उनी छुटे कतारको जेलबाट, अनी पोखियो खुसी ..

दोहा (कतार), पुस ११ – मृत्युदण्डको फैसला घटाएर अदालत्ले १५ वर्षे जेल सजाय तोकेपछि कैदी जीवन बिताइरहेका सिरहा बेलहा-७, लक्ष्मीनियाका ४० बर्षिय चन्द्रशेखर यादवलाई कतार सरकारले राष्ट्रिय दिवसका अवसरमा बाँकी सजाय पनि छुट दिएको छ । कतारको सेन्टर जेलबाट छुटेका उनले ट्राभल डकुमेन्ट बनाई स्वदेश र्फकन नेपाली दूतावासमा प्रक्रिया अघि बढाएका छन् ।

हत्या मुद्दामा मृत्युदण्डको फैसला पाएका यादवलाई कतारको सर्वोच्च अदालतले २०१० डिसेम्बर २० मा अर्को फैसला गर्दै जीवनदान दिएर १५ वर्षे काराबास तोकेको थियो । १२ वर्ष जेलमा बिताइसकेका उनलाई आममाफी दिएपछि उनी ३ वर्ष पहिल्यै रिहा भएका हुन् । इन्डोनेसियाली युवतीलाई हत्या अभियोगमा चन्द्रशेखर र दुई भारतीय नागरिक सन् २००३ देखि कतार कारागारमा थिए ।

‘म जेलबाट बाहिर निस्केको छु,’ सोमबार आफन्त सिरहाका अगुवा सकिर अलीलाई सम्पर्क गर्दै उनले भने, ‘कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा माफी दिएको छ ।’ माफी नपाएको भए उनले २०१८ डिसेम्बर २० सम्म जेल बस्नुपथ्र्यो । कतारका तत्कालीन राजदूत डा.सूर्यनाथ मिश्रले उनको बाँकी कैद माफीका लागि पनि अनुरोध गरेका थिए । ‘सास भएसम्म आस हुन्छ भनेर निरन्तर लडिरह्यौं, मृत्युदण्डबाट जोगिएका उनी बाँकी कैद पनि माफ पाएर र्फकने खबरले हषिर्त छु,’ मिश्रले भने, ‘कतार सरकारलाई धन्यवाद ।’

मृत्युदण्डबाट जोगाउन पहल

इन्डोनेसियाली एक युवतीलाई हत्या गरेको अभियोगमा २००३ देखि कारागारमा रहेका उनका साथै भारतीय नागरिकहरू श्रीधरण मणिकान्तन र महादेवन उनिकृष्णलाई कतारको तल्लो अदालतले २००६ नोभेम्बर ३० मा मृत्युदण्डको फैसला सुनाएको थियो । तीनै जनालाई इन्डोनेसियन युवतीको हत्या गरी बक्रा तटमा फालेको अभियोग लागेको थियो । ती युवती हाउसमेड रहेको भनिए पनि को हुन् भन्ने अझै स्पष्ट छैन ।

अभियुक्तहरूले उनलाई जबर्जस्ती यौन क्रियाकलापमा लगाउन खोजेर हत्या गरेको आरोप लागेको थियो । ट्याक्सीचालक पेसामा संग्लन मणिकान्त र उनिकृष्ण पनि मृत्युदण्डबाट बचेका छन् । हत्या अभियोगमा थुनामा परेका एक नेपाली बुद्धिमान गुरुङ दुई वर्ष जेल र दुई हजार रियाल जरिवाना तिरेर पहिले नै स्वदेश फर्किएका थिए ।

चन्द्रशेखरको मृत्युदण्ड रोक्न नेपाली दूतावासले कतारी वकिल मोना अब्दुल रहमानमार्फत तल्लो अदालत, पुनरावेदन र सर्वोच्चमा पटकपटक मुद्दा लडदै आएकोमा छैटौं पटकमा सर्वोच्चबाट उनको जीवनरक्षा भएको थियो । उनको जीवनरक्षाका लागि दुईपटक सर्वोच्चमा उनका वकिलले निवेदन गरेकोमा सर्वोच्चले दुईपटक नै पुनर्विचार गर्नु भनेर पुनरावेदन पठाइदिएको थियो । पुनरावेदनले दुवैपटक तल्लो अदालतको निर्णय सदर गर्दै मृत्युदण्ड नै फैसला सुनाएको थियो । फेरि दूतावासले अन्तिम प्रयासस्वरूप सर्वोच्चमा निवेदन गरेको थियो ।

नेपालीको साथ

चन्द्रशेखरका तर्फबाट मुद्दा लड्ने वकिल मोना अब्दुल रहमान हुन् । उनले खेलेको भूमिका नेपाली समुदायमा प्रशंसनीय छ । उनले यो मुद्दालाई आफूले पाउने शुल्कसँग मात्रै हेरेकी थिइनन् । चन्द्रशेखरको जीवनसँग समेत हेरेकी थिइन् । यादवको मुद्दाका लागि आवश्यक रकम जुटाउन कतारमा क्रियाशील संघसंस्थाको पनि ठूलो योगदान रह्यो । त्यसबाहेक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पनि सहयोग भएको छ ।

चन्द्रशेखरको मुद्दाका लागि झन्डै ७५ हजार रियाल खर्च भएको छ । दूतावासको आग्रहमा मोनाले सर्वोच्चमा एकपटक लडेको रकम लिइनन् भने तल्लो अदालतमा लड्न सरकारले नै वकिल राख्ने हुँदा शुल्क तिर्नुपरेको थिएन । सर्वोच्चमा मुद्दा लडदा यहाँ वकिलहरूले सामान्यतः २५ हजारदेखि ४० हजार रियालसम्म शुल्क लिने गर्छन् ।

मुद्दा लड्न यहाँ कतारी वकिल हुनुपर्ने प्रावधान छ । लागेको रकममध्ये १५ हजार रियाल बोर्डका तर्फबाट र अरू नेपाली समुदायले उठाएर दिएका थिए । मोनाले प्रशंसनीय काम गरेको भन्दै दूतावासले सम्मान पनि गरेको थियो । दूतावासले चन्द्रशेखरको जीवन रक्षार्थ मुद्दाको प्रक्रियामा आर्थिक तथा नैतिक सहयोग प्रदान गर्ने सम्पूर्ण नेपाली सामाजिक संघसंस्था, बुद्धिजीवी, व्यवसायी, पत्रकार र शुभचिन्तकलाई धन्यवाद समेत दिएको थियो ।

परिवार भेट्न आतुर

कतार कारागारमा रहेका बाबु चन्द्रशेखर यादव छुटेपछि बेल्हा-७ स्थित चन्द्रशेखर यादवको घरमा सोमबार खुसीको सीमा रहेन । उनकी पत्नी रामदुलारीदेवीले पति आउने खबरले जीवनै जितेको जस्तो लागेको बताइन् ।

‘सकुशल मुक्ति होस् भनेर सधैं भगवान्सँग प्रार्थना गर्थें,’ उनले फोनमा भनिन्, ‘आखिर प्रार्थना सफल भयो ।’ उनका दुई छोरा र दुई छोरी छन् । चन्द्रशेखरलाई छुटाउन परिवारले जसोतसो ५० हजार रुपैयाँ दुई वर्षअघि पठाएको थियो ।

कतारमै रहेका चन्द्रशेखरका भतिजाको सबै कमाइ पनि उनकै मुद्दाका लागि खर्च भएको चन्द्रशेखरका दाजु लवकुमारले बताए । चन्द्रशेखर पक्राउ परेपछि छोरा अनुजको पढाइ कक्षा ८ मै टुंगिएको थियो । जेठी छोरी सरितालाई कक्षा ६ मा पढ्दै गर्दा परिवारले विवाह गरिदियो । माहिली छोरी ९ र कान्छो छोरा विवेक ६ कक्षामा पढ्दै छन् । चन्द्रशेखरको परिवारको लालनपालन उनका दाजु लवकुमारले गर्दै आएको स्थानीयले बताए ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय