
म्याग्दी – पाँच नेपाली धम्पुस हिमालतिर उकालिँदै थिए। साथमा थिए तीन जापानी आरोही। धम्पुसको चुचुरो छुने जापानी चाहनालाई पूरा गराउनु थियो उनीहरूले। त्यसैले पदयात्रा सुहाउँदो मौसममा धौलागिरि बेसक्याम्प नजिकैबाट यात्रा सुरु भयो। हुडहुड आँधीले हिमाली क्षेत्र हल्लाउने अनुमान कसैले गरेको थिएन।
तर, भइदियो त्यस्तै। घनघोर हिमपात भयो लगातार चार दिन। आँखैसामुन्ने सेता पहिरा खसिरहे। हिँडिरहेको बाटो एकाएक गायब भयो। उनीहरूले पलपल मृत्यु देखिरहे तर बाँच्ने संघर्ष पटक्कै छोडेनन्। आफू मात्रै होइन, जापानी पाहुनालाई पनि जोगाउनु छ। दायित्व बिर्सिएनन्।
‘हिमालको यस्तो रूप कहिल्यै देखेका थिएनौं। तीन रात त खुला आकाशमै बितायौं, म्याग्दीको बेनी, मुस्ताङको मार्फा हुँदै तीन जापानी लिएर गएका लाक्पा शेर्पाले सम्झिए, ‘सबैका आँखा आँसुले भिजेका थिए, जीवित फर्कने आशा कसैलाई थिएन। तर, नमरुन्जेल बाँच्न छोडिँदैन।
आकाशबाट लगातार मृत्युवर्षा भइरहँदा उनीहरू हिमाली कन्दरामा जिन्दगीको मार्ग खोज्न थाले। आँखैसामु कालले मुख बाइरहँदा को चैनले निदाउन सकोस् ? निद्रा मारेर रातभर हिउँ पन्छाउँदै बाटो बनाइरहे।
‘जता हेरे पनि हिउँ मात्रै थियो, रातभरि पन्छाइरह्यौं, लगातारको प्रयासपछि मार्फा आइपुगेका शेर्पाले भने, ‘लगातार चार दिन हिउँ पर्यो, बाटो सबै पुरिएको थियो। मध्यराति पनि जोखिम मोलेर हिउँ पन्छाइरह्यौं। यसक्रममा पटकपटक मृत्युसँग जम्काभेट भएको अनुभूति उनी सुनाउँछन्, ‘साँच्चै अहिले पुनर्जन्म पाएजस्तो भएको छ।
१९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका शेर्पाले अहिलेसम्म पाँच पटक सगरमाथा र धौलागिरि हिमाल आरोहण गरेका छन्। साना हिमाल त थुप्रै चढिसके। ‘यस्तो अहिलेसम्म भएको थिएन, त्यति बेला बाँच्ने सबै विकल्प सकिएजस्तो लागेको थियो, भन्छन्। आफू जोगिए पनि तीन सहकर्मीको धौलागिरि बेसक्याम्पमै निधन भएको खबरले उनी दुःखी छन्।
६ हजार १ सय मिटर उचाइको धम्पुसमा दर्जनौंपटक बाटो बनाइएको टोलीको भनाइ छ। ‘हिमपहिरा जाँदा घरको सम्झना आउँथ्यो, हावाले टेन्ट उडाएर लैजाँदा आङ सिरिङ्ङ हुन्थ्यो, अर्का आरोही दावा शेर्पाले भने, ‘विदेशीका आँखा निरन्तर आँसुले भिजिरहेका थिए, हामी पनि रोइरह्यौं।
अब बाँकी जीवन हिमाली क्षेत्रमै समर्पिन गर्ने उनी बताउँछन्। ‘त्यस्तो विपत्ति त पार गरियो, अब त के नै होला र ? भन्छन्। टोलीका भरिया आङकामी शेर्पा मार्फा आइपुगेपछि धेरै नेपाली र विदेशीको मृत्यु भएको सुन्दा दुःख लागेको बताउँछन्।
मार्फाबाट ८ दिनमा इटाली बेसक्याम्प हुँदै आरोहण गरेको टोली कठिन स्थानमा तत्काल निर्णय गर्न नक्सा बनाएकाले पनि फर्कन सजिलो भएको ठान्छ। ‘हामीले विगतमा हिँडेको अनुभवकै आधारमा बाटो बनायौ। बाटो बनाउँदा छेउमै हिमपहिरो जान्थ्यो, टोलीका कुक जसबहादुर लिम्बुले सम्भ्किए, ‘मुटु जोडले हल्लिन्थ्यो।
यसैबीच धौलागिरि बेसक्याम्पबाट फर्किएको टोलीका अनुसार त्यस क्षेत्रमा हिमाल आरोहण गर्ने क्रममा ट्रेकिङ एजेन्सीले कमाउने नाममा मनपरी मानिस पठाउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसी अहिले १ सय ५१ जनाको टोली बेसक्याम्पमा रहेको बताउँछन्।
nagariknews बाट