अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गमा मलेसियाले लगानी गर्ने

काठमाडौं, असोज ३१– मलेसियाका पूर्वमन्त्रीसहितको लगानीकर्ताहरुको एक टोलीले अर्थमन्त्री डा रामशरण महतलाई भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव राखेको छ ।

मलेसियाका पूर्वमन्त्री दातो सेरी उतामा सामी भेल्लु सहित सरकारी अधिकारीहरु र मलेसियाका लगानीकर्ताहरुले अर्थमन्त्री महतलाई शुक्रबार भेटेका हुन । उनीहरुले अर्थमन्त्रीसमक्ष मलेसिया सरकारले नेपाल सरकारसँग सीधै काम गर्न चाहेको बताएका थिए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका साथै उनीहरुले छेउमा आधुनिक शहरको विकास पनि गर्ने सोच राखेको बताएका छन । अर्थमन्त्रीले नेपाल पर्यटनका दृष्टिले अत्यन्तै आकर्षक र सुन्दर देश भएको बताउदै विश्वसँग ‘एयर कनेक्टीभिटी’ बढाएर पर्यटक आकर्षित गर्न चाहेको बताए । ‘पर्यटन मात्र होइन, उर्जाको क्षेत्रमा पनि नेपालको संभावना अतुलनीय छ,’ उनले भने, ‘पर्यटनको विकाससँगै कृषिको पनि विकास हुन्छ ।’

जलबिद्युतमा नेपालले संभावनाको एक प्रतिशत पनि उपयोग गर्न नसकेको अर्थमन्त्रि महतको भनाई थियो । उनले भने, ‘ताल, तलैया, जंगल सफारी, हिमाल आरोहण, रहन सहन तथा सांँस्कृतिक विविधता, भौगोलिक विविधता भएकोले पर्यटनको ठूलो संभावना रहेको छ । कृषि, पर्यटन र उर्जाको विकास गरी नेपाललाई उच्च आर्थिक बृद्धि र सम्पन्नताको बाटोमा लैजाने सरकारको अठोट रहेको छ । यसैकारण सरकारले चालु आर्थिक बर्षको बजेटमा पूर्वाधारको विकास, उर्जाको विकास र विमानस्थलको संभाव्यता अध्ययनका लागि बजेट बिनियोजन गरेका छु ।’

मलेसियाली लगानीकर्ताहरुको टोलीलाई काम गर्नका लागि तुरुन्त प्रस्ताव पेस गर्न अनुरोध गर्दै उनले सरकारले आवश्यक निर्णय तत्काल गर्ने आश्वासन दिए । मलेसियाली टोलीले निर्माण, सञ्चालन र हस्तान्तरण बूट नीति अन्तर्गत तीनवटै काम गर्न चाहेको जानकारी दिएका थिए । पूर्वमन्त्री भेल्लु भारत तथा दक्षिण एसियाका लागि मलेसियाका विशेषदूत पनि हुन । उनले सम्पूर्ण निर्माणका लागि साधन र स्रोत मलेसियाले नै ल्याउने जानकारी दिदै नेपालले जग्गा अधिग्रहण मात्र गरिदिनुपर्ने बताए । उनले यस्तो काम मलेसियाले आफ्नो मुलुकका अतिरिक्त अन्य मुलुकमा पनि गरिरहेको जानकारी पनि दिएका थिए । सो अवसरमा यी परियोजनाहरु निर्माणका लागि उनीहरुले तत्काल प्रस्ताव प्रस्तुत गरिहाल्ने जानकारी दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय