसले उठाएर  आर्यघाट पुर्‍याउँछ भन्ने चिन्ता लाग्न थाल्यो ।” सहरी तामझाममा रहेका थापा दम्पती त यति धेरै चिन्तित छन् भने दूरदराजमा रहेका गाउँहरूको हालत कस्तो होला ? गाउँमा स-साना बालबालिका र वृद्धवृद्धा मात्र देखिन्छन् । युवा सके विदेश, नसके सहर पसेका छन् ।

परिवारसँग जोडिन आइपुग्ने अर्को तथ्य के हो भने वैदेशिक श्रम उकालो लागेपछि नेपाली समाजमा प्रजनन दर ओरालो लागेको देखिन्छ । एक दशकअघिसम्म ४.१ रहेको उक्त दर अहिले २.१ मा आइपुगेको छ । श्रीमान्-श्रीमती भिन्दाभिन्दै बस्नुपर्ने भएकाले प्रजननदर घटेको अध्येताहरूको दाबी छ ।

परिवारभित्रै अर्को  कुरा, आमाहरूले मात्र हुर्काएका बालबालिका पनि अध्ययनको विषय बनेको छ । मनोविज्ञहरू यस्ता बालबालिकाको मनोदशा एकोहोरो प्रकृतिको हुने बताउँछन् । संयुक्त परिवारका बालबालिकाको सामाजिकीकरण सहज हुने कुरा कहीँकतै छिप्दैन । टुक्रिँदै गएको परिवार र त्यसैमा पनि बाबुसँग लामो समय टाढा रहँदा  उसमा कस्तो खालको प्रभाव परिरहेको हुन्छ भन्ने अनुसन्धान नेपालमा भएको छैन ।

तर, छिमेकी भारतको केरलामा भएको एक अध्ययनले भने बाबु र एटीएम मेसिनलाई एउटा विम्बका रूपमा स्थापित गरेको छ । केरला जहाँबाट अधिक पुरुष कामका लागि घरदेखि टाढा वर्षौं बिताउँछन्, त्यहाँ बालबालिकालाई सो धिएछ, ‘बाबुको याद आउँछ ?’ अधिक बालबालिकाको जवाफ रहेछ, ‘अघिपछि बाबुको अनुहार यादै हुँदैन, जब एटीएममा पैसा झिक्न आमासँग पुगिन्छ, त्यतिबेला मात्र बाबुको सम्झना हुन्छ ।’ यसले के देखाउँछ भने परिवारका सदस्यहरू रोजगारकै सिलसिलामा भिन्न हुँदा त्यसको प्रभाव सन्ततिसँगको सम्बन्धमा पनि  पर्छ ।

विप्रेषणको लाभ र विछोडको विरह खेपिरहेको परिवारभित्रको अर्को महत्त्वपूर्ण सदस्य महिला हुन् । श्रीमान् लामो समय विदेश हुँदा पारिवारिक जिम्मेवारी, सन्तानको रेखदेख, घरव्यवहार र घरेलु कामको चक्रमा यस्ता महिलाको संघर्ष र समपर्णलाई कम आँक्न मिल्दैन । झन् ग्रामीण परिवारमा त घरमा पुरुष नहुँदा महिलाले खेप्ने सास्ती र दुव्र्यवहारका अनेकन् उदाहरण सतहमा आउने गर्छन् ।

चार महिनाअगाडि चितवन जिल्ला प्रहरी कार्यालयमा आफूलाई घरमा एक्लै देखेर छिमेकीले यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिन आएकी पार्वती अधिकारीले आफ्नो उजुरीमा लेखेकी रहिछिन्, ‘तेरो श्रीमान् विदेशमा फिलिपिनोसँग लागेको  छ, तँ पनि मसँग लाग् भनेर छिमेकीले मलाई दुव्र्यवहार गरे ।’

बाहिर नआएका यस्ता अरू घटना पनि छन् । यसको ठीकविपरीत कतिपय विवाहिता महिलालेे श्रीमान् विदेशमा हुँदा पैतृक सम्पत्ति र धनदौलत लिएर अर्को विवाह गर्ने या अतिरिक्त सम्बन्धमा रमाउने परिपाटी पनि नभएको होइन । सिन्धुपाल्चोकका हरिकुमार श्रेष्ठ, ४३, यस्ता भुक्तभोगी हुन्, जसले १० वर्ष विदेशमा  बसेर कमाएको सबै सम्पत्ति आफ्नै श्रीमतीले लिएर टाप कसिन् । ‘श्रीमती होइन, मलाई मेरो सम्पत्ति चाहियो’ भन्दै भौँतारिरहेका श्रेष्ठजस्तै बिचल्लीमा परेकाहरू समाजमा अरू पनि छन् ।

स्वेदशमा रहेका महिलाका संघर्ष र घातप्रतिघातका कथाका अलावा गरिबी र घरेलु हिंसाका कारण विदेश जाने महिला पनि समाजमा छन् ।  मलेसिया, कतार, दुबई, कुवेत र बहराइनजस्ता देश त छँदै छन्, आम्दानीका हिसाबले आकर्षक मानिएको इजरायलमा घरेलु कामदारका रूपमा नेपाली महिला कामदारको उपस्थिति बढेको देखिन्छ ।

“महिलाले कमाएर धानेका परिवारमा पनि कुनै कुनै खालको समस्या नभएको होइन,” अध्येता गुरुङ भन्छन्, “आफू कमाउने भइसकेपछि महिलामा आत्मविश्वास बढ्छ र परिवारलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ । तर, परिवारमा रहेको पुरुषले त्यस्तो हैकम स्वीकार्दैन । त्यसैले पनि  कतिपय पारिवारिक विग्रह देखिएका छन् ।”

खाडी मुलुकमा काम गर्न जाने कतिपय महिला घरेलु कामदारले गर्भ बोकेर नेपाल र्फकने गरेको र त्यसले नयाँ प्रकारको सामाजिक चिन्ता थपेको छ । यति हुँदाहुँदै पनि पितृसत्तात्मक समाजमा आप्रवासन रोजगारीले महिलाहरूको सम्पत्तिप्रतिको स्वामित्वलाई भने टड्कारो रूपमा बलियो बनाएको छ ।

खोटाङ, स्याङ्जा,  पर्वतजस्ता केही जिल्लामा भएका अध्ययनले बितेको पाँच-सात वर्षमा नै घरजग्गा आफ्नो नाउँमा राख्ने महिलाको संख्या बढेको देखाएको छ । यसअघि नौ प्रतिशत महिलाको स्वामित्वमा सम्पत्ति देखिन्थ्यो भने अहिले यो संख्या बढेर १९ प्रतिशतभन्दा माथि पुगेको छ । यसले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा परिवारभित्र पुरुष  हैकमलाई चुनौती दिइरहेको छ ।

स्थायी या अस्थायी पलायनले समाजमा पारेको प्रत्यक्ष प्रभाव भने आन्तरिक बसाइँसराइ हो । घरमा परिवार छाडेर पैसा कमाउन विदेश पुगेका पुरुषले पठाएको अधिक रकम परिवारको न्यूनतम आवश्यकताका लागि खर्च हुन्छ । पहिरन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा पर्छन् । जब  आधारभूत कुरा पूरा हुन्छन्,  परिवारभित्रैबाट अरू स्तरीय जीवनका लागि दबाब सुरु हुन्छ । गाउँमा भएको सरकारी विद्यालयबाट सन्तान झिकेर निजी विद्यालयमा पढाउन सुरु गरिन्छ । त्यसका लागि घरमा रहेकी महिला सन्तानसँगै स्थानान्तरण गर्छिन् ।

विकास अध्ययन प्रतिष्ठानले अघिल्लो वर्ष खोटाङ जिल्लामा गरेको अनुसन्धानले कुल बसाइँसराइ गर्ने परिवारमध्ये ७० प्रतिशतभन्दा बढी परिवार वैदेशिक रोजगारमा रहेका परिवार रहेको देखाउँछ । सुगम स्थानको खोजीमा नजिकको सहरबजार, सदरमुकाम, क्षेत्रीय सदरमुकाम या राजधानी बसाइँसराइ गर्दा एकातिर  परिवार असन्तुलन त भयो नै, अर्कोतिर त्यसको प्रभाव गाउँका सरकारी विद्यालयहरूमा पनि पर्‍यो । सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्नुको मूल कारण आन्तरिक बसाइँसराइ हो ।

अर्को महत्त्वपूर्ण कुरा, कृषिमा निर्भर अधिकतर जनसंख्यालाई वैदेशिक रोजगारको बाछिटाले प्रभावित गरेको छ । गाउँमा कृषिका लागि पर्याप्त जनशक्ति छैन, सहज रूपमा पैसा आइरहेको छ र फैलिँदै गएको बजारमा उपभोग्य सामग्री उपलब्ध छन् । त्यसैले कृषिकर्मप्रति लगाव घटेको देखिन्छ । सुरुसुरुमा बारी बाँझो दे खिन्थ्यो भने अहिले खेत नै बाँझो राख्ने परिपाटी बढेको छ ।

एकातिर यस्तो प्रवृत्ति छ भने अर्कोतिर विदेश बसेर आएका कतिपय व्यक्तिले उन्नत र वैज्ञानिक तरिकाले कृषिकर्म गरेका उदाहरण पनि छन् । जस्तो इलाम, नाम्सालिङका देवेश र मंगेश श्रेष्ठले विदेशमा कमाएको पैसा लगानी गरेर गाईपालन र अदुवा खेती गरिरहेका छन् । विदेशबाट फर्केका या विदेशमा भएका  सचेत व्यक्तिले आफ्नो घरपरिवारका भाइबहिनी या छोराछोरीलाई प्राविधिक र सीपमूलक शिक्षाको जोड दिन थालेको पनि पाइएको छ । आफ्ना अनुभवका आधारमा उनीहरूले जीवनशैली र व्यवसायसम्बद्ध धेरै विषयमा परिवारलाई प्रशिक्षित गरिरहेका छन् ।

जे-जस्तो भए पनि बितेको २० वर्षमा हाम्रो घरपरिवार र आवास बन्दोबस्तीको पद्धति, ढाँचा र भौतिक संरचना मात्र होइन, घरेलु सुविधामा पहुँच लोभलाग्दो गरी बदलिएको छ । जस्तो चर्पी प्रयोग गर्ने घरपरिवारको संख्या दोब्बर बढेको छ । भान्छाघरको बनोट तथा त्यहाँ उपयोग गरिने सामग्री र पाक्ने परिकारका  किसिममा पनि भिन्नता देखा परेका छन् । अर्थ र अनुभवकै कारण घर सुविधासम्पन्नजस्तो देखिएको छ तर घरभित्रको सांस्कृतिक हार्दिकता र मनोदशा कुन दिशामा गइरहेको छ भन्ने प्रस्ट छैन ।

नेपाल साप्ताहिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: