शरणार्थी स्ट्याटसबाट ग्रीनकार्ड प्राप्त गर्नेहरु समस्यामा

रोसन पुरी, काठमाडौं /विजय पौडेल  न्यूयोर्क अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बाध्यकारी प्रावधान अनुरुप सन् २०१५ को नोभेम्बर २४ सम्ममा हरेक नेपालीले हस्तलिखित पासपोर्टको सट्टा मेसिन रिडेबल पासपोर्ट लिइसक्नुपर्ने भएको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)को सदस्य राष्ट्र हो । आईसीएओको सदस्य राष्ट्रको हैसियतले अब सन् २०१५ को नोभेम्बर २४ देखि हातले लेखिएका कुनै पनि नेपाल सरकारद्वारा जारी गरिएका राहदानी प्रयोगमा आउने छैनन् । एकातर्फ एमआरपी लिनुपर्ने बाध्यकारी व्यवस्था, अर्कोतर्फ विदेशमा बस्ने नेपालीलाई त्यही बाध्यकारी व्यवस्था पिरलो बन्दै गएको छ । सरकारले सन् २०१५ को नोभेम्बर २४ देखि हस्तलिखित राहदानी नचल्ने सूचना जारी गरेपछि अहिले अमेरिकास्थित वासिङ्टन डिसी र न्यूयोर्कको कन्सुलेट कार्यालयमा एमआरपी लिनेको चाप बढ्न थालेको छ । एमआरपी लिन जानेहरुमध्ये कतिपय रित्तै हात फर्किने गरेका छन् भने कतिपय राहदानीका लागि दर्खास्त दिएको २ वर्षसम्म पनि राहदानी हात नपरेको गुनासो गरिरहेका भेटिन्छन् ।

शुरुशुरुमा राजनीतिक शरण लिएर अमेरिका बसेका नेपालीहरुको राहदानी नवीकरण वा एमआरपीका लागि राजदूतावास वा कन्सुलेटले कुनै प्रश्न नउठाइकन राहदानी दिंदै आए पनि पछिल्लो समय अमेरिकामा राजनीतिक शरण लिएर बसेका नेपालीहरुको राहदानी नवीकरण गर्न नमिल्ने भन्दै नेपाल सरकारका निकायले फर्काउने गरेका छन् । यस्तो समस्या परिवारको मुख्य राजनीतिक शरणार्थी नेपालीलाई भने लागू भएको छैन । तर मूल शरणार्थीको डिपेन्डेन्टको हैसियतबाट पछि नेपालबाट भिसा लिएर आउने परिवारको राहदानीमा राजदूतावासले दिएको भिसामा “Not visa. Foil prepared at DHS request. May be boarded without transportation carrier liability” लेखिएको देखेपछि वा पासपोर्टको कुनै पानामा Asylee भन्ने शब्दको छाप देखेपछि पासपोर्ट दिन मिल्दैन भनेर फर्काउने गरिएको छ ।

मुख्य राजनीतिक शरणार्थीको राहदानीमा भने त्यस्तो कुनै संकेत नदेखिने हुँदा नेपाली राजदूतावास वा कन्सुलेटले पासपोर्ट हेरेर शरणार्थी छुट्याउन सक्दैन अनि नवीकरण गर्ने गरेको छ, तर सोही शरणार्थीको आफ्नै परिवार र बच्चाहरुलाई अमेरिकामा शरण लिने शरणार्थी भन्दै राहदानी दिने गरेको छैन र हाललाई रोकिदिएको छ । राहदानी लिन जाने यस्ता नेपालीहरुलाई मन्त्रालयको निर्देशन भन्दै फर्काउने गरिएको छ । तर, नेपाल सरकारको निर्देशिकामा भने स्पष्ट रुपमा राहदानी दिन नमिल्ने भन्ने कहीँ उल्लेख गरिएको छैन । गुल्मीका अशोक ज्ञवाली आफू नेपालबाट राजनीतिक कारणले नै विस्थापित हुनुपरेको र विस्थापित भएर अमेरिका आएपछि राजनीतिक शरण लिन बाध्य भएको बताउँछन् । ‘मैले अमेरिकामा शरणार्थीको मान्यता प्राप्त गरेपछि मेरो डिपेन्डेन्टमा आएकी मेरी पत्नी र बच्चा नेपाली नागरिक हुन् तर न्यूयोर्कको कन्सुलेटले शरणार्थीलाई राहदानी दिन मिल्दैन भन्छ’ – उनको गुनासो छ । तर ज्ञवालीले भने एमआरपी लिइसकेका छन् । ज्ञवाली भन्छन्– ‘राहदानी परिवारलाई नेपाल जानलाई होइन, अन्य कुनै पनि मुलुक जान आवश्यक छ भने नेपाली नागरिकले कुन देशको राहदानी लिने ?’ ज्ञवाली मात्र होइन, क्यालिफोर्नियाबासी शान्तिराम ढकाल पनि नेपाली समुदायभित्र यो समस्या अत्यन्त संवेदनशील समस्याको रुपमा आएको बताउँछन् । उनी भन्छन्– ‘अमेरिकामा थुप्रै नेपाली नागरिक शरणार्थी छन् । यदि उनीहरुको राहदानी अब एमआरपी नबनाइदिने वा नवीकरण नगरिदिने हो भने उनीहरुले कसरी अर्को देशमा भ्रमण गर्ने हो ?’ ठूलो संख्यामा राजनीतिक शरणार्थीको स्ट्याटस लिएर अमेरिकामा बसेका नेपालीहरुको परिवार तथा बालबच्चाहरुको राहदानी नवीकरण गर्न दूतावास तथा कन्सुलेटले नमानेपछि यसै विषयमा प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा आफूले नियोग राजदूत दुर्गाप्रसाद भट्टराईसँग फोन सम्पर्क गरेर जिज्ञासा राख्दा मन्त्रालयले रोक्नू भन्ने आदेश दिएका कारण रोक्नुपरेको उनले बताए । थापा भन्छन्– ‘जसले शरणार्थीको स्ट्याटस लियो, उसको राहदानीमा केही लेखिएको हुन्न, खुरुखुरु एमआरपी दिन्छन्, तर उसको परिवार र बच्चाको राहदानीमा छाप लगाएको देखिने भएकाले रोक्ने गरेको आफूले सुनेको छु ।’ अमेरिकामा रहेका नेपालीहरुको कुल संख्यामध्ये झण्डै ५० प्रतिशत नेपालीहरुले राजनीतिक शरणार्थीको स्ट्याटसबाट ग्रीनकार्ड लिएको अनुमान छ । न्यूयोर्कस्थित कन्सुलेटका राहदानी शाखाका डिल्ली आचार्यका अनुसार यस विषयमा काठमाडौंसँग राय माग गरिएको तर जबाफ नआएको बताउँछन् । ६ महिना अगाडी राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले  भनेका छन्– ‘कुनै पनि नेपालीले उसको स्ट्याटस हेरेर नागरिकले पाउने कुनै पनि सेवासुविधाबाट वञ्चित हुनु पर्दैन ।’ त्यति मात्र होइन, खनालले त्यतिबेला नेपाली नागरिक हो भन्ने प्रमाण भयो भने सबैले राहदानी पाउने अधिकार राख्छन् र त्यस्तालाई कुनै पनि हालतमा रोक्न नमिल्ने बताएका थिए । तर, ६ महिनापछाडि अहिले उनको बोली फेरिएको छ । अहिले उनले शरणार्थी भनेर अमेरिका बस्ने नेपालीलाई किन चाहियो नेपालको राहदानी भनेका छन् । त्यति मात्र होइन उनले अमेरिकामा गएर राजनीतिक शरण लिनेहरुका कारणले गर्दा नेपालको बेइज्जतसमेत भएको बताएका छन् ।   ० शंकर बैरागी, सचिव, परराष्ट्र मन्त्रालय यो विषयमा मन्त्रालयमा अहिले छलफल भैरहेको छ । सरोकारवाला निकायबीच अहिले के गर्ने भन्ने विषयमा छलफल भैरहेकाले यसै भन्न सकिने अवस्था छैन । दिन सकिने या नदिने भन्ने विषय छलफलका आधारमा तय हुनेछ । तर यतिसम्म म भन्न सक्छु कि के गर्ने भन्ने कुराको टुंगो चाँडै नै लाग्नेछ । कति दिनभित्र भन्ने कुराको टुंगो लाग्न भने सक्दैन । कसरी टुंगोमा पुर्याउने भन्ने कुरा कूटनीतिक विषय भएकाले अहिले नै भन्न मिल्दैन । यतिमात्र हो कि यस विषयमा गम्भीर छलफल भैरहेको छ । http://vishwanews.com बाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय