किन भयो विदेशभन्दा च्याउ प्यारो ?

‘मान्छेलाई सफलता तब मिल्छ जब उसले लगनशिल भएर मेहेनत गर्छ । सफलता पाउन धेरै लगानी गरेर ठुलै काममा हात हाल्नुपर्छ भन्ने पनि छैन ।’ टुकुचा तरकारी बजारमा च्याउ बेच्दै गरेका उजय शाही भन्छन्–‘मैंले च्याउ बेचेरै गुजारा गर्छु भन्ने सोचेर काम सुरु गरें अहिले साँच्चै भएको पनि त्यस्तै छ ।’

जतिबेला उनले च्याउ विक्रिको काम सुरु गरे त्यतिबेला च्याउ भन्ने बित्तिकै मान्छेहरु दुई हात पर पुग्थे । उजय सम्झिन्छन्, च्याउ किन्न आएका मान्छेहरु च्याउ देखेर यो खायो भने त मरिन्छ भन्दै कानेखुशी गर्दै पर–पर भाग्थे । धेरै मान्छेहरुमा च्याउ भनेको बिषालु हो भन्न सोचाई थियो । तर अहिले उनलाई त्यहि च्याउ बेचेर फुर्सद मिल्दैन । च्याउ तरकारीको स्रोत मात्र हैन, यसले त शरिरलाई पौष्टिकता दिनुका साथै फाईदा पनि पुग्छ भन्ने चेतना बिकास भएको उनले बताए ।

स्कुले केटाकेटी उमेर । उजय आजभन्दा झण्डै १६ बर्ष अघिको त्यो दिन सम्झन्छन् जुन दिन उनले आँफै कमाउनुपर्छ भन्ने आँट बटुले । घर छेउमै मासु बेच्ने एक जना आफन्तले च्याउ पनि बेच्न थालेपछि उनको फुर्सदको समयमा त्यहि च्याउ कुर्ने बानी बस्यो । त्यसको केहि समयपछि मासु बेच्ने आफन्तले च्याउ र मासु दुवै थोक बेच्न गारो भो भन्दै च्याउ बेच्ने जिम्मा उनलाई सुम्पे । कमाउने उपाय सोचीरहेका बेला काम हात लागेपछि उनी पनि दंग परे । अनि सुरु भयो उनको व्यबसाय ।

आजसम्म आफुलाई व्यबसायमा कुनै किसिमको अप्ठेरो नपरेको उनी बताउँछन् । व्यबसाय गरेको लामो समय भैसकेकाले उनका नियमित ग्राहक छन् । नयाँ ग्राहक नआए पनि आफ्नो व्यबसायमा कुनै असर नपुग्ने उनले बताए । कम व्यापार भएको दिनमा ५० किलो तथा अरु दिनमा सरदर एक क्विन्टल च्याउ उनको पसलबाट बिक्रि हुन्छ । आम्दानी पनि त्यहि अनुसारको छ । सबै खर्च कटाएर झण्डै दिनमा दुई हजार बचत हुने उनले बताए ।

उनले च्याउ सँगै बीऊ पनि बिक्रि सुरु गरेका छन् । च्याउ खेती गर्न चाहने किसानका लागि बीऊको कारोबार सुरु गरेको उनले बताए ।

पसल दुई सिफ्टमा चल्छ । उनि बिहान ४ बजे आईपुग्छन् र ११ बजेसम्म बस्छन् । दिउँसो भने ४ बजे आउँछन् अनि ८ बजे फर्कन्छन् । बिचको बाँकि समय आफ्नो व्यक्तिगत काम र परिवारका लागि छुट्याउने गरेको उजय बताउँछन् ।

आफ्ना साथीभाईको लहैलहैमा कहिलेकाँहि विदेश जानुपर्छकि भन्ने सोच पनि आएको उनले बताए । तर विदेशमा कमाएभन्दा यतै राम्रो कमाई भएकाले आफुले कहिल्यै त्यो बाटो नरोजेको उनी प्रष्ट पार्छन् । उनि भन्छन्–‘विदेश भनेजस्तो सजिलो छैन । त्यहाँ यहाँको भन्दा बढी मेहेनत गर्दापनि यत्तिको कमाई गर्न सकिदैन । र, मैंले यहाँ गरेकै काम त्यहाँ गर्न पाईन्छ भन्ने पनि छैन । त्यसैले कामका लागि कहिल्यै विदेश जान्छु जस्तो लाग्दैन ।’

उनी आफुजस्तै युवाहरुलाई कुनै एउटा काममा लागिरहन सुझाब दिन्छन् । जुन काम गरेपनि लगनशिल भएर त्यसैलाई निरन्तरता दिने हो भने सफलता मिल्ने उनको बुझाई छ ।

विनोदकुमार चौलागाई, काठमाडौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: