फेरियो ‘देउसी रे’ कोे भाका, बदलियो तिहार

तिहार अर्थात स्नेहको चाड । झिलिमिलि बत्ति, देउसी भैलोको रौनक । त्यसैले दशैं भन्दा अझ धेरै महत्वको लाग्छ तिहार । दशैंमा भन्दा धेरै मन रमाउँछ तिहारमा ।

ओहो, त्यो महिनौैं गरिने देउसीको तयारी । खरी झरेको मादलमा भखरी लगाउन खोज्दै हिंडेको । गोजीमा अलिक पैसा हुँदा नयाँ मादल किन्न साइकलमा धेरै किलोमिटर टाढाको बजार चहारेको । अव ति केवल सम्झनामा मात्र बाँकी छन् ।

तर के तिहार पहिले जस्तै छ ? यसको रंग उस्तै छ ? के देउसी र भैलो उसैगरी खेलिन्छ ? यसो गमेर हेर्दा शहर पसेको तिहारले आफ्नो पुरानो स्वरुप चटक्कै फेरेको छ । पालामा बालिने बत्तीको ठाउँ विजुलीका दियोले लिएका छन् । अनी रातभरी तेल थप्दै र उकास्दै बालिने बत्तीलाई विजुलीका तारले विश्राम दिएका छन् । अर्थात तिहार आधुनिक भएको छ ।

देउसीको भाका फेरिएको छ । गलामा सयपत्रीको माला झुण्ड्याएर देउसी भट्याउँदै गाउँ चहार्नुको मज्जा अव शहरका बालबालिका, किशोर किशोरी र युवाले पाउन छोडेका छन् । भैलीनी आयौं आँगन केवल सिडिमा कैद भएको छ ।

हामी गाउँमा देउसी खेल्न महिनौं तयारी गर्दथ्यौं । गाउँका एकै उमेरका युवा मिलेर गर्ने त्यो तयारी कम्ता माप्पाको हुन्नथ्यो । नाचगान, देउसीको भाकामा थोरै तलवितल गर्नेको कुनै ठाउँ हुन्नथ्यो देउसे टोलीमा । कसको भन्दा कसको नाच राम्रो, कसले राम्रो देउसी भट्याउन जान्दछ भनेर गाउँमा प्रतिस्पर्धा नै चल्दथ्यो । राम्रो भट्याउने र राम्रो नाच्ने, गाउनेलाई आफ्नो टोलीमा पार्न ठूलै रस्साकस्सी चल्दथ्यो ।

तिहारका ५ दिन नै चल्दथे देउसी गाउँमा । रात छर्लङ्गै काट्थ्यौं देउसी गाएर अनी नाचेर नै । गाउँका कुनै घर छुटेमा ठूलै चित्त दुखाई हुन्थ्यो । त्यस्तै एक नमिठो सम्झना छ ।

साल ठ्याक्कै याद छैन । हामी गाउँमा ठूलो समुह बनाएर देउसी खेल्दैथियौं । कम्तीमा ठूल ठूला तीनवटा लस्करैका गाउँ भ्याउनु थियो । तर पनि हाम्रो देउसे टोलीको यति माग थियो हामी कुनै घर छोड्न सक्ने अवस्थामा थिएनौं ।

Selrotiघरलौरी हामी देउसी खोल्दै थियौं । हामीले पत्तै नपाइ एउटा घर छुटेछ, त्यो पनि आर्थिक अवस्था कमजोर भएका एकजना घिमिरे दाईको । विचरा तिनले मेरो घरमा नआइ कता लागेका भनेर भन्न पनि सकेनछन् । हामी देउसी खेल्दै खेल्दै विहानको झिसमिसे हुन लाग्दै थियो । ति दाई हाम्रो पछि पछि लागेर सवैजसो घरमा पुगे ।

जव हामीले त्यो दिनको विश्राम गर्ने निधो ग¥यौं, ति दाईले मेरो घरमा जाँदैनौ ? भनेर सोधेपछि पो हामी जिल्लाराम प¥यौं । कठै ति दाईका घरमा सवैजना नाङलोमा चामल, सेलरोटी, दक्षिण लिएर हामीलाई पर्खेर रातभरी बसेका रहेछन् । राती २ बजे छिमेकबाट हामी अन्तै लागेपछि ति दाई हाम्रो पछि लागेका रहेछन् । त्यो सुन्दा कम्ता नरमाईलो लागेन । उनकै पछि लागेर हामी ति दाईको घरमा पुग्यौं ।

दाईले त तै बरु, भाउजुले साह्रै ननिको मानिछन् । उनले आँशु नै खसालिन् गरिवको घरलाई हेला गरेको भनेर । हामीसँग केहि जवाफ पनि त थिएन । हामीले छर्लङग बिहान हुञ्जेल त्यहि घरमा देउसी खेलेर माफि माग्दै सुत्न हिंडेका थियौं । त्यहि नै हाम्रो दौतरीको अन्तिम देउसी रह्यो ।

हो, यति धेरै सम्मानपूर्वक लिइन्थ्यो देउसीलाई । तर अहिले के हामी देउसेलाई यसरी नै रात रातभर पर्खिन्छौं ? के उनीहरुका लागि हामी गेट खोलेर बस्न सक्छौं ? गाउँमा त बाँकी नै होला तर शहरले देउसेलाई रहरको भन्दा पनि करको पाहुना ठान्न थालिसकेको छ ।

देउसेले रामायणका लामा कथा भन्दैन । रिसला देउसे आँगनमा आइपुगेपछि सेलरोटी पकाउँदा पकाउँदै एकछिन हात बिसाएर भान्साबाट चिहाउने आमाहरु, दलानमा बसेर ‘पुगेन अझै केहि बेर खेल’ भन्ने बाहरुलाई पनि हिजोआजको देउसी झर्को लाग्दो हुन थालिसक्यो । न त सिक्यो नयाँ पुस्ताले नै हाम्रो देउसीको मौलिक परम्परा र त्यसमा हालिने भाकाहरु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय