‘कामदारले रकम नतिरी विदेश जान पाउने व्यवस्था हुँदै’

काठमाडौं, बैदेशिक रोजगार व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाका कारण कामदारहरु मारमा परिरहेको श्रम सचिव भोलाप्रसाद सिवाकोटीले बताएका छन् । विदेशी कम्पनीहरुले निःशुल्क भिसा र टिकट पठाउँदा समेत नेपाली व्यवसायीले त्यस्तो भिसाका लागि विदेशी एजेण्टलाई चर्को शुल्क तिरेर त्यसको भार नेपाली कामदारहरु माथि थोपरिरहेको उनले बताए ।

‘मेनपावर कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाको मार कामदारलाई पार्नु अन्याय हो’ नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसनको दोश्रो साधारणसभाको उद्घाटन गर्दै सचिव सिवाकोटीले भने ‘विदेशी कम्पनीहरुले कामदार उपलव्ध गराइदिए वापत रकम दिइरहेको अवस्थामा उल्टै नेपाली कामदारसँग व्यवसायीहरुले रकम असुलिरहेका छन् जुन रोकिनु पर्छ ।’ कमिसनको चक्करमा परेर व्यवसायीहरुले विदेशका एजेण्टहरुलाई धेरै रकम बुझाइरहेको भन्दै त्यसलाई रोक्न समेत उनले आग्रह गरे ।

व्यवसायीले सरकारले प्रवद्र्धन खर्च र लागत खर्च तोकिदिनु पर्ने आवाज उठाइरहेको सन्दर्र्भ निकाल्दै सचिव सिवाकोटीले त्यसको गृहकार्य भइरहेको भएपनि व्यवसायी इमान्दार नभएसम्म त्यसले पनि कुनै प्रतिफल नदिने बताए । सरकार कामदारको लागतलाई शुन्य बनाउन प्रतिवद्ध रहेको भन्दै सचिव सिवाकोटीले त्यसका लागि गन्तव्य मुलुकहरुसँग पनि छलफल भइरहेको जानकारी दिए ।

गत महिना कुवेतमा भएको अबुधावि डाइलगका अवशरमा खाडीका मुलुकका प्रतिनिधिहरुसँग यसबारेमा छलफल भएको जानकारी दिंदै उनले ति मुलुकहरु यसमा सकारात्मक रहेको बताए । उनले विदेश जाने नेपालीको संख्या सँगै अलपत्र पर्नेहरुको संख्या समेत बढेको भन्दै यसमा व्यवसायी, एजेण्ट सम्वेशदनशिल हुनुपर्ने बताए । सही काम गर्नेलाई प्रोत्साहित गर्न र गलत गर्नेलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध छ भन्दै सचिव सिवाकोटीले भने ‘यसमा कसैलाई काखा र कसैलाई पाखा गरिन्न ।’

सोही अवशरमा बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले वैदेशिक रोजगार एजेण्टहरुलाई अधिकारसँगै दायित्व र कर्तय पनि पालना गर्न आग्रह गरे । उनले वैदेशिक रोजगार प्रतिनिधि एजेण्टहरुलाई मेनपावर कम्पनी र सरकारको एजेण्ट बन्ने लोभ नराखि विदेश जाने कामदारको एजेण्ट बन्न अनुरोध गरे । वैदेशिक रोजगारीमा जानेहरुलाई सही सुचना दिन सक्ने सवैभन्दा प्रभावकारी व्यक्ति एजेण्ट नै हुन सक्ने भन्दै त्यसका लागि एजेण्टहरु जिम्मेवार हुनु पर्नेमा उनको जोड थियो ।

यसैगरी बैदेशिक रोेजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले आचार संहित बनाएर एजेण्टहरु अघि बढ्नु सकारात्मक कुरा भएको भन्दै वैदेशिक रोजगारीमा जान चाहनेको पहिलो भेट एजेण्टसँग हुने भएका कारण उनीहरुलाई प्रोत्साहित नभई सही सुचना दिनु अवश्यक रहेको बताए ।

वर्तमान वैदेशिक रोजगार ऐनले एजेण्टको भूमिकालाई संकुचित गरेको भन्ने व्यवसायी र एजेण्ट एशोसिएसनका पदाधिकारीहरुको गुनासोको जवाफ दिंदै कार्यकारी निर्देशक काफ्लेले वर्तमान ऐन अनुसार आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै नयाँ ऐनमा कसरी आफूलाई बलियो बनाउन सकिन्छ भनेर काम गर्न सुझाव दिए ।

प्रवद्र्धन बोर्ड केवल क्षतीपूर्ती वितरणमा केन्द्रीत रहेको गुनासोका सन्दर्भमा कार्यकारी निर्देशक काफ्लेले बोर्डले अहिले गरीरहेका कामको त्यो केवल एक प्रतिशत मात्र काम भएको बताए । सार्कको इतिहासमै पहिलो पटक नेपालकै पहलमा सार्कको घोषणापत्रमा आप्रवासी कामदारको विषयलाई समेटिएको र त्यो विषय बोर्ड, श्रम तथा रोजगार मन्त्रालय हुँदै नेपालले राख्ने एजेण्डामा समावेश गरिएको उनले स्मरण गरे । उनले नयाँ श्रम गन्तव्यहरुको खोजि गर्ने कामसँगै बैदेशिक रोेजगार ऐन संशोधनका लागि पनि प्रवद्र्धन बोर्डले गृहकार्य गरिरहेको बताए ।

एशोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बैदेशिक रोजगार व्यवसायीहरुले श्रम तथा रोजगार मन्त्री र मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुलाई एजेण्टप्रति नकारात्मक धारणा बढाएको भन्दै त्यसमा सजग हुन आग्रह गरे । उनले शाखा बैदेशिक रोजगार व्यवसायीका कार्यालयहरु मार्फत भएको काममा अझ बढी अनियमित काम भएका कारण एजेण्ट मार्फत काम गर्न थालिएको स्मरण गराए ।

अध्यक्ष श्रेष्ठले एजेण्टले विदेश जान चाहनेहरुको पासपोर्ट बोक्दा समेत अपराधीलाई जस्तै व्यवहार गरिएको भन्दै त्यसको विरोध गरे । उनले तीन महिनासम्म पासपोर्ट एजेण्टको जिम्मामा दिन आग्रह गर्दै त्यसभन्दा बढी समय राखेमा प्रतिदिन २ सय ५० रुपैंयाँ हर्जना तिर्न आफूहरु तयार रहेको बताए । उनले देशका ६२ जिल्लामा छरिएर रहेका बैदेशिक रोजगार प्रतिनिधि एजेण्टहरुले धेरै व्यवधान र अड्चनका बीच काम गर्नुपरिरहेको बताए ।

सोही कार्यक्रममा पूर्व श्रम तथ रोजगार मन्त्री लेखराज भट्टले रेमिट्यान्सले मुलुक धानिनु गर्वको विषय नभएको भन्दै स्वदेशमै रोजगारीका उपाय खोजिनु पर्नेमा जोड दिए । उनले त्यसमा युवाले समेत स्वदेशमा काम गर्न लाज मान्ने तर विदेश गएपछि जस्तोसुकै काम गर्न अघि सर्ने मनोवृत्ति त्याग्नु पर्ने बताए ।

उनले विदेशबाट आएको रेमिट्यान्सले सधैं मुलुक नधानिने भन्दै, अहिले आइरहेको रेमिट्यान्स पनि उत्पादनमूलक काममा भन्दा धेरै उपभोग्य कुरामा खर्च भइरहेको बताए । उनले एजेण्टहरुलाई विश्वासयोग्य र भरोसाको काम गर्न सुझाव दिंदै भने ‘विदेश जाने कोहि पनि युवाले तपाईसँग ठगिएको महशुस नगरोस्, उसले तपाईले उसलाई काममा पठाइदिएर उसको जीवनस्तर उक्सेकोमा तपाई प्रति गर्व गर्न सक्ने अवस्था बनोस् ।’

कार्यक्रममा पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुँग, बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादर तामाँग, व्यवसायी अव्दुल सतार लगायतले आफ्ना धारणा राखेका थिए ।

साधारणसभामा विभिन्न जिल्लाका ५ सय भन्दा धेरै वैदेशिक रोजगार प्रतिनिधि एजेण्ट सहभागि छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय