श्रीमान् बिना जीवन चलाउन महिलालाई मुस्कील हुन्छ भन्ने नेपाली समाजमा परम्परागत सोचाई छ । तर, श्रीमान्संग छुट्टीएर पनि प्रगति गर्न सकिन्छ भन्ने उदाहरणको गतिलो पात्र बनेकी छिन् पूर्वी नेपालको दोपाने ७, उदयपुरकी मन्जु रानाभाट ।
२० बर्ष अघि गाउँकै छत्रसिंह रानाभाटसंग प्रेम विवाह गरेकी मन्जुको सपना छत्रसिंहसंगै जीवन बिताउने थियो । सुरुमा रानाभाट दम्पतीको जीवन सुखमय नै थियो । तर, जव कान्छो छोरा जन्मियो तव मञ्जुका सुरु भए दुःखका दिन ।
१२ दिनकी सुत्केरी श्रीमतीलाई रक्सीको झोंकमा कुटेर उनका श्रीमानले आफ्नो राक्षसीपन देखाए । दुई बर्षसम्म उनले श्रीमानको चरम यातना सहेरै बसिन् ।
तर, अति नै भएपछि उनको जीवनले नयाँ मोड लियो र अन्ततः सम्बन्ध बिच्छेदमा गएर जीवनको एउटा अध्याय नै समाप्त भयो । एक किसिमले उनको भविष्यमा कालो बादल मडारियो ।
श्रीमानसँग अलग भएकी उनी माइतीको शरणमा गइन् । ६ महिनापछि दाइभाउजुको असह्य व्यहारबाट आजित उनी केही गर्नुपर्छ भनेर सदरमुकाम गाइघाट छिरिन् अनि सुरु भए उनका संघर्षमा दिन ।
२ बर्षसम्म ज्यामी काम गरेर आफू र दुई छोराको जीवन गुजारेको उनी बताउँछिन ।
पछि सयकडा ३ मा ९० हजार रुपैंया ऋण काढेर मलेसिया आउन भन्दै उनी काठमाडौं हान्निइन् ।
दलालको फन्दामा परेकी उनी भारतको नयाँ दिल्ली हुँदै मलेसियासम्म आइपुगिन् ।
तर दुःखीलाई दुःखले कहिं छोड्दैन भने झैं उनलाई मलेसियामा पनि दुःखले नै पर्खिरहेको थियो । उनले सुरुमा मलेसियामा पनि खानुसम्म गोता खाइन् । यहाँको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले पहिले १५ हजार कमाउँथिन् जुन अहिले बढेर ५० हजार पुगेको छ ।
पैसा कमाउन थालेपछी उनको जीवनको रंग नै फेरिएको छ । उनले काठमाडौ र गाइघाटमा घडेरी किनेकी छिन् भने दुई छोरालाई गाइघाटमा नाम चलेका निजी बिद्यालयमा पढाएकी छिन् । उनी भन्छिन् ‘मैले श्रीमान्संग सम्बन्ध बिच्छेद गरेर प्रगि गरें । अब छोराहरुको भविष्यको मात्रै चिन्ता छ ।’
आर्थिक हैसियत बलियो बन्दै गएपछि उनले अब आफ्ना दुःखका दिन गएको अनुभुती गरेकी छिन् । सुरुमा लोग्नेले छोडेकी भनेर हेप्नेहरु नै अहिले नजिक हुन थालेको उनको अनुभव छ ।
काम गर्दै गएपछि कम्पनीमा उनको हैसियत पनि बढेको छ । अहिले उनी ३० जना कामदार चलाउने सुपरभाइजर भएकी छिन् । काममा सन्तुष्टि मिलेको छ, अनी कमाईमा पनि ।
तर यति हुँदा हुँदै पनि कहिले काहिं परदेशको बसाईले मनपेट पोल्छ । आफ्ना मुटुका टुक्राजस्तै छोरा नेपालमा छोडेर मलेसिया बस्नुपर्दा कहिले काहिं घर फर्किहालौं जस्तो हुन्छ । अव त परदेशको बसाई पनि लामै भयो । त्यसैले अब उनी चाँडै नेपाल फर्केर केही व्यवसाय गर्ने मनस्थीतीमा पुगेकी छिन् ।
संजिव दाहाल, मलेसिया