कोरिया जाने कामदारको लिष्ट बनाउन थालियो, सुरुमा २२ सयको नाम

काठमाडौं दक्षिण कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ। भाषा परीक्षा पास गरेकाको सम्पूर्ण व्यक्तिगत विवरण तयार पार्ने काम रोस्टर हो। नेपालस्थित ईपीएस कोरिया शाखाले भाषा तथा स्वास्थ्य परीक्षण उत्तीर्ण भएका कामदारको रोस्टर तयार पारी कोरियाको मानव संसाधन विभागलाई बुझाउने गर्छ। यही रोस्टरका आधारमा कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन्। ईपीएस कोरिया शाखाका अनुसार गत असोजमा भाषा परीक्षा दिई पास भएकामध्ये २२ सय जनाको रोस्टर तयार पारी कोरियामा पठाइसकिएको छ। कुल तीन हजार ६ सय ६३ जनाले भाषा परीक्षा पास गरेकोमा २२ सय जनाको रोस्टर बनाउने काम सकिएको हो। बाँकीको पनि द्रुतगतिमा रोस्टर बनाउने काम भइरहेको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। भाषा परीक्षा, स्वास्थ्य परीक्षण र प्रहरी रिपोर्ट आएपछि जाने कामदारले जब एप्लिकेसन (जागिरका लागि आवेदन) दिनुपर्छ। सोही आवेदनका आधारमा रोस्टर भरिन्छ। दुई साताभित्रै रोस्टर भर्ने काम सम्पन्न हुने भएकाले त्यसपछि कामदार पठाउने क्रम सुरु हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। माघ तेस्रो साता (फेब्रुअरी १०) देखि कामदार पठाउन थालिनेछ। यसपटक स्वास्थ्य परीक्षणमा एकजना पनि फेल भएका छैनन्। विगतमा स्वास्थ्य परीक्षणमा दर्जनौं परीक्षार्थी फेल हुने गरेका थिए। ईपीएसका अनुसार प्रहरी रिपोर्टमा भने एकजनाको अब्जेक्सन (असहमति) आएको छ। प्रहरी रिपोर्टमा अब्जेक्सन गरिएका व्यक्तिले कोरिया जान पाउने छैनन्। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बाँस्तोलाले २२ सय जनाको रोस्टर तयार भइसकेकाले अब कामदार पठाउनेतर्फ ध्यान दिइने जानकारी दिए। नेपालले पठाएको रोस्टरमा कोरियाको मानव संशाधन विभागले सूक्ष्म अध्ययन गरिरहेको छ उनले भने ुजनवरीको अन्तिम साता वा त्यो सम्भव नभएमा फेब्रुअरी पहिलो तारेखदेखि कामदार पठाउन सुरु हुनेछ। कोरियाले औद्योगिक र कृषि क्षेत्रमा कामदार लिने गरेको छ। यसपटक आवेदन दिएकामा ४९ प्रतिशत कृषि र ५१ प्रतिशत औद्योगिक क्षेत्रका छन्। औद्योगिकको तुलनामा कृषि क्षेत्रमा कामदारको माग कम छ। तुलनात्मकरूपमा कृषिमा कामसमेत गाह्रो हुने गएका कामदार बताउँछन्। भाषा परीक्षा पास हुनेमा पनि औद्योगिक क्षेत्रको तुलनामा कृषिमा निकै कम छ। कृषिमा जम्मा आठ सय ९५ जना पास भएका छन् भने बाँकी सबै औद्योगिक क्षेत्रका हुन्। अघिल्लो वर्ष रोस्टरमा नाम राखिएका करिब ३१ सय जना कामदार अझै जान बाँकी छ। ईपीएस कोरिया शाखाका अनुसार गत वर्षका औद्योगिक क्षेत्रतर्फ आठ सय जना र कृषिका २३ सय जना कामदारले अहिलेसम्म जान पाएका छैनन्। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय