असुरक्षित निर्माण क्षेत्र

काठमाडौं, केहि समय अघि ललितपुरमा एउटा घर बनाउने क्रममा चौथो तलाबाट खसेर सप्तरिका रञ्जित चौधरीको मृत्यु भयो । निर्माणको काम गरिरहेका चौधरी सुरक्षा साधन प्रयोग नगरि काममा लागेकाले अकस्मात खसेका थिए । उनको बिएण्डबी अस्पतालमा उपचार गर्दा गर्दै ज्यान गएको हो । क्षतिपुर्ती रकम बुझ्दै चौधरीको परिवार । चौधरीले जस्तै निर्माणको क्षेत्रमा काम गर्ने धेरै श्रमिकले सुरक्षा सामग्रि प्रयोग नगर्दा अकालमैं ज्यान गुमाउनु परिरहेको छ । यसरि दुर्घटनामा परि बर्षभरिमा कतिले ज्यान गुमाउछन् भन्ने तथ्याङ्क अहिलेसम्म कुनै निकाय सँग छैन । तर निर्माण क्षेत्रमा काम गरिरहेको ट्रेड युनियन क्युपेक नेपालका अनुसार २०७० साल फागुन देखि गएको असोज सम्ममा काम गर्दा गर्दै २४ श्रमिकले ज्यान गुमाएका थिए । यो तथ्यांक ज्यान गुमाएका परिवारले क्षतिपुर्तिका लागि सहयोग आव्हान गर्दै युनियनको सम्पर्कमा आएकाहरुको हो । यहि अबधिमा विभिन्न दुर्घटनामा परि घाईते हुनेहरुको संख्या भने ४२ थियो । क्युपेक नेपालका अध्यक्ष नरनाथ लुईटेल युनियनको सम्पर्क बाहिरका घटना यो भन्दा धेरै हुनसक्ने दाबी गर्छन् । ‘सानातिना दुर्घटना त सधैंजसो भइ नै रहन्छ ।’ उनि भन्छन्– ‘कार्यथलोमा श्रमिकलाई दुर्घटनाबाट जोगाउन काममा लाउनेले कहिल्यै ध्यान दिन्नन् ।’ श्रमिकहरुमा पनि चेतना स्तर कम रहेको उनी स्विकार गर्छन् । काम गर्न जानु अघि सुरक्षा सामग्रिको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने चेतना सबै श्रमिकले बुझिनसकेको उनको भनाई छ । काममा लगाउनेले दिएको सुरक्षा उपकरण घरमैं राखेर केहि श्रमिकहरु काममा जानेगरेको समेत आफुले देखेको उनी बताउँछन् ।

1239711_601249253305075_6450171511716017035_n

फाईल तस्विर ।

तर पछिल्लो समयमा श्रमिकहरुमा चेतना वृद्धि हुँदै गएको लुईटेलले बताए । दिएका सुरक्षा उपकरण तथा नपाईएमा मागेर हुन्छकी किनेर हुन्छ श्रमिकले प्रयोगमा ल्याउने बानीको बिकास भएको उनले बताए । हाइड्रोपावर, सडक तथा ठुला भवन निर्माणमा अनिवार्य रुपमा प्रयोग हुँदै आएको उनले जानकारी दिए । तर परियोजनाभन्दा बाहिरका साना–साना निर्माण कार्यमा काम गर्ने श्रमिक पुरै असुरक्षित रहेको उनको बुझाई छ । ‘काम अनुसार हरेक श्रमिकले आफ्नो सुरक्षाका लागि सम्भावित दुर्घटनाबाट बच्न मास्क, एप्रोन, पञ्जा, हेल्मेट, बुट, बेल्ट जस्ता कुरा लाउनुपर्छ ।’ उनी भन्छन्–‘त्यस्ता सामान दिने जिम्मा काममा लगाउनेकै हो । तर नेपालमा श्रमिकले सुरक्षित कार्यथलो पाउन सकेका छैनन् ।’ निर्माण क्षेत्रमा काम गर्दा दुर्घटनापछिको सबैभन्दा ठुलो चुनौती भनेको उपचार र क्षतिपुर्ती दिलाउनु रहेको लुईटेल बताउँछन् । सामान्य दुर्घटनाका बिरामीलाई पनि अस्पतालमा छोडेर भाग्ने, उपचार गर्नुपर्छ भन्ने जिम्मेवारी लिन नखोज्ने, मृतकका परिवारलाई क्षतिपुर्ती रकम दिन नचाहने जस्ता घटना बारम्बार दोहोरिने गरेको अनुभव उनले सुनाए । निर्माण क्षेत्रलाई सुरक्षित बनाउन युनियनले अभियानहरु चलाईरहेको उनले बताए । कार्यथलोमैं पुगेर श्रमिकहरुलाई काम गर्नुपुर्व तथा काम गर्दाको अवस्थामा अपनाउनुपर्ने सुरक्षा सतर्कताको बारेमा चेतना दिइने गरेको बताए । अभियानकै फलस्वरुप निर्माण क्षेत्रमा पछिल्लो समय सुरक्षा उपकरण प्रयोगको दर बढ्दै गएको उनको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय