नेपालीको चोरीको पासपोर्ट प्रयोग गर्ने मलेसियामा पक्राउ

काठमाडौ, अर्काको राहदानीमा आफ्नो फोटो टाँसेर नेपाल फर्किन लागेका एक व्यक्ति मलेसियामा पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा राखिएको अलर्ट सूचनाबाट ती व्यक्ति पक्राउ परेका हुन्।

एयर एसियाको उडानमार्फत क्वालालम्पुरबाट काठमाडौं आउन लागेका मोरङ राजघाटका पर्शुराम ढकालको नाममा जारी राहदानी बोक्ने व्यक्ति पक्राउ परेका हुन्। मलेसियाली प्रहरीका अनुसार ती व्यक्ति ४३९३०४० नम्बरको हस्तलिखित राहदानीमा नेपाल आउन लागेका थिए।

नेपाल प्रहरीको इन्टरपोल शाखाका अनुसार ती व्यक्ति अर्कैको राहदानीमा फोटो परिवर्तन गरेर त्यहाँ पुगेका थिए। विमानस्थलको उडानद्वारमा खटिएका मलेसियाली प्रहरीले सोधपुछ र डाटा चेक गर्दा उनी अर्कैको नाममा यात्रा गरिरहेको खुलेको हो। उनलाई रोयल मलेसिया प्रहरीको जिम्मा लगाइएको छ। ती व्यक्तिको सही नाम र पहिचानको खोजबिन भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले हराएका राहदानी अरूलाई दुरुपयोग गर्न नदिन परराष्ट्र मन्त्रालयबाट डाटा ल्याएर इन्टरपोलको स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट (एसएलटीडी) सर्भरमा राखेको छ। हराएका वा चोरी भएका राहदानी चरम दुरुपयोग हुने र तेस्रो देशको नागरिकलाई बेचिने रहस्य खुलेपछि प्रहरीले त्यसो गरेको हो। चरिएको वा हराएको राहदानी बोकेर अर्को व्यक्ति कुनै मुलुकमा जान खोज्दा त्यहाँ रहेको सर्भरले त्यो खुलाइदिन्छ, अपराध अनुसन्धान विभागका अतिरिक्त नायब महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहले भने, सर्भरमा अपलोड गरिएको राहदानी नम्बरले त्यो व्यक्ति अर्कैको राहदानीमा आएको थाहा हुन्छ। इन्टरपोलको उक्त सिस्टममा अपलोड गरिएका राहदानी बोकेर कोही व्यक्ति इन्टरपोल सदस्य एक सय ९० मुलुकमा प्रवेश गर्न सक्दैन।

विमानस्थल प्रहरीले चोरिएको वा हराएको हो वा होइन भनी राहदानी नम्बरबाट जाँच गर्छ। तीन महिनाअघि प्रहरीले इन्टरपोलको उक्त सफ्टवेयरमा ६१ हजार तीन सय नौवटा राहदानी अपलोड गरेको थियो। त्यसैका आधारमा मलेसियामा ती व्यक्ति पक्राउ परेका हुन्।

हराएका वा चोरी भएका राहदानीहरू आतंककारी गतिविधिमा संलग्न व्यक्ति वा समूहले दुरुपयोग गर्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरो र इन्टरपोलले संयुक्त रूपमा यसमाथि काम गरिरहेका छन्। नेपाली राहदानी अन्तर्राष्ट्रिय आतंककारीको हातसम्म पुगेका पुराना घटना पनि छन्। सन् २००८ मा भारतको दिल्ली र बनारसमा भएको शृंखलाबद्ध बम विस्फोटको घटनामा संलग्न भारतीय नागरिक सलमान सेखले नेपाली राहदानी लिएका थिए।

सेखलाई भारतीय प्रहरीले सन् २०१० मा पक्राउ गरेपछि बयानका क्रममा उक्त रहस्य खुलेको थियो। भारतीय दूतावासले नेपाल प्रहरीलाई त्यो विषयमा जानकारी गराएपछि सुनसरी पुगेर प्रहरीले थप अनुसन्धान गर्दा सेखबाहेक त्यही विस्फोटमा संलग्न अन्य चारजनाले पनि अर्कैको नाममा रादहानी लिएको भेट्यो।

राहदानी हराउने र चोरी हुने विषयमा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार राहदानी दुरुपयोग हुने सम्भावना बढी हुन्छ। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक पीताम्बर अधिकारीका अनुसार राजधानीका धेरै मेनपावर कम्पनीहरूले सर्वसाधारणको राहदानी लिएर फिर्ता नगरी अरूलाई नै बेच्ने गर्छन्। गएको जेठमा २५ नेपाली राहदानी बंगलादेशीलाई बिक्री गर्ने गिरोह समातिएको थियो। साउदी अरबको भिसा लागेका राहदानी २९ लाख ५० हजार रुपैयाँमा बिक्री गरिएको थियो। यीमध्ये ११ वटा ब्युरोले फिर्ता ल्याएको थियो।

परराष्ट्र मन्त्रालय राहदानी विभागका अनुसार ०६७ फागुन १२ देखि हालसम्म एक लाख १६ हजार नौ सय २५ वटा राहदानी हराएका छन्। तीमध्ये एक लाख नौ हजार सात सय २९ वटा हस्तलिखित छन्। यस्तै सात हजार एक सय ३५ वटा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) हुन्। प्रहरी अधिकारीहरूका अनुसार हस्तलिखित राहदानीमा फोटो परिवर्तन गर्न सहज हुने भएकाले त्यसको दुरुपयोगको सम्भावना बढी रहन्छ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय