माछा बेच्दै, क्याम्पस पढ्दै

‘सुरुका दुई–तीन हप्ता बिना ड्रेस क्याम्पस गएँ । सरहरुले ड्रेस अनिबार्य छ, लगाउने गर्नु भनेपछि एक हप्ता पढ्नै गइन ।’ एक बर्ष अघिको घटना सम्झदै थिइन् मोरङ, बबिया बिर्ता–३ गोहिगाडाकी प्रतिमा चौधरी ।

उनका आँखा रसाए, बोलि मलिन भयो । एकैछिन चुप्प लागेर आँशु लुकाउन खोजिन् तर सकिनन् । आँखामा अटेनन् आँशु, बरर्र खसिहाल्यो । हत्त नपत्त हत्केलाले आँखा छोपिन र बिस्तारै मिचिन ।

सन्नाटा छायो । न उनी बोल्न सकिन् न त म नै । नरमाइलो भयो । एकछिनपछि सम्हालिंदै उनले थपिन ‘ क्याम्पसको नियम सरहरुले भनेको पनि ठिकै हो । तर, मेरो आफ्नै बाध्यता थियो । न क्याम्पसको नियम पालन गर्न सकें न त यथार्थ भनेर क्याम्पस जानै सकें । अरु ड्रेस लगाएर क्याम्पस गएको टुलुटुलु हेरेर बस्थें ।’ कुरा अझै उनका दुःखकै थिए ।

उनलाई लाग्छ आफ्नो विगत सुनाउँदा कतिपयलाई विश्वास पनि नलाग्ला । तर उनले भोगिकी नै त्यहि हुन् । क्याम्पसको पोषाक नहुँदा उनी हाँसको बथानमा बकुल्लो जस्तै भएकी थिइन् रे । तर जति प्रयास गरे पनि क्याम्पसको पोषाक सिलाउने उनको अवस्था थिएन । उनीसँग कपडा किन्ने पैसा नै थिएन ।

तर, २१/२२ दिनपछि हाटमा माछा बेच्दा भएको नाफा जम्मा गरेर उनले ४ सय बनाइन् । अनी त्यहि पैसाले उनले कपडा किन्न सफल भइन् । र, २ सय ज्याला तिरेर ड्रेस सिलाएपछि उनको फेरी क्याम्पस यात्रा चालु भयो । उनी सम्झिन्छिन् ड्रेस लगाएर क्याम्पस जाँदाको खुसी भनेर साध्य छैन ।

उनकै उमेरका अरु धेरैले त्यसरी हाटमा माछा बेच्न लाज मान्छन् । तर उनका अघिल्तीर बाध्यता थियो र त्यहि बाध्यता अवशर पनि बन्दै थियो । त्यसैले उनले कुनै लाज संकोच नमानी हाटमा माछा बेच्न थालिन् ।

हुन त माछा बेच्ने काम उनका लागि नौलो थिएन । उनका बुबाले पहिले देखि नै त्यहि गर्थे । बुबाको निधनपछि आमाले त्यसलाई अघि बढाइन् । कहिलेकहि घरमा आएका ग्राहकलाई उनले पनि बेच्थिन् । तर, हाटमा लगेर भनें बेचेकी थिइनन् । अप्ठ्यारो लाग्यो त्यसैले पहिलो दिन दाजुलाई लिएर गइन् । उनले जोख्ने र काट्ने काम गरिन् । दाजुले पैसा लिए । अर्को दिन दाजु छेउमै बसे, सवै काम उनैले गरिन् । त्यसपछि उनलार्ई आँट आयो एक्लै जान थालिन् ।

उनी भन्छिन् ‘दिन बितेको पत्तै हुँदो रहेनछ बर्ष दिन बितिसकेछ । सुरुसुरुमा मेरो काम देखेर अनौठो मान्दै फर्किफर्की हेर्दथे । तिमी त क्याम्पस पढ्ने होइन ? पढ्न छोडेकी हो ? यो भन्दा चिया–नास्ताको पसल गरेको भए हुन्थ्यो नि धेरैले यस्तैै भन्थे ।’

Pratima 1

उनलाई हाटमा भेट्ने क्याम्पसका साथिहरु पनि उनको काम देखेर छक्क पर्थे रे । ‘ए तिमी त यस्तो काम पो गर्दिरहेछौ’ भन्दथे । ‘हाम्रो समाज नै यस्तै छ, नभनुन् पनि कसरी, तर म सहजै उनीहरुको कुरालाई पचाइदिन्थें’ उनी भन्छिन् ।

तर उनलाई पनि सजिलो त कहाँ थियो र ? तर, उनको भन्दा धेरै घरमा असजिलो थियो । त्यसैले उनको विकल्प पनि त थिएन । उनका दाजु फ्याक्ट्रीमा मजदुरी गर्ने भएकाले तलव थोरै थियो । आमा एक्लैको कमाइले घरब्यवहार र उनको पढाइको खर्च जुटाउन सम्भवै थिएन । त्यसैले भन्नेले भन्दै गरे । तर, उनले वास्तै गरिनन् । उनी भन्छिन् ‘अहिले सोच्छु ठिक गरेछु । काम गरि खान के को लाज ?’

उनै प्रतिमा हाल मोरंगको होक्लाबारी स्थीत श्री उच्च मावमा व्यवस्थापन संकायमा १२ कक्षामा पढिरहेकी छिन । पढाइसंगै प्रत्येक मंगलबार र शुक्रबार बबिया बिर्ता –४ दौलतपुरमा लाग्ने हाटमा दुईबजेदेखि साँझ छ/सात बजेसम्म उनी माछा बेच्छिन् । माछा बेच्दै क्याम्पस पढ्दै गर्ने प्रतिमा धेरैका लागि प्रेरणा बनेकी छिन । छोरीको काम देखेर आमा हटरकुमारी पनि दङ्ग छिन ।

हटरकुमारीले भनिन् ‘श्रीमानको मृत्यु नसोचेको घटना घट्यो । कामबाट साँझ घर फर्कदै गर्दा घरै अगाडि खम्बामा साइकल ठोकिएर लड्नु भयो । मान्छे नहरमा, साइकल अर्काेतिर र माछा बोक्ने हण्डी अलिक पर थियो । पेटमाथि हात राखेर ऐया ऐया गर्न थालेपछि नजिकैको औषधी पसलमा लग्यौ । तुरुन्त बिराटनगर लानु भनेपछि गाडी खोज्यौ । तर, साँझ भएकोले लान सकिएन । भोलिपल्ट बिहानै नोबेल अस्पताल पु¥यायौ । एक दिन उपचार गरेपछि यहाँ हुदैन धरान लानु भने । त्यसपछि धरान, घोपा क्याम्प पुर्यायौं। तर, उपचार गर्दागर्दै २०७० साल बैसाख १५ गते अस्पतामै उनको निधन भयो । भएको थोरै पैसा औषधी उपचारमा सकियो । उल्टै २० हजार ऋणको भार थपियो ।’

श्रीमान् वितेपछि र ऋण लागेपछि माछा बेच्ने पैसा भएन । त्यसैले झण्डै दुई महिना उनले माछा बेच्न सकिनन् । श्रीमानले माछा ल्याउने गरेको पसलबाट दश/पध्र किलो माछा उधारोमा पाएपछि उनले व्यवसाय अघि बढाइन् । त्यसमा प्लान नेपालले साइकल, दुईवटा हण्डी, ढक तराजु र केहि माछा सहयोग गरेपछि प्रतिमाले पनि माछा बेच्न थालिन् । त्यसपछिका दिनमा उनीहरुलाई रकमको त्यसरी अभाव भएको छैन । आमा छोरीको माछाको व्यापार र दाजुको कारखानाको कामले गुजारा चलिरहेको छ ।

प्रतिमा हप्तामा पन्ध्रदेखि बिस किलोसम्म माछा बेच्छिन् । साउन, भदौ बाहेकको समयमा अझ बढी विक्रि हुन्छ । जाडोमा अझ धेरै । अव उनी अझ धेरै माछा कसरी बेच्न सकिएला भनेर उपाय खोज्दैछिन् । किनकी उनलाई कम्प्युटर सिक्नु पनि त छ ।

राजन पौडेल, बिराटनगर

तपाईलाई कस्तो लाग्यो ? तपाईको विचार लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: