कामको खोजीमा हुनुहुन्छ ? पाउनुभएन ? उपाय छन् शहरमा

तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ ।

यसरी नै तालिम लिएर काम सुरु गरिसकेका वा तालिम लिंदै उद्यमी बन्ने सपना देखिरहेका थुप्रै युवा भेटिन्छन् । तिनै मध्येका एक हुन् मोरङका दधिराम गौतम । उनी आल्मुनियम फेब्रिकेशनको व्यबसाय सुरु गर्ने योजना बुन्दैछन् ।

चार बर्ष अघि इटहरीमा आल्मुनियम फेब्रिकेशनमा लेभल १ को तालिम लिएपछि उनले यो क्षेत्रमा हात हालेका हुन् । सबै कुरा जानेर–बुझेर मात्र व्यबसाय थाल्ने सोच बनेका कारण तालिम पछि अहिले उनी अरुकोमा नै काम गर्छन् । चार बर्षको अनुभवले उनी राम्रै खारिएका छन् । तर यतिले मात्र पुगेको छैन उनलाई । यहि पेशालाई दीर्घकालिन बनाउने लक्ष्य राखेर उनी अहिले लेभल २ तालिम सिक्दैछन् ।

ललितपुरको पीस प्राविधिक तालिम केन्द्रमा अपग्रेडीङ तालिम लिंदै गरेका गौतम तालिम सकिएपछि आफ्नै ठाउँ पुगेर व्यवसाय सुरु गर्ने सोचमा छन् । यो तालिम पछि उनको बाटो फराकिलो पनि हुँदै गएको छ । आफुले जानेको काम सह–प्रशिक्षक भएर अरु युवालाई पनि सिकाईरहेका उनले अब प्रशिक्षकको भुमिकामा आफुलाई उभ्याउनेछन् ।

मोरङ, झापा र सुनसरी उनको कार्यक्षेत्र हो । काठको अभावका कारण अबका दिनमा आल्मुनियमको काम राम्रो फस्टाउनेमा उनी ढुक्क छन् । उनी भन्छन्, ‘अहिलेको बजार अनुसार चल्दो व्यबसायका रुपमा मैंले यो क्षेत्रमा हात हालेको हुँ ।’ सीप सिकेका दिनदेखि अहिलेसम्म खाली हात बस्नु नपरेको उनी बताउँछन् । सीप जानेर मात्र नहुने तर्क गर्दै उनी ठाउँ सुहाउँदो काम र आफुमा लगनशिलता चाहिने बताउँछन् । त्यहि भएरपनि उनले पहिला कामलाई बुझे अनि व्यबसाय गर्ने सोच बनाए ।

गौतमले केहि बर्ष अरुकोमा काम गरेर आफूलाई निखारेर मात्रै व्यवसायमा हात हाल्न खोजेपनि बालाजु सानोपुलमा बस्दैआएका चन्द्रकुमारी लिम्बु दम्पतीको कथा भनें अलिक फरक छ । उनीहरुले चाहिं आल्मुनियम फेब्रिकेशनको तालिम लिनेबित्तिकै थालेको व्यवसाय दिनप्रतिदिन उकालो लागिरहेको छ । एक बर्ष अघि चन्द्रकुमारीलाई श्रीमानले आफ्नै साथ लगाएर तालिम सिकाए । सुरुमा त उनलाई सक्छु जस्तो लागेको थिएन । साथीभाईले पनि महिलाले यस्तो काम गर्न सक्दैनन् भनेका थिए । तर उनले अठोट लिएर तालिम सकिन् । अहिले उनलाई सहि समयमा सहि निर्णय गरिएछ भन्ने लागेको छ ।

almunium-febrication

आफुले पनि काम जानेका कारण व्यबसाय चलाउन निकै सजिलो भएको उनी बताउँछिन् । श्रीमानले फिल्डको काम र आफुले पसल हेर्नेगरेको उनले बताईन् । उनीकहाँ अहिले दुईजना युवाले सिक्नेगरि नियमित काम गरिरहेका छन् भने आवश्यकता अनुसार काम जानेका मान्छेले पनि काम पाउँछन् । काम गर्दै जाँदा धेरै कुरा अझै सिक्न बाँकिरहेको जस्तो लागेपछि उनी अहिले उनी पनि लेभल २ को तालिम लिंदै छिन् । उनको पनि उद्देश्य प्रशिक्षक बन्ने र आफ्नो व्यवसायलाई अझ राम्रो बनाउने हो ।

DSC01060

देशका विभिन्न क्षेत्रबाट काम जानेका युवाहरुलाई अपग्रेडीङ सँगै प्रशिक्षक बनाउने उद्देश्यका साथ रोजगार कोषको सहयोगमा पीस प्राविधिक तालिम केन्द्रले अहिले युवाहरुलाई तालिम दिईरहेको छ । आल्मुनियम फेब्रिकेशनको तालिमको माग बढ्दै गएपछि लेभल १ सिकाउनका लागि लेभल २ जनशक्ति आवश्यक हुने भएकाले यस्तो तालिम सञ्चालन गरिएको प्रशिक्षक प्रकाशजंग थापाले बताए । उनीहरुलाई तालिम पछि ‘प्रशिक्षक प्रशिक्षण(टट)’ तालिम दिईने उनले बताए ।

विनोदकुमार चौलागाई, ललितपुर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय