महोत्तरी, पुस ७ विदेश पुगेका पतिले फोनबाटै तलाक दिन थालेपछि स्थानीय मुस्लिम महिला पीडित बनेका छन् । मुस्लिम समुदायमा तीनपटक तलाक भनिदिएमा सम्वन्ध विच्छेद भएको मानिन्छ ।
मोबाइलबाटै तलाक पाएपछि पर्सादेवाड ७ की हस्मुना खातुन दुई छोरछोरीसाथ बिचल्लीमा छिन् । गाउँकै मुस्तकिम शेषसँग उनको दशकअघि बिहे भएको थियो । तीन वर्षअघि मुस्तकिम साउदी अरब गएका थिए । कमाएर आएपछि नयाँ घर बनाउने, जग्गा किन्ने, छोराछोरी पढाउने र गहना हाल्ने सपना दुवैको थियो । तर विदेश उडेको ६ महिनामै मुस्तकिमले साउदीबाट फोन गरेर तलाक दिए ।
फोन आएपछि खर्च पठाए होलान् भन्ने आसमा बहिनीको हातबाट हतारहतार मोबाइल लिएँ, तर तँ मेरो लायक छैनस् भन्दै ३ पटक तलाक भन्यो, हस्मुनाले रुँदै भनिन् ।
तलाक दिएलगत्तै सासू र खलिया सासू (सानिमा सासू) ले उनलाई नाबालक छोराछोरीसाथ घर निकाला गरे । त्यसयता उनी माइतीमा छिन् । लोग्नेले न खर्च दिएको छ न छोराछोरीको चासो राखेको छ । बनिबुतो गरेर गुजारा चलाएका बुवा अबदुल गफुर शेषको बोझ बन्नुपरेको दुखेसो उनले सुनाइन् ।
फोनबाटै तलाक पाएर पीडित भएकी अर्की महिला हुन्, ५ सन्तानकी आमा खुस्मुदा खातुन । पर्सादेवाड ७ कै खुस्मुदालाई मामाघर गएको भन्दै श्रीमान् मुख्तार शेषले मुम्बईबाट फोन गरेर तलाक दिए । मुख्तार मुम्बईमा कपडामा सितारा बुन्ने काम गर्छन् । काखे छोरो बिरामी परेपछि उनी उपचारका लागि भारतको गोडहारीस्थित मामाघर गएकी थिइन् । त्यति कारणलाई लिएर बुझ्दै नबुझी मोबाइलबाटै तलाक भन्यो उनले भनिन्, वर्ष दिन भो घर निकाला गरेको, मैले के गल्ती गरें र यत्रो सजाय दियो ?
सोही गाविस ५ की शेष हसिना खातुनका श्रीमानले पनि ७ महिनाअघि मुम्बईबाट फोन गरेर तलाक दिएपछि तीन छोराछोरीसहित उनी बिचल्लीमा छिन् । गरिबीका कारण उनी गाउँकै इँटाभट्टामा मजदुरी गर्छिन् । काम जोखिमको भए पनि पारिश्रमिकबापत दैनिक डेढ सय रुपैयाँ पाउँछिन् । त्यति पैसाबाट छोराछोरीलाई भरपेट खान पनि मुस्किल छ । ठूली छोरी बिहे गर्ने उमेरकी भईसकी, कमाइले खान पनि पुग्दैन, हसिनाले पीडा सुनाइन्, तलाक भनेदेखि खर्च पनि पठाउँदैन । म एक्लीले कसरी के गर्ने ?
अधिकांश स्थानीय मुस्लिम महिलाको बिहे दर्ता र छोराछोरीको जन्मदर्तासमेत गरिएको छैन, जसका कारण कानुनी लडाइँका लागि समेत उनीहरूलाई अप्ठ्यारो छ ।
हस्मुनाले तलाकपछि अंश मुद्दा लडेर जितिन् पनि । तर मुद्दा जितेको वर्ष दिन भइसक्दा पनि बिहे दर्ता अभावमा नागरिकता नबन्दा अंश लिन सकेकी छैनन् । दुई वर्षदेखि छोरी कैनाथ खातुन गाउँकै राष्ट्रिय निमाविमा पढ्न जान्छिन्, तर जन्म दर्ता नहुँदा विद्यालयले नाम नलेखिदिएको उनले दुखेसो गरिन् ।
हसिनाले पनि छोराछोरीको जन्मदर्ता नभएकाले स्कुल पठाउन नसकेको बताइन् ।
कान्तिपुरबाट