
सुर्खेत, कालिकोटको जीतेगडाबाट कैलालीको टिकापुरका लागि छुटेको रात्री बस भीरबाट खस्दा १२ जनाको मृत्यु भएको छ।आइतवार साँझ सुर्खेतको पोखरीकाँडास्थित कल्यानकाँधमा मध्यपश्चिम यातायातको ना.४ ख ६८५७ नम्बरको रात्री बस भीरबाट ८० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेर घाइते भएका पचास भन्दा बढीको उद्धार गरिएको छ।
घाइतेहरूको वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। रातको समय भएका कारण उद्धार कार्यमा कठिनाइ भएको र मृतकहरूको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार चालक र सहचालक फरार छन्। सुर्खेत र दैलेखबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ।
बसमा कति यात्रु थिए भन्ने बारेमा एकिन नभएकाले पनि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। घटनास्थलमा उद्धार कार्यमा संलग्न स्थानीय बासिन्दाका अनुसार साँझ साढे ६ बजे बस भीरबाट खसेको थियो। प्रारम्भिक जानकारी अनुसार कालिकोटबाट ५१ जनाको चलानी भएपनि चालकले दैलेखमा इन्ट्री गराउँदा ३० जना यात्रु रहेको बताएको पाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टबाट