झापा र काठमाडौं सेमिफाइनलमा

रौतहट, असोज ३०- रौतहटको चन्द्रपुर नगरपालिकामा आयोजित बियाग कप यु १७ बालिका फुटवलको सेमिफाइनल समीकरण पुरा भएको छ । बिहिवार अन्तिम चारमा स्थान पक्का गरेका काठमाडौं र झापाले आपसमा आगामी शनिवार सेमिफाइनल भिडन्त गर्नेछन् ।

अखिल नेपाल फुटवल संघ एन्फा र प्लान इन्टरनेशनल नेपालको आयोजनामा भइरहेको १७ बर्ष मुनिका बालिका सम्मिलित प्रतियोगिताको अर्को सेमिफाइनलमा स्थानीय आयोजक रौतहट र ताप्लेजुङवीच प्रतिस्पर्धा हुनेछ ।

बिहिवार सेमिफाइनल यात्रा तय गर्दा काठमाडौले नवलपरासीविरुद्ध जित निकाल्यो भने झापाले ‘भाग्यमानी’ टीमको रुपमा रौतहट बसाई लम्ब्याएको छ । झापा ४ अंकसहित समूह सीको शीर्ष स्थानमा रहंदै अघिल्लो चरणमा पुगेको हो ।

समूह सीको खेलमा प्रतियोगिताबाट बाहिरिसकेको कैलालीले सेमिफाइनलको लक्ष्य राखेको सर्लाहीलाई हराएपछि झापाको सेमिफाइनल सपना पुरा भयोे । सर्लाहीसंग बराबरी तथा कैलालीविरुद्धको जितका कारण चार अंकसहित समूहको पहिलो स्थानमा रहेको झापालाई लाभदायक हुने नतिजा कैलालीले तयार पारेको हो । कम्तिमा दुई गोल अन्तरको जित आवश्यक पर्ने सर्लाहीले कैलालीका खेलाडी सामु कुनै जागरुक खेल देखाउन सकेन ।

कैलालीकी सुस्मिता दवाडीले सातौं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा उनको टीममा भन्दा झापाको खेलाडी दीर्घामा बढी खुशीयाली देखिन्थ्यो । सातौं मिनेटमा विपक्षी रक्षापंक्तिको कमजोरीको फाइदा उठाउदै डिबक्सभित्र सुस्मिताले साइडबाट आएको बललाई सहजै जाली चुमाईन् । एक गोलले पछाडी परेपनि सर्लाहीले कैलालीविरुद्ध पुनरागमनको कुनै संकेत देखाउन सकेन ।

यता, बराबरीले मात्र पनि सेमिफाइनल पुग्ने समीकरणका वीच नवलपरासीविरुद्ध उत्रेको काठमाडौंले पनि १—० कै जित हात पार्यो । समूह डीमा बराबरीसंगै समान तीन अंक रहेकाले काठमाडौंलाई बिहिवार नवलपरासीविरुद्ध बराबरीको खांचो थियो भने सेमिफाइनलमा पुग्न नवलपरासीलाई पनि फराकिलो गोल अन्तरसहितको जितको आवश्यकता थियो । प्राविधिक रुपमा दुवै टीम सशक्त रहेकाले प्रतिस्पर्धात्मक बनेको खेलमा नतिजा भने काठमाडौंको पोल्टामा गयो ।

biagg-c१६ औं मिनेटमा सुभद्रा खड्काले कर्नर साइडबाट दिएको पासमा प्रतिमा उप्रेतीले वान टचमा गोलको दिशा दिएकी थिइन् । त्यसअघि काठमाडौंकी लक्ष्मी तामाङ बीले नवौं मिनेटमा ओपन पोस्टमा प्रहार गर्न नसक्नु तथा बिष्णु मैनालीले १४ औं मिनेटमा गरेको प्रहार पोलको पिधमा लागेर फर्किनु काठमाडौंको अग्रता लिन नपाउनु दुर्भाग्य बन्यो । त्यसो त नवलपरासीकी तिलकुमारी बीरकोट्टाले काउन्टर एट्याकमा बल अघि बढाइरहंदा विपक्षीको बक्सभित्र पुगेपछि सम्हालिन नसक्दा गोल गर्न चुकिन् ।

पहिलो हाफको अग्रतापछि केही सुस्ताएको काठमाडौंले मध्यपंक्ति र फरवार्ड लाइनको तालमेल मिलाउन नसक्दा गोलका थप आकर्षक मूभ बनाउन सकेन । नवलपरासीको टीममा तालमेलको अभाव देखिन्थ्यो । नवलपरासीकी तिलकुमारी बीरकट्टा र सरिता न्यौपानेले फरवार्ड लाइनमा मिहिनेत गरेपनि टोलीलाई जिताउन सकेनन् ।

दोस्रो हाफको १६ औं मिनेटमा सरिता न्यौपानेले विपक्षी किपरलाई बिट गरेर भली गरेको प्रहारलाई काठमाडौंकी अनिता श्रेष्ठले गोललाइन नजिकबाट रोक्दा नवलपरासी बराबरी गर्ने अवसरमा विमुख भयो । यो नतिजाले काठमाडौं ६ अंकसहित समूह बिजेता बनेको हो ।

बालिकालाई पनि समान अवशर दिउँ भन्ने सन्देश दिन एन्फा र प्लान इन्टनरनेनल नेपालको संयुक्त आयोजनामा सञ्चालन भइरहेको १७ बर्ष मुनिका बालिकाहरु बीचको खेलमा १२ जिल्ला सहभागि थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय