
काठमाडौं, भारतको झरखण्डमा चलिरहेको विधानसभाको मौका पारेर चाईबासा जिल्लाको जेलबाट मंगलवार १३ जना नक्सलवादी कैदी भागेका छन् । कैदी भाग्न थालेपछि प्रहरीले हानेको गोली लागेर ५ जनाको मृत्यु भएको छ ।
५४ जना कैदीलाई अदालतमा पेश गरेर जेल तर्फ लगिंदै थियो । जेलको मुख्य ढोका खुल्ला रहेका कारण कैदी भाग्न सफल भएको प्रहरीले बताएको छ । सामान्यतया जेलमा गाडी भित्र प्रवेश गर्ने वित्तिकै ढोका बन्द गर्ने गरिन्छ ।
तर मंगलवार त्यसो गरिएन । गाडी भित्र पसिसक्दा पनि मुख्य ढोका खुल्ला नै थियो । सवै कैदीको हात खोलिसकिएको अवस्थामा उनीहरुले खोर्सानीको धुलो बोकेर आए र प्रहरीको आँखामा हानेर भाग्न सफल भए ।
१८ जना कैदीले भाग्ने कोशिश गरेका थिए, जसमा १३ जना सफल भए । प्रहरीको कारवाहीमा ५ जना मारिएका छन् । उनीहरुको शव छरिएकै अवस्थामा रहेको र जेलको आसपास जाने अनुमति कसैलाई नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
५४ जना कैदीलाई लिएर आएको भ्यानमा केवल १० जना मात्र प्रहरी हुनुले पनि कैदी भाग्न सफल भएको बताइएको छ । कैदी भागेपछि जिल्लाको सीमाना सील गरिएको प्रहरीले बताएको छ । मुख्य सडकहरुमा पनि चेकजाँच निक्कै कडा बनाइएको छ ।
भागेका कैदीमाथि हत्या, लुट तथा अन्य अपराधको विभिन्न मुद्धा दर्ता गरिएको थियो । भागेका मध्ये केहि जन्मकैदको सजाय भोगिरहेका थिए । गोली नचलाइएको भएमा त्यहाँबाट अन्य धेरै कैदी फरार हुने प्रहरीले दावी गरेको छ ।