‘ठगि रोक्न बैंक मार्फत रकम बुझाउने व्यवस्था गर’

काठमाडौं, पुष २ बैदेशिक रोजगारीमा भइरहेको ठगि रोक्न मेनपावरलाई भुक्तान गर्ने रकम बैंक मार्फत दिने व्यवस्था गर्न सुरक्षित बैदेशिक रोजगारको क्षेत्रका अभियन्ताहरुले बताएका छन् ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को अगुवाईमा काठमाडौंमा आयोजित छलफलका सहभागिहरुले बैदेशिक रोजगारको क्षेत्रमा देखिएको बेथिति रोक्न तत्काल गर्नुपर्ने कामको सूचि नै तयार पारेका थिए ।

कार्यक्रमका सहभागिहरुले सामुहिक छलफलपछि तयार पारेको बुँदाहरुमा बैंक मार्फत भुक्तानीसँगै सरकारले सुरक्षित नयाँ गन्तव्यको खोजि गर्नुपर्ने बताए । यसैगरी मेनपावर कम्पनीहरुले गरिरहेको ठगिका बारेमा आम नागरिकलाई जानकारी नहुने भएका कारण ठग्ने मेनपावर कम्पनीहरुको विवरण अनलाइन मार्फत नियमित रुपमा सार्वजनिक गर्न पनि सुझाव दिए ।

यसैगरी नेपालका श्रम सम्वद्ध निकाय र कानून महिला मैत्री नभएका कारण त्यसमा सुधारको आवश्यकता पनि कार्यक्रमका सहभागिहरुले औल्याएका थिए । अवको ५ बर्ष पछि कक्षा १० सम्म नपढेका व्यक्तिलाई बैदेशिक रोजगारीमा जान रोक्ने हो भनें त्यसले शिक्षाको अवस्थामा पनि सुधार हुने र ठगि नियन्त्रणमा पनि सघाउ पुग्नेमा पनि कार्यक्रमका सहभागिले जोड दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पिएनसीसीका उपाध्यक्ष कुलप्रसाद कार्कीले नेपालीको बैदेशिक रोजगारको यात्रा सुरु भएदेखि नै ठगिको सिलसिला चलिरहेको भन्दै त्यसमा नियन्त्रण हुन नसकेको बताए ।

बैदेशिक रोजगार ऐन आएको ७ बर्ष वितिसक्दा समेत कामदार पीडित भइरहेको भन्दै कार्कीले किन ऐन कार्यान्वयन हुन सकेन भनेर खोजिनीति गरिनुपर्नेमा जोड दिए । उनले एजेण्टका पनि सव एजेण्ट राख्ने गरिएका कारण ठगिको श्रृंखला अझ बढेको पनि बताए । प्रमाण पुग्ने कागजात नहुने भएका कारण पीडित कामदार सधैं ठगिमा पर्ने गरेको भन्दै कार्कीले त्यसमा सुधार ल्याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले व्यवसायीहरुले चाहेर पनि राहदानी संकलन गर्न सक्ने अवस्था नभएको भन्दै ठगिको मूल श्रोत एजेण्टहरु रहेको बताए । उनले मेनपावर कम्पनीबाट स्वीकृति लिएका एकजना एजेण्टले गाउँमा १० जनासम्मलाई मोटरसाइकल दिएर पासपोर्ट संकलन गर्न खटाएको भन्दै नयाँ कानूनमा एजेण्टको व्यवस्था हटाएर मेनपावर कम्पनीहरुका शाखा कार्यालय राख्ने प्रयास गरिरहेको बताए ।

समस्यामा परेर नेपाल फर्काइएका कामदारका बारेमा बैदेशिक रोजगार व्यवसायी संघसँग समेत सहकार्य गर्ने हो भनें गल्ती गर्ने व्यवसायीलाई आचारसंहित अनुरुप कारवाही गर्न आफूहरुले पनि सघाउने प्रतिवद्धता उपाध्यक्ष गैरेले जनाए ।

पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले नेपालका कानूनहहरु लोककल्याणकारी दृष्टिकोणबाट निर्माण गरिएको भन्दै तिनिहरुलाई अधिकारमुखि बनाइनुपर्नेमा जोड दिइन् । कामदारको न्यायमा पहुँच नभएको भन्दै त्यसलाई बढाउन आवश्यक रहेकोमा उनले जोड दिइन् ।

पिएनसीसीका अध्यक्ष अर्जुन पौडेलले सामुहिक प्रयत्नबाट नै नेपालीको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित बनाउन सकिने भन्दै त्यसका लागि हातेमालो अझ कसिलो बनाउनु आवश्यक रहेको औंल्याए । उनले कार्यक्रममा निकालिएको निचोडलाई राष्टिय मानव अधिकार आयोगमा बुझाइने समेत जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: