(दोहा) कतार, कार्तिक २–कतारको घाँसे मैदानमा काम गर्ने पशुपतिनगर, इलामका दावा शेर्पालाई के थाहा– घाँससँगै आफ्ना खुट्टा काटिन्छन् । ३३ वर्षीय शेर्पाको जिन्दगीमा नसोचेको त्यही विपत्ति आइपर्यो ।
दोहाबाट करिब ५८ किमि टाढा रहेको अलरखियास्थित अल गदिरको घाँसे मैदानमा उनी ९ वर्षदेखि कार्यरत थिए । असोज १९ गते बिहान साढे ६ बजे उनी घाँसको बन्डल बनाउँदै थिए । मेसिनमा अल्भिmएको घाँसको बुझोलाई धकेल्न खोज्दा एउटा खुट्टा काटिन पुग्यो ।
‘खुट्टाले घाँसलाई धकेल्न खोजेको थिएँ, मेसिनको दाँतले मेरो जुत्ता समातिहाल्यो । खुट्टालाई मेसिनले तान्दै भित्रै छिरायो । जुत्तासहित पाइतलाको भाग छिनाइयो । बचाउन देव्रे खुट्टाले सपोर्ट गर्न मेसिनमा टेको लाउन पुगें,’ उनले भने, ‘त्यसलाई पनि मेसिनको दाँतले समातिहाल्यो । तत्कालै दायाँ खुट्टाको नली खुट्टा पनि छिनायो । मेसिनमा बल लगाउँदालगाउँदै बायाँ खुट्टाको पनि घुँडामुनिको भाग छिनिसक्यो ।’
अरू भए मूच्र्छा पर्थे होला । उनले एक्लै जीवन जोगाउने संघर्ष गरिरहे । ‘पूरै ज्यानलाई मेसिनले तान्दै थियो,’ उनले घटना सुनाए, ‘जसरी एउटा लामो घाँस टुक्रा–टुक्रा पारेर काट्छ ।’
तर उनले हरेस खाएनन् । ‘हत्तपत्त बल गरेर दुवै हातले मेसिनको सेफ्टी डन्डीमा समाउन पुगें । त्यसलाई बेस्सरी तानें । बल्ल मेसिनबाट जीउ तल झर्यो । थप काटिन पाएन,’ उनले भने । हमाद अस्पतालको बेड नम्बर ४५४ मा रहेका उनले बिलौना गरे, ‘जिन्दगी बर्बाद हुन समय लाग्दो रहेनछ ।’
अर्को दुर्भाग्य, उनी काम गर्ने ठाउँबाट अस्पताल निकै टाढा पर्छ । डाक्टरले दुई घन्टा पहिला आएको भए जोडिने सम्भावना रहेको बताएको उनले सुनाए । तर, चाँडो पुग्न सम्भव थिएन । ‘नजिकैको मैदानमा एक जना पाकिस्तानी घाँस काटिरहेका थिए । उनले देखेछन् । दौडेर आए । उनलाई कपडा लिन र मुदिरलाई खबर गर्न भनें । उनी दौडिर क्याम्पतिर लागे,’ उनले भने, ‘काटिएको भागबाट रगतको छिर्का गइरहेको थियो । बढ्ता रगत गएको बायाँ खुट्टाको तिघ्रामा आफ्नै टिसर्ट च्यातेर बाँधिदिए । थप रगत बग्न दिइनँ । अर्को खुट्टा बाध्न कपडा थिएन ।’
दुर्घटनास्थलमा उनी एक्लै थिए । ‘औडाहा हुन्थ्यो । बेहोस होइएलाजस्तो लाग्थ्यो,’ उनले भने, ‘जति पीडा हुन्थ्यो । त्यति पानी पिउँथें । त्यसले ऊर्जा दिन्थ्यो । मुटु पोल्दा छातीमा हान्थें । त्यसरी हान्दा मुटु चलिरहेको अनुभव हुन्थ्यो ।’
निकै बरेपछि एम्बुलेन्स र प्रहरी आइपुगे । त्यतिन्जेलसम्म खुट्टाबाट थप रगत बग्न छोडिसकेछ । त्यसपछि हेलिकप्टर आइपुग्यो र अस्पताल पुर्यायो । ‘अहिले त्यो घटना सम्झँदा पनि निकै डर लाग्छ । ढुकढुकी बढ्छ,’ उनले भने, ‘तर पनि नयाँ जिन्दगी पाएको छु ।’
यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।