
विनोदकुमार चौलागाई, काठमाडौं- ललितपुरको जावलाखेल खेलमैदान परिसरमा सोमबार पुष्म मेला सकियो । चार दिन चलेको मेलामा २७ हजार अवलोकनकर्ता र ३० लाखको कारोबार भएको थियो । मेलामा भेटिएका एक जना व्यबसायी रुद्रकुमार सुनुवार पुष्प व्यबसायबाट आफु सन्तुष्ट भएको बताउँदै थिए । उनीसँग एक दशक भन्दा लामो अनुभव छ । तर, नर्सरी चलाउन उनलाई भ्याई–नभ्याई छ । काम गर्ने मान्छे नपाउँदा आफैंले बढीसमय दिनुपरेको उनी बताउँछन् । ‘युवा जति सबै बिदेश पलायन भैसके,’ उनी भन्दैथिए, ‘मलाई मात्र हैन सबैजसो पुष्पव्यबसायीलाई काम गर्ने मान्छे चाहिएको छ ।’ गाउँतिरबाट खोजेर ल्याएका युवाहरु पनि छ महिना, बर्ष दिन काम गरेपछि बिदेश हान्निने गरेको उनी बताउँछन् । युवाहरु काममा नटिकेपछि धेरैजसो नर्सरीमा महिला कामदारले काम गर्न थालेको नेपाल फ्लोरिकल्चर एशोसियसन् अफ नेपाल (फ्यान)का उपाध्यक्ष कुमार कसजु श्रेष्ठ बताउछन् । ‘सिक्ने खालका मान्छे आउँछन्, अनि छ महिना÷बर्ष दिनमा साईड लाग्छन् ।’ उनी भन्छन्, ‘पुष्प व्यबसायमा काम सिक्ने युवाहरुलाई निकै राम्रो अवसर छ, तर खै अवसर छोप्ने युवा ।’ पछिल्लो समय पुष्प व्यबसाय फष्टाउँदै गएको उनी बताउँछन् । जति व्यबसायी आएपनि बजारको अभाव नहुने उनको बुझाई छ । तर बजारको आबश्यकता र मागलाई बुझिएन भने व्यबसाय चौपट हुने उनले बताए । खाडीमा जाने केहि युवाहरुलाई काम सिकेर त्यहाँको भन्दा राम्रो आम्दानीको बाटो पुष्प व्यबसाय बन्नसक्ने उनले बताए । श्रेष्ठ भन्छन्, ‘शहरीकरणसँगै घर सजावटका लागि फूल उपयोग गर्नेको संख्या दिनहुँ बढ्दो छ । घर, होटल रेष्टुराँ, ट्राभल एजेन्सी, बैंक र अपार्टमेन्ट फूलले सजाएर आकर्षक बनाईन थालिएको छ ।’ नेपालीहरुमा विस्तारै फुलप्रती जागेको मोहले अबका दिनमा बजार अझ धेरै विस्तार हुने सम्भावना उनले औंल्याए । अहिले उपत्यकामा सञ्चालन भैरहेका १ सय ८ नर्सरी सबै नाफामा सञ्चालन हुनु र माग धान्न नसक्नुले पनि अवसरको ढोका खुला छ भन्ने तर्क गर्छन् फ्यान उपाध्यक्ष श्रेष्ठ । त्यसमाथी नेपाली फुलले अन्र्तराष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति जनाईसकेको छ । फुलको गानो र टिष्यु कल्चर प्लान्ट युरोपियन मुलुकमा निर्यात भैरहेको छ भने कट् फ्लावर युरोपियन मुलुकका साथै जापान, कुबेत, कतार र भारतमा निर्यात भैरहेको छ । गएको वर्ष नेपाली किसानले ४ करोड रुपैंयाँको कुल निर्यात गरेका थिए ।
११ हजारलाई प्रत्यक्ष, ४१ हजारलाई अप्रत्यक्ष रोजगारी
नेपालमा अहिलेसम्म ४१ जिल्लाको १ सय ४० हेक्टर क्षेत्रफलमा फूल खेती भैरहेको छ । वार्षिक झण्डै एक अर्बको कारोबार भैरहेको फुल खेतीबाट प्रत्यक्ष ११ हजार र अप्रत्यक्ष ४१ हजारभन्दा धेरैले रोजगारी पाएका छन् । गमला निर्माण, माटो तथा मल विक्रि÷व्यबस्थापन, क्रेट निर्माण जस्ता नेदेखिएका क्षेत्रले पनि रोजगारी सिर्जना गरिरहेको छ ।
पुष्प खेती सम्बन्धि प्राविधिक एसएलसी
फ्यानले प्राविधिक शिक्षा तथा व्यबसायीक तालिम परिषद् (सीटीईभीटी)सँग मिलेर पुष्प व्यबसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक एसएलसीको पाठ्यक्रम तयार पारेको छ । आठ कक्षा भन्दा माथी उत्तिर्णलाई २९ महिने र एसएलसी उत्तिर्णलाई १९ महिने पाठ्यक्रम तयार पारिएको फ्यान उपाध्यक्ष कसजुले जानकारी दिए । नर्सरी व्यबस्थापन र पुष्प सजावट (फ्लावर एरेन्जमेन्ट) बिषयका पाठ्यक्रम तयार पारिएको उनको भनाई छ । यि बिषयमा आउँदो क्यालेण्डरदेखि पढाई सुरु हुने उनले जानकारी दिए । पढेर आएका युवाबाट व्यबसायमा स्वच्छ प्रतिस्पर्धा हुने र दक्ष जनशक्तिको अभाव नहुने उनको बुझाई छ । यस्तै, निशुल्क दिईएको तालिममा युवा आकर्षण कम देखिएपछि फ्यानले अबदेखि सञ्चालन गर्ने तालिम शुल्क लिएर मात्र गर्ने योजना बनाएको छ । सित्तैमा पाईएको तालिम भनेर प्रशिक्षार्थीले लापरवाही गर्ने गरेकाले निशुल्क तालिमका बिषयमा पुर्नविचार गर्न लागिएको उनले बताए ।