दिनमै सरदर चारवटा लाश विदेशबाट आउन थाल्यो

काठमाडौं, जोखिमपूर्ण कामका कारण विदेशमा नेपालीको मृत्यु हुने क्रम बढेको छ । कुनै सीप विनाको काममा वैदेशिक रोजगारीमा जाने क्रम अझ बढेपछि विदेशमा मृत्यु भएर नेपालमा लाश आउने दर बढेको देखिएको छ । गत बर्षसम्म दैनिक सरदर तीनवटा लाश आउने गरेकोमा हाल त्यो बढेर दैनिक चारवटा पुगेको छ ।

ग्रामिण क्षेत्रबाट अदक्ष श्रमिकका रुपमा वैदेशिक रोजगारीमा जाने नेपालीले विदेशमा न्यून आम्दानी हुने गाह्रो काम पाउने गरेको छन् । खुल्ला ठाउँमा जोखिमपूर्ण काम गर्नुपरेका कारण तथा हावापानी नमिल्दो खाडीका देशको काम नेपालीका लागि सहज नभएकाले नेपालीको मृत्यु हुने गरेको छ । बिदेसिने ८० प्रतिशत कामदार अदक्ष रहेका छन्। दुई प्रतिशत हाराहारीमा मात्र दक्ष कामदार बिदेसिने गर्छन्।

यसैबीच बितेको पाँच वर्षमा रोजगारीको खोजीमा २० लाखभन्दा बढी युवा विदेशिएका छन् । यसले स्वदेशमा रोजगारीको चरम अभाव रहेको प्रष्ट पार्छ । अन्नपूर्ण पोष्ट लेख्छ बिदेसिनेको संख्या हरेक बर्ष बढिरहेकाले सरकारले केही वर्षयता ल्याएको युवा केन्द्रित स्वरोजगारका विभिन्न कार्यक्रमसमेत प्रभावकारी नभएको देखिएको छ। विगत पाँच वर्षयताको आँकडा अध्ययन गर्दा हरेक पछिल्ला वर्षमा बिदेसिनेको संख्या बढेको छ। सरकारी अनुमति लिएरै बिदेसिने पाँच वर्षमा २० लाख नाघेका छन्। यसबाहेक अवैध तरिकाबाट रोजगारीको खोजीमा मुलुक छाड्नेको संख्या पनि ठूलो रहेको छ । सरकारको स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेको वास्तविक तथ्यांक छैन।

वैदेशिक रोजगार विभागले दिएको जानकारीअनुसार पाँच वर्षयता बिदेसिनेमा पुरुष र महिला दुवै बढेका छन्। तथ्यांकले रोजगारीको खोजीमा विदेश जाने महिलाको संख्या बढ्दो भए पनि पुरुषको तुलनामा भने संख्या नगन्य नै छ। गएको पाँच वर्षमा सरकारी अनुमति लिएर २० लाख ६ हजार एक सय ८७ जना नेपाली वैदेशिक रोजगारीमा गएकामा महिलाको संख्या एक लाख तीन सय २६ छ । बाँकी सबै पुरुष कामदार हुन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६६।६७ मा दुई लाख ८४ हजार ३८ जना पुरुष र १० हजार महिला कामदार वैदेशिक रोजगारीमा गएका थिए। यो संख्या २०७०।७१ मा आइपुग्दा ह्वात्तै बढेको देखिएको छ। आव २०७०। ७१ मा चार लाख ९२ हजार सात सय २४ जना पुरु ष र २९ हजार एक सय ५४ जना महिला कामदार बिदेसिएको सरकारको तथ्यांक छ। अहिले सबैभन्दा धेरै नेपाली कामदार मलेसियामा छन्। मलेसियामा करिब सात लाख नेपाली कार्यरत छन्। त्यसपछि कतार, संयुक्त अरब इमिरेट्सलगायतका खाडी मुलुकमा जाने बढी छन्। सरकारी अनुमति लिएर जानेको संख्या अहिलेसम्म ३५ लाख नाघेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय