गाउँमै छन् अवशरहरु

सुब्रत न्यौपाने, झापा- सधैंको बनिबुतो र मेलापात । झापा सतासीधाम–६ की देवी दाहालको जीवनमा यी शब्द कुनै बेला पर्याय जस्तै थिए । सधैं दुःख गर्दा पनि कहिल्यै नुनभुटुन खान नपुग्ने । ‘लुटी ल्यायो भुटी खायो’ भन्ने उखान जस्तै थियो उनको जिन्दगी ।

तर अहिले समयले कोल्टो फेरेको छ । अनि फेरिएकी छन्, ४३ वर्षीया देवी दाहाल । ‘म त फेरिएँ नै, मेरा सपनाहरु पनि फेरिएका छन्’, एउटा भेटमा दाहालले भनिन् ‘यसको एउटै कारण हो, मैले थालेको मौरीपालन ।’ हो, अहिले त्यही पेशाले उनलाई एउटा सफल उद्यमीका रुपमा स्थापित गराएको छ ।

एसएलसीसम्म अध्ययन गरेकी दाहाल इच्छाशक्ति भए घर गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् । मौरीपालन व्यवसायबाटै उनको घर खर्च चलेको छ । हुन त उनका श्रीमान् तीर्थराज पनि बेरोजगार छैनन् । तर मासिक रुपमा हुने उनको कमाईले परिवारको सामान्य गर्जाेसम्म टर्दैन । २०५० सालदेखि यातायातको बुकिङ काउन्टरमा काम गरेका तीर्थराजको तलव अहिले बल्ल चार हजार छ सय पुगेको छ ।

खेतीपाती गर्ने जग्गा जमिन नभएपछि त्यसैबाट दैनिक गुजारा चलाउँदाको तीतो अनुभव दाहालले भोगिसकेकी छन् । त्यही भएर उनले आफैं आत्मनिर्भर हुने बाटो रोजिन् । त्यसैको परिणाम हो, उनी एउटा सफल महिला उद्यमीका रुपमा स्थापित भएकी छन् । युवा स्वरोजगार कोषले उपलब्ध गराएको रकम स्थानीय सतासी महिला मौरीपालन सहकारी संस्थाबाट ऋण लिएपछि उनको व्यवसाय अझै फस्टाएको हो ।

मौरीपालनका लागि स्थानीय सतासी महिला मौरीपालक सहकारी संस्थाबाट एकलाख रुपैयाँ ऋण लिएर व्यवसाय अझै विस्तार गरिन् । सो रकमबाट उनले एकैपटक ३० वटा मौरीका घार किनिन् । पहिले १३ वटा घार मात्रै थिए । अहिले उनको घरमा मौरीका ४३ वटा घार छन् । त्यसबाट वार्षिकरुपमा झण्डै १५ सय किलो मह उत्पादन हुन्छ ।

कात्तिकदेखि जेठसम्म मह उत्पादनको सिजन हो । उत्पादित मह उनले आफैं आवद्ध सहकारी संस्थालाई बेच्ने गरेकी छन् । यसवर्ष मात्रै साढे चारलाख रुपैंयाँ भन्दा बढीको मह बेचेको उनले सुनाइन् । ‘पहिले र अहिलेको मेरो जीवनमा आकाश पातालको फरक छ’ उनले भनिन्, ‘यतिसम्म आम्दानी गर्छु भन्ने कहिल्यै सोचेकी थिइन ।’ मह बेचेकै आम्दानीले पाँच लाख रुपैयाँमा उनले यसैवर्ष एउटा घडेरी जोडिसकेकी छन् ।

उनले उत्पादन गरेको कच्चा मह सहकारीले तीनसय ५० रुपैयँ प्रतिकिलोका दरले खरिद गरिदिने गरेको छ । आफ्ना सदस्यबाट खरिद गरेको कच्चा मह सहकारी आफैंले प्रशोधन गर्छ । प्रशोधित मह स्थानीय बजारमा प्रतिकिलो पाँचसय रुपैंयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । प्रशोधन र प्याकेजिङको काम सहकारी आफैंले गर्छ ।

महको बजारीकरणमा पनि कुनै समस्या छैन । सहकारी संस्थाकै कार्यालयबाट मह विक्री हुने गरेको संस्थाकी अध्यक्ष केशमाया थेबे बताँछिन् । ‘मौरीपालन व्यवसायबाट सदस्यहरुको आम्दानी पनि बढ्ने, सहकारी संस्था पनि सञ्चालन हुने, दुबैलाई फाइदा पुगेको छ’ थेवेले भनिन्, ‘सतासीधाममा देवीको मौरीपालन व्यवसाय नमुना हो ।’

मौरी पालेर नै उनले छोरालाई राजधानीको सुविधासम्पन्न कलेजमा पढाइरहेकी छन् । अब छोराका लागि वार्षिक तीन लाख भन्दा बढी रुपैयाँ जसरी पनि आम्दानी गर्नैपर्ने चुनौति उनका सामु छ । ‘यसरी नै आम्दानी भयो भने छोरालाई रामै्रसँग पढाउन सक्छु भन्ने लागेको छ’, उनले भनिन्, ‘त्यही चुनौति सामना गर्न व्यवसाय अझै बढाउने सोचमा छु ।’

???????????????????????????????

मौरीपालन व्यवसायबाटै उनले दुई चार जनालाई आंशिकरुपमा रोजगारी पनि दिएकी छन् । धेरै समय आफैं मेहनत गर्ने उनलाई मौरी चराउन लैजाने बेलामा मात्रै जनशक्तिको खाँचो पर्छ । त्यो बेला ज्याला दिएरै भए पनि दुईचार जनालाई काममा लगाउने गरेको उनी बताउँछिन् । ‘एक्लैले नभ्याएपछि ज्याला दिएर भए पनि अरुलाई लगाउनु पर्छ उनले भनिन् ।

ऋण लिएको रकम पूर्णरुपमा सदुपयोग गरेकाले नै आफ्नो व्यवसाय सफल भएको उनको अनुभव छ । कतिपयले सहकारी संस्थाबाट व्यवसायका नाममा ऋण लिने र उद्देश्य अनुसार खर्च नगरी अन्यत्रै लगानी गर्ने प्रवृत्तिप्रति उनी सचेत छिन् । ‘जे उद्देश्य राखेर ऋण लिइन्छ, त्यसैमा लगानी गर्ने हो भने अवश्य सफल होइन्छ’ उनले भनिन, ‘मैले पनि त्यसै गरें ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय