हामीलाई हेर्छन् र हाँस्छन्, हामी हाँसोका पात्र बनेका छौँ

रविराज बराल, काठमाडौं : गाउँघरमा पिङ हाल्दैछन्। हिमाली क्षेत्रबाट भेडाच्यांग्रा सहर झारिँदैछ। दसैं ‘अफर’ ले सपिङ मलका भित्ता रंगिएका छन्। पत्रपत्रिकाका पाना भरिएका छन्। सहरबाट धेरै मान्छे आफ्नो गाउँ गैसके। विदेशिएकाहरु पनि पारिवारिक पुनर्मिलनका लागि स्वदेश फर्किँदैछन्। जमरा उम्रिसके। दसैंको टिका आउन चार दिनमात्र बाँकी छ। तर राजधानी काठमाडौंमा २० महिनादेखि धर्नामा बसेका वृद्धवृद्धालाई भने दसैं आएजस्तो लागेको छैन।

‘दसैं आयो भन्छन् तर हामी त बिहानदेखि बेलुकासम्म यही धर्नामा छौँ’, घुमखर्क गाविस ३, काभ्रेका ८० वर्षीय विष्णुहरी तिमिल्सिनाले भने, ‘दसैंलाई पाका मान्छेको आशिर्वाद थाप्ने चाड भन्छन्। तर खै सरकार हाम्रा कुरै सुन्दैन।’

तिमिल्सिनाजस्तै सय जनाभन्दा बढी वृद्धवृद्धा मीनभवनस्थित यातायात व्यवस्था विभाग कार्यालय अगाडि धर्नामा बसेको २० महिना पुगिसक्यो। २०६९ फागुन २३ गतेदेखि यातायात भाडादर र स्वास्थ्य उपचारमा आधा छुट, मासिक तीन हजार वृद्धभत्ताको माग गर्दै ज्येष्ठ नागरिक आन्दोलनमा छन्।

समय कटाउन उनीहरुले माइक, म्युजिक प्लेयर र स्पिकरको व्यवस्था गरेका छन्। धेरैजसो उनीहरु भजन सुन्छन्। स्वदेशगान बजाउँछन्। गीत सुन्दासुन्दै दिक्क लागे कविता पढ्छन्। स्वर हुनेले आफै गीत पनि गाउँछन्। नाच्छन्। भाषण गर्छन्। ताली बजाउँछन्।  गत शनिवार करिव ५० जनाजति वृद्धवृद्धा यातायात व्यवस्था विभाग अगाडि जम्मा भएका थिए। पाँच सातजना वृद्धवृद्धा भजनमा छमछम नाचिरहेका थिए। अरु ताली बजाउँदै गाइरहेका थिए, ‘हे कृष्ण कस्तो आपत् पर्‍यो मलाई……।’

‘मान्छेहरु हामीलाई हेर्छन् र हाँस्छन्। वरपर हिँड्नेका लागि हामी हाँसोका पात्र बनेका छौँ’, ज्येष्ठ नागरिक संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले भन्छन्, ‘हाम्रा १० जना आमा धर्नाअवधिमै परलोक भए। खै सरकारले सुनेको?’

धर्ना कार्यक्रम सुरु भएदेखि यता धर्नामा सहभागी भएका १० जनाको मृत्यु भैसकेको छ। धर्नामा ६० देखि ९० वर्षभन्दा माथिका वृद्धवृद्धाले सहभागिता जनाउँदै आएका छन्।

ज्येष्ठ नागरिक सम्बन्धी ऐनले ६० वर्ष पूरा भएकालाई ‘ज्येष्ठ नागरिक’ मानेको छ। ऐनले जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको तथा परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नु परेको व्यक्तिलाई असहाय ज्येष्ठ नागरिक मानेको छ।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ‘सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईओटा सीट सुरक्षित राख्ने र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छूट दिनुपर्ने’ व्यवस्था छ। धर्नामा रहेका वृद्धवृद्धाले ऐनको यो व्यवस्थाले वृद्धवृद्धालाई विभेद गरेको भन्दै सबै वृद्धवृद्धालाई छुट दिन माग गरेका छन्।

‘स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने’, व्यवस्था ऐनमा भएपनि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र आधा छुट दिने व्यवस्था छ। यो सुविधा निजी अस्पतालमा पनि हुनुपर्ने उनीहरुको माग छ।

सर्वोच्च अदालतले २०६७ चैत २४ गते ‘ज्येष्ठ नागरिकलाई सवारी भाडा दर र उपचारमा ५० प्रतिशत छुट दिन’ सरकारको नाममा परमादेश जारी गरिसकेको छ। सर्वोच्चको परमादेशको आदेश तुरुन्त लागू गर्नुपर्ने वृद्धवृद्धाको माग छ। २०६८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख छ। ‘हामीले सर्वोच्चले दिएको आदेश मान र हामीलाई बाँच्न सजिलो बनाइदेउ भनेको त हो’, पराजुलीले भने, ‘न राजनीतिक दललाई चासो छ न त मानवअधिकार आयोगलाई। के हामी मानवको कोटीमा पर्दैनौँ?’ घरमा नातीनतिना खेलाएर, भजनकीर्तन गरेर बस्नुपर्ने वृद्धवृद्धा कानुनी व्यवस्था कार्यान्वयनका लागि दुई वर्षद्खि धर्ना बस्दापनि सरकारले नसुन्नु दाजमर्दो भएको उनी बताउँछन्। यो बाहेक मासिक ३ हजार वृद्धभत्ता पाउनुपर्ने उनहरुको माग छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐनमा ६० वर्ष पूरा भएकालाई ‘ज्येष्ठ नागरिक’ भनिए पनि ७० वर्ष माथिकालाई मात्र सरकारले भत्ता दिने गरेको छ।

सरकारले स्थानीय विकास मन्त्रालयमार्फत वृद्धवृद्धालाई मासिक पाँच सयको दरले सामाजिक सुरक्षा भत्ता दिन्छ। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता पछि बढ्दै तीन सय रुपैयाँ पुग्यो। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा यसलाई बढाएर पाँच सय पुर्‍याइएको थियो।

यति भत्ता अहिलेको महँगीमा औषधउपचारका लागि पर्याप्त नभएको वृद्धवृद्धा बताउँछन्। ‘दिनको १६ रुपैयाँले अब एक कप चिया आउन छोडिसक्यो। के गर्नु त्यो पैसा?’, दोलखा चरीकोटका ७४ वर्षीय कृष्णप्रसाद कोइराला भन्छन्, ‘दिनको एक सय रुपैयाँ भत्ता देऊ भनेका न हौँ।’ उनीहरुले पहुँचमा बस्नेहरु मरेको घोषणा गर्दै विम्बात्मक रुपमा शंख बजाउँदै शवयात्रा पनि गरे। काजक्रिया गरे। ११ दिनसम्म भागवत पाठ गरे। अर्थमन्त्री रामशरण महत उनीहरुलाई भेट्न धर्नास्थलमै आए। बजेटमा सम्वोधन गर्छु भनेर आश्वासन दिए। ‘बजेट आउने दिन रेडियोमा काम ठोसेर बस्यौँ। के सम्वोधन गर्नु? टालटुल पार्न पो आएक रहेछन्’, धर्नास्थलमा भेटिएको एक वृद्धाले भनिन्।

दसैंमा धर्ना छुट्टी

दसैंअवधिमा पनि धर्ना जारी राख्ने ‘मुड’ मा रहेका बआमालाई घर त जानैपर्छ भन्ने लागेपछि उनीहरुले दसैं अवधिभर धर्ना कार्यक्रम बन्द गर्ने निर्णय गरेका छन्। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अर्थात फूलपातीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उनीहरुले धर्ना स्थगित गरेका छ्न्। धर्नामा सहभागी हुन टाढाटाढाबाट आएका वृद्धवृद्धा घर फर्किसकेका छन्। ‘दसैंमा पनि कति जिन्दावाद/मुर्दावादका नारा लगाउनु भनेर धर्ना स्थगति गर्ने निर्णय गरेका छौँ’, संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले भने, ‘दसैं सकिए पछि फेरी आउँछौँ।’   पहिलोपोस्टबाट   http://www.pahilopost.com/content/-721.html