५० हजार युवालाई रोजगारी दिने उद्योग मन्त्री महेश बस्नेतको ‘जागिर मोडल’

काठमाडौं, १२ कार्तिक- उद्योग मन्त्री भएलगत्तै महेश बस्नेतले ५० हजार युवालाई जागिर दिन्छु भन्दा धेरैले यसलाई हावादारी गफ भनेर उडाइदिए । एकबर्षमा एक हजार व्यक्तिलाई पनि रोजगारी थप्न सरकारलाई मुस्किल परिरहेको अवस्थामा ५० हजारलाई जागिर दिन्छु भन्ने मन्त्रीको भाषण पत्याउने कुनै आधार पनि छैन । त्यसैले आफ्नो कुरा प्रष्ट्याउन भन्दै मन्त्री बस्नेतले मंगलबार साँझ पत्रकार डाकेर आफ्नो ‘जागिर मोडल’ सुनाएका छन् ।

उद्योग मन्त्री महेश बस्नेत

उनको मोडलमा सीपमुलक शिक्षा र तालिमलाई जोड दिईएको छ । सबै क्षेत्रका युवाको समान सहभागिता गराउनका लागि मन्त्री बस्नेतले प्रत्येक निर्वाचन क्षेत्रबाट युवा छनौट गर्ने योजना सुनाए । यस्तो छनौट प्रक्रियामा त्यहाँका सभासद्, स्थानीय विकास अधिकारी र सरकारले बनाउने भनेको जिल्ला औद्योगिक प्रवद्र्धन बोर्डलाई जिम्मा दिने मन्त्री बस्नेतको योजना छ । सीप मुलक तालिमका लागि एसएलसी फेल भएका युवालाई प्राथमिकता दिने र त्यसका लागि बिशेष खालको तीन महिने पाठ्यक्रम निर्माण गर्ने उद्योग मन्त्री बस्नेतले बताए ।

‘१० बर्षसम्म मेहेनत गरेका विद्यार्थीलाई एसएलसी फेल गराउनुहुन्न । एसएलसी फेल नगराउने भन्नुको अर्थ ४० प्रतिशत भन्दा माथि अंक ल्याउने बिद्यार्थी औपचारीक उच्च शिक्षा लिन जान्छन् । त्यो भन्दा कम नम्वर ल्याउनेले प्राविधिक शिक्षा लिन्छन् । १० बर्ष मेहेनत गरेका छोराछोरी फेल भए भनेर बाबुआमा रुन नपरोस्’ मन्त्री बस्नेतले भने–‘बिहान बेलुकी स्कुल कलेजका भवन उपयोग गर्न सक्छौं । ८ कक्षा पढेपछि घर व्यवहार छोड्छ, १० पढेपछि गाउँ छोड्छ, १२ पढेपछि देश छोड्छ भन्ने भनाई छ । त्यो घर र गाउँ नछोड्ने वातावरण हामीले बनाउन सक्छौं ।’

पत्रकारसँगको कुराकानीका क्रममा मन्त्री बस्नतेले नेपाली युवाले घरायसी काम गर्न छोडिसकेकाले दक्ष मात्र होइन अदक्ष काम पनि सिकाउनुपर्नेमा जोड दिएका छन् । ‘साबेल चलाउने, कुटो, कोदालो चलाउने, हँसिया, हथौडा चलाउने पनि सिकाउनुपर्छ । उनले भने–‘जसका कारण श्रम प्रति सम्मान र मनोवल पनि बढोस् ।’

यसरी तालिम दिँदा लाग्ने खर्चको पनि उनले लेखाजोखा गरिसकेका छन् । ‘एउटा युवालाई २५ हजार खर्च लाग्यो भने राज्यको सवा अर्ब खर्च हुँदोरहेछ’ उनले भने– ‘एक बर्षमा सवा अर्ब खर्च गरेर ५० हजार युवालाई स्ट्याण्ड बाई बनाउन सक्छौं ।’

उद्योग मन्त्री बस्नेतले सीप सिकेका युवा बेरोजगार भए मासिक दुई हजार रुपैंया भत्ता दिने योजना पनि बनाएका छन् । त्यसबापत प्रत्येक शनिबार सरकारद्वारा सञ्चालित उद्योगधन्दा, बाटो, पुल, पुलेसो, नदि सफाई जस्ता विकास निर्माण सम्बन्धि सार्वजनिक काममा मद्दत गर्नुपर्ने उनको भनाई छ । । नीजि क्षेत्रले पनि यस्ता युवा परिचालन गर्नुपर्ने मन्त्री बस्नेतको सुझाव छ । नीजि क्षेत्रले आफ्नो परियोजनामा आवश्यक पर्ने जनशक्ति उनीहरुकै क्षेत्रवरिपरि उपलब्ध हुने भएकाले कामदार नपाउने समस्या कम हुने उनको भनाई छ ।

यो जनशक्ति परिचालन गर्न ‘एक निर्वाचन क्षेत्र एक हस्तकला ग्राम’ निर्माण गर्ने, प्रत्येक जिल्लामा एउटा–एउटा औद्योगिक क्षेत्र निर्माण गर्ने ठूला योजना पनि सम्भव तुल्याउने उद्योेग मन्त्री बस्नेतको सपना छ । ‘धेरै उद्योगीहरु अहिले उद्योग सञ्चालन गर्न तयार छन् । उनीहरुका लागि हामीले वातावरण तयार गर्न सकेका छैनौं’ उनले भने– ‘देशभरि एक बर्षमा २० वटा मात्र उद्योग खोल्न सक्यौं भने लहर सिर्जना हुन्छ ।’

साथै यस्ता तालिमबाट छानिएका राम्रा युवाहरुलाई प्राविधिक शिक्षातर्फ उच्च शिक्षा लिनका लागि चार÷पाँचवटा प्राविधिक शिक्षालयको व्यवस्था गर्ने योजना पनि उनको छ ।

महिला उद्यमीलाई ५ प्रतिशत व्याजमा ऋण

सरकारले महिला उद्यमीहरुलाई ५ प्रतिशत व्याजदरमा सफ्ट लोन दिने व्यवस्था मिलाएको उद्योग मन्त्री बस्नेतले जानकारी दिए । यस्तो ऋण एक लाख देखि पाँच लाखसम्म पाईनेछ । जसका लागि महिला उद्यमी संरक्षण कोष भनेर यस बर्ष चार करोड रुपैंया छुट्याएको उनले बताए ।

यस्तै, बजेट भाषण मार्फत नयाँ सोच भएका युवाहरुका लागि खर्च गर्ने भनिएको ५० करोड रुपैंया परिचालन सम्बन्धि कार्ययोजना छिट्टै बनाउन लागिएको उनले बताए । उनले भने– ‘त्यसको ठोस कार्यक्रम बनेको रहेनछ अब त्यसको काम हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: