
शौभाग्यजंग कार्की, कतार- झलक्क हेर्दा उनलाई कसैले पनि मुसलमान भन्दैन । पहाडी गाउँको कुनै झर्रो क्षेत्री बाहुन झैं लाग्छन् उनी । आखिर कयौं पुस्ता पहाडी गाउँमै वितिपनि त सक्यो । गोरखाको एउटा गाउँबाट भाग्य अजमाउन दोश्रो पटक कतार ओर्लेका ३५ बर्षे राजु मियाँलाई जमेलियाको मरभूमिमा भेट्दा उनी दिउँसोको खाना खाएर सुस्ताउँदै थिए ।
भनिन्छ लाटो लड्छ एक बल्ड्याङ् बाठो लड्छ तीन बल्ड्याङ् । ठ्याक्कै यस्तै भयो राजुको जीवनमा पनि । पहिले केहि पत्तो थिएन परदेशी जीवनको । तर कतारको पहिलो बसाई सजिलै भयो । दोश्रो पटक भनें निक्कै अप्ठ्यारो परेको छ ।
साउदीमा थिए जेठान अनी कतारमा थिए अर्का आफन्त । दुवैतिरबाट एकैचोटी भिषा निस्केको खवर आयो । दोमन भयो केहि दिन । अन्तिममा पहिले पनि गएकै हुनाले कतार नै पस्ने निधो गरे उनले । यसले उनीसँग जेठान अघोरै रिसाएछन् । ६० हजार ऋण लिएर कतार उत्रेका उनको काम भनें भनेजस्तो भएन ।
पेण्टर भएर कतार उत्रेका थिए राजु । काम ठिकै थियो । तर दाम ठिक भएन । तलव थियो सुख्खा ८ सय रियाल । त्यसमध्ये आधा त खान र फोन खर्चमै सकिएपछि कतार बसाईले फलिफाप हुने देखेनन् उनले । त्यसमाथि मुदिरको किचकिच सहिसक्नु भएन । नेपालमा लिएको ऋण र त्यसको व्याज सम्झिंदै दिक्क लाग्न थाल्यो उनलाई ।
मामाको छोरो थियो समालको मरभूमिमा भेडा र बाख्रा स्याहारेर बसेको । उनले यतै आइज भनेपछि काम छोडेर उनी उतैै पुगे । खाने बस्ने त चिन्ता भएन तर खाली हात के गरेर बस्ने ? त्यसैले त्यहाँ आठ नौ दिन त्यतै भौंतारिएपछि रोजारसिद भन्ने ठाउँमा पुगे बगैंचाका रुख विरुवामा पानी हाल्ने काम गर्न । काम सजिलै थियो । तर त्यहाँ पनि चार महिना भन्दा धेरै टिक्न सकेनन् ।
“एउटा अचम्मै हुँदो रै’छ” झ्याउँ झ्याउँती घेरिरहेका झिंगालाई अल्छि मान्दै देव्रे हातले बेला–बेला धपाउँदै उनी फिस्स हाँसे “भाग्नु अघि धेरै डर लाग्दो रहेछ, एकचोटी भागिसकेपछि भागिरहुँ जस्तो लाग्ने ।” यति भनिसकेर निक्कै बेर उनी भुईंतिर हेरर चुपचाप बसिरहे । जमेलियाको त्यो मरभूमिको झुप्रोमा केहि बेर चकमन्न भयो ।
काकाका ज्वाईंको मद्धतमा भेटिएको जमेलिएको एकान्त ठाउँको यो मजराको बसाई खासै अप्ठ्यारो छैन । तिनै ज्वाईंसहित अरु दुईजना नेपाली कामदार साथमा छन् । परदेशको बसाई मिलिजुली चलेकै छ । फिक्रि यत्ति छ मन खोलेर डुलघुम गर्न पाइन्न । “गर्मीले प्याक–प्याक परेको बेलामा एउटा चिसो पेप्सी धरी किन्न पनि एक घण्टा टाढाको जमेलिया बजार पुग्नु पर्छ” उनको दुखेसो यहि हो ।
अरु ‘भगौडा’ जस्तै उनले पनि अवैधानिक भएपछि दोहा शहरमा पाइलो टेकेका छैनन् । प्रहरीको फेला परियो भनें झण्झटमा परिन्छ । उसै पनि एकपटक जमेलियामै गाडी चढेर हिंड्दा उनी प्रहरीको फन्दामा परिसकेका थिए । अरवी भाषा जानेको र कतार आउँदाका कागजपत्रको फोटोकपी साथैमा बोकेको हुनाले अकोमा(कामदार परिचयपत्र) कोठामा नै छुटेको उनको बहाना काम लाग्योे ।
त्यसरी उम्केर आएका उनी त्यसपछि भनें बाहिरफेर घुमफिर गर्दैनन् । मरभूमिको बीचका उमारिएका पोथ्रा पोथ्रीलाई नै जंगल भन्ने उनीहरुको संसार यहि पोथ्राले घेरेको सिमित ठाउँमा कैद छ ।
कतारमा धेरै हण्डर खाएपछि राजुलाई नेपालमा काम नभएर भन्दा पनि काम गर्न लाज मानेर हामी विग्रियौं भन्ने लागेको छ । “यति नै काम गर्ने हो भनें यहाँ भन्दा नेपालमा धेरै कमाईन्छ, तर के गर्नु खेतबारीमा खन्न शरम लाग्छ हामीलाई । तर यहाँ आइसकेपछि भेडा चराउन, उँट स्याहार्न वा बालुवा खोस्रिन बाध्य हुनुपर्छ” उनी भन्छन् ।
अवैधानिक भएर बस्दा कथम्कदाचित विरामी परियो भनें चाहिं आपत आइलाग्छ भन्ने सुनेका राजुलाई कतार जान लिएको ऋणले नै उतै अड्काइरहेको छ । ऋण तिर्न मात्रै पाएपनि नेपाल फर्केर खत्रयाक् खुत्रुक बेच्ने सानो पसले खोलेर बस्ने सुर कसेका राजुको घर फिर्ति भनें अझै टाढै छ । “खै ज्वाईहरु पनि डेढ बर्षपछि घर फिर्ने भन्दै हुनुहुन्छ, म पनि त्यतिञ्जेल त जसोतसो बस्नैपर्ला” उनले कुरा टुँग्याउँदै भने ।