काठमाडौं, एमएस्सी अध्ययनरत एक छात्राले आफूलाई बिवाह गर्न लगातार दवाव दिएपछि भारतको एक विश्वविद्यालयका एसिस्टेन्ट प्रोफेसरले आत्महत्या गरेका छन् । उनले रेलको अघिल्तिर हाम्फालेर आत्महत्या गरेका हुन् ।
प्रहरीले ति छात्रा र उनको परिवारका सदस्यलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । गणित विभागमा कार्यरत बलराज नामका ति एसिस्टेन्ट प्रोफेसर कमजोर आर्थिक अवस्थाको परिवारका सदस्य थिए ।
प्रहरीका अनुसार एमएस्सीको अन्तिम बर्षमा अध्ययनरत एक छात्राले बलराजलाई विवाहका लागि दवाव दिइरहेकी थिइन् । ति छात्राले आफूलाई विवाह नगरेमा जागिरबाट समेत निकाल्नसक्ने धम्की दिएकी थिइन् । बलराजले आफ्ना एक भाइलाई आफूलाई दवाव दिइएको र यसमा ति छात्राका परिवारका सदस्यले समेत साथ दिएको बताएका थिए ।
आर्थिक रुपमा निक्कै कमजोर परिवारका सदस्य बलराजले निक्कै मेहनत गरेर अध्ययन पूरा गरेका थिए । २६ बर्षको उमेरमा विश्वविद्यालयको जागिर पाएपछि उनीहरुले राहतको स्वास फेरेका थिए । तर बलराजले आत्महत्या गरेपछि परिवार संकटमा परेको जागरण दैनिकले लेखेको छ ।
विवाहका लागि दवाव दिने ति युवती कथित तल्लो जातिकी हुन् । त्यसैले बलराज उनीसँग विवाहका लागि राजी नभएको समाचारमा बताइएको छ । आत्महत्याको घटनापछि विश्वविद्यालयले समेत आन्तरिक रुपमा अध्ययन गराएको छ । अध्ययनमा ति युवतीले नाजायज रुपमा दवाव दिएको भेटिएको विश्वविद्यालयको गणित विभागका अध्यक्ष प्रो. जगदीश नन्दलले बताएका छन् ।