मेरो नाम पार्वती हो । घर काठमाडौंको नजिकै पर्छ । म दुई पटक विदेश गएर फर्केकी हुँ । पहिलो चोटी म रहरले विदेश गएकी थिएँ । विदेश जाँदा राम्रो कमाई हुन्छ भन्ने लाग्यो । त्यसैले आफैंले घरपरिवारलाई मनाएर विदेश उडेकी थिएँ ।
पहिलो पटक म कुवेत गएँ । म घरेलु काममा गएकी हुँ । थोरै सदस्य भएको सानोे परिवार छ भनिएको थियो । तर कुवेत पुगेपछि थाहा भयो म काम गर्न गएको परिवार धेरै ठूलो रहेछ । त्यो देखेर म त आत्तिएँ । काम गर्न सक्दिन भनें । तर काम गर्न बाध्य बनाइयो ।
म भागेर नेपाली दुतावासमा पुगें । तर त्यहाँ त अचम्मै हुँदो रहेछ । समस्यामा परेर आएका आफ्ना देशका नागरिकलार्ई सहयोग गर्नु त परको कुरा दुतावासको गेट भित्र समेत छिर्न दिईन्न रहेछ । मलाई आपत परेको छ भनेर म कराइरहेकी थिएँ ।
तर दुतावास भित्र छिर्नै दिइएन । जहाँबाट भागेर आएको हो त्यहिं जाउ भन्दै थिए । म मानिन । मलाई भित्र पस्न दिएनौ र कुवेती आएर मलाई केहि गरेमा त्यसको जिम्मेवार तिमिहरु हुन्छौ भनेर म बाझ्न थालें । मनमा कता कता डर पनि थियो ।
मैले सुनेकी थिएँ त्यसरी भागेकाहरुलाई भेटे भनें कुवेतमा मार्नेसम्मका घटना हुन्छन् भनेर । त्यसैले केहि गरी म काम गर्ने घरको मान्छेहरु आइपुगे भनें मेरो पनि ज्यानै जान सक्छ भनेर म डराइ रहेकी थिएँ । धन्न केहि बेरको प्रयास पछि दुतावास भित्र पस्न म सफल भएँ । अव बाँचे भने जस्तै भयो ।
कुवेतबाट बल्ल म नेपाल फर्किन सफल भएँ । त्यसपछि केहि समय घरमै बसें । मलाई लाग्यो विदेश भन्ने वित्तिकै सवै ठाउँ उस्तै हुन्नन् । फेरी पैसा पनि त कमाउनु थियो । त्यसैले मैले अर्कै कुनै देशमा काम गर्न जाने विचार गरें । बुझ्दै जाँदा कतारमा जाँदा कमाई पनि हुन्छ, काम पनि सजिलो हुन्छ भन्ने सुनें ।
मलाई सुरुमा कुनै रकम लिएन । सवै काम एजेण्टले नै गरिदियो । मैले एयरपोर्टमा पुगेर मात्र पैसा तिरेको हो । तर कतार पनि मैले सुनेजस्तो, सोचेजस्तो रहेनछ । तर कतारमा भनें कतारीले होइन नेपालीले नै समस्यामा पारेको हो ।
मलाई काममा लगाइदिने भनेर लैजाने एजेण्टले म प्रति कुदृष्टि राख्यो । उसको त चलन नै त्यस्तै रहेछ । खाली बोलाएर गलत आशयको कुरा गर्न थाल्यो । हामीसँगै गएकी एउटी बहिनीलाई बहराइन पठाउन खोजेपछि मैले त्यसको प्रतिवाद गरें ।
एउटा देशमा काम लगाइदिन्छु भनेर ल्याएर किन अर्को देशमा पठाउने भनेर मैले झगडा गरें । ति बहिनीलाई पनि त्यसरी जानु हुन्न नजाउ भनेर सम्झाएँ । तर ति बहिनी धेरै पैसा खर्च भइसकेको हुनाले केहि कमाएर मात्र घर फकिन्छु भन्दै बहराइन जान तयार भइन् ।
मैले त्यसरी बिरोध गरेपछि मलाई जसरी पनि नेपाल फर्काउँछु भन्दै एजेण्ट हिंडेछ । मेरो तलव रोकियो । मैले किन रोकेको भनेर सोध्दा तेरो एजेण्टले रोक्का गर्नु भनेको छ, तेरो चरित्र ठिक छैन रे भन्ने जवाफ दिइयो ।
म एजेण्टकोमा गएँ । उसलाई मेरो तलव किन रोक्का भयो, फुकुवा गर भन्दा तँ चरित्रहिन केटी होस्, तँ जस्ताले कतारमा बस्न मिल्दैन भन्दै निहुँ खोेज्यो । खासमा चरित्रहिन म होइन त्यहि एजेण्ट थियो जो हामीजस्तो रोजगारीको खोजीमा परदेशमा पुगेको अवस्थाको फाइदा उठाएर हाम्रो अस्मिता लुट्न चाहन्थ्यो । त्यसैले म सहयोग माग्दै दोहा रहेको नेपाली दुतावासमा पुगें ।
दुतावासमा मलाई नेपाल फर्केर मुद्धा लड्दा राम्रो हुने सुझाव दिइयो । मलाई मुद्धामामिलाको प्रकृयाका बारेमा धेरै थाहा थिएन । त्यसैले म नेपाल नै फर्किन तयार भएँ । अर्काको देशमा के हुने हो के भन्ने डर पनि थियो । त्यसैले म नेपाल फर्किएँ । यसरी पैसा कमाउने मेरो बैदेशिक रोजगारको यात्रा कुनै फलदायी भएन ।
नेपाल फर्केपछि पनि मसँग पर्याप्त कागजात थिएन । पैसा दिएको रसिद पनि थिएन । त्यसैले मैले कुनै न्याय पाउन सकेको छैन । अहिले त मेरो डुवेको पैसा फिर्र्ता आउँछ भन्ने विश्वास पनि हरायो । त्यसैले मैले मलाई विदेश पठाउने त्यो एजेण्टलाई मेरो ३५ हजार खाएर जीवनभरी पुग्छ भनें खा भनेर छोडिदिएको छु ।
हामी विदेशमा विदेशीले दुःख दिए भन्छौं । तर हामी महिलालाई त विदेशीले त दुःख दिएका छन् नै, नेपालीबाट नै धेरै ठगिएका छौं । कुदृष्टि राख्ने फटाहाले हामीजस्ता महिलालाई विदेशमा काम गरी खान नदिने अवस्था छ ।
(पार्वतीले काठमाडौंमा प्रवासी नेपाली समन्वय समिति (पिएनसीसीद्धारा) आयोजित कार्यक्रममा व्यक्त गरेको विचार)
तपाईको विचार लेख्नुहोस्