कास्की । कृस्ती नाच्नेचौर बयली गाउँका शिवबहादुर पोखरेललाई कोरियामा रहँदा बिहान आठ देखि रातको ११ बजेसम्म दिनरात केहि नभनी काममा घोटिनु पथ्र्यो । झण्डै सात बर्ष त उनी यसरी नै घरको अवस्था सुधार्न भन्दै कोरियामा घोटिए । तर यतिको दुःख आफ्नै देशमा गएर गर्ने हो भनें उतै पनि कमाउन सकिन्छ भन्ने लाग्न थालेपछि उनी स्वदेश फर्किए र दुई बर्ष देखि कृषि क्षेत्रमा लगानी गरेर यतै रमाइरहेका छन् ।
“दिनरात नभनी परमई मुलुकमा पसिना चुहाउँदा नमज्जा लाग्थ्यो” उनले भने -यस्तो मिहिनेत आफ्नै देशमा गर्ने हो भनें सुन फलाउन सकिन्छ भनेर फर्किएँ ।
कमाइ राम्रोे हुँदा हुँदै पनि उनले कोरियाको मोह त्यागेर यहीं आएर कृषिमा लगानी गरे । उनी गाउँका अन्य युवालाई पनि विदेश छोडेर स्वदेशमै लगानी गरेर रमाउन उत्प्रेरित गर्ने काममा समेत लागेका छन् ।
अहिले उनले पोखरा बिरौटा-१७ जनजागृति मार्गमा १० रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारी खेती गरेर रमाइरहेका छन् । उजाड चौरमा सुरुमा उनी आएर खेती थाल्दा के गर्न लागेको होला भन्नेहरु अहिले हरियो तरकारी देखेर उनको सिको गर्नेहरु बढेका छन् । बर्षमा १ लाख २० हजार रुपैंयाँ जग्गाको भाडा तिर्नुपर्छ ।
उनले आधा दर्जन गाई समेत पालेका छन् । नेपालमै केहि गर्छु भनेर फर्केका उनी आफ्नोे कामलाई विस्तार गर्दै लैजाने बताउँछन् । तरकारी तथा दुध बोकेर बेच्न शहर लानु पर्दैन, उनको फार्ममै ग्राहक आइपुग्छन् । तरकारी खेतीमा उनलाई श्रीमती पार्वतीले सघाएकी छन् । उनले दुईजनालार्ई मासिक तलव दिएर काम गर्न समेत राखेको समाचार कान्तिपुर दैनिकमा शिव शर्माले लेखेका छन् ।
वार्षिक रुपमा अहिले उनले तरकारी तथा गाईबाट ११ लाख ५० हजार आम्दानी गरिरहेको बताए । उनी भन्छन् कोरियामा जति मिहिनेत आफ्नै गाउँमा गर्ने हो भनें त्यहाँ भन्दा धेरै कमाइने रहेछ ।
कान्तिपुरबाट