हेटौंडाको सीमाचोक नजिकै अखण्डमार्गको एउटा कुनामा उनको चियापसल छ । साँघुरो कुनामा चिया बनाइरहेका उनीकहाँ ग्राहक एकाबिहानै पुग्छन् । विहान सबेरै उठेर चियाको प्रबन्ध मिलाउनु, हेटौंडा बजारभित्र अर्डर आएको ठाउँमै चिया पुर्याउनु उनको दैनिकी हो ।
२८ बर्षदेखि उनको दैनिकी फेरिएको छैन । तर जीवन भनें धेरै बदलियो । विहान खाए बेलुकाको छाक कसरी टारौँ भन्ने कमजोर आर्थिक अवस्थाबाट चिया बेचेरै करोडौं सम्पतिको मालिक बनेका छन् जेठा दाई अर्थात बुद्धिबहादुर श्रेष्ठ ।
हुन त उनी परिवारका माइला छोरा हुन् । तर सबैले उनलाई जेठादाई नै भन्छन् । चिया बेच्दा बेच्दै बनेको उनको यहि परिचय अहिले सक्कली जस्तै बनेको छ । उमेर ५२ बर्ष भयो । सिन्धुपाल्चोकबाट जीवन गुजाराको उपाय खोज्दै हेटौंडा पसेको पनि अव त २४ बर्ष वित्यो । ‘सानामा कहिल्यै पढ्न पाइएन । त्यसैले खेप्नुसम्म हण्डर खेपियो । त्यसैले छोराछोरीले चाहिं आफुले जस्तो गोता खानु नपरोस् भनेर दुईचार दाम कमाएर उनीहरुलाई पढाउन ठेलामा चिया बेच्न थालेको थिएँ’ जेठा दाई गफिंदै गए ‘हेटौंडाको राप्तीरोडमा रात्रीकालीन बसका यात्रुलाई कुर्दै रात छ्याङ्गै कटाएको पनि हिजो जस्तै लाग्छ ।’
राप्तीरोडमा ठेलामा २२ बर्ष चिया बेचेपछि सिमाचोक नजिकैको एउटा कुनामा उनले चिया पसल सुरु गरे । एक रुपैयाँ कपमा चिया बेच्न थालेका बुद्धिबहादुरले देख्दा देख्दै जुग बदलियो, महंगीले आकाश छोयो । हुन त अहिले बजारमा एक कप चियाको भाउ १५ रुपैंया पुगिसक्यो । तर उनी कपको १० रुपैंयामै चिया बेचिरहेका छन् ।
दिनमा दुई देखि तीन सय कप चिया विक्रि हुन्छ । ‘नेता, शिक्षक, पत्रकार, विद्यार्थी सबै जेठादाई भन्दै चिया खान आउँछन्, त्यहि खुशी लाग्छ नी’ उनको कामको सन्तोष गर्ने मुख्य बाटो यहि हो । ‘हिजो कहाँ थिएँ, अहिले कहाँ आइपुगें, यो सवै मान्छेको मायाले नै त हो’ उनले कमाएको ईष्टमित्रको पनि हरहिसाव राखेका छन् ।
झण्डै अढाई दशक वित्यो चिनि, चियापत्ती र चियामसलासँगै । अर्थात आधा जीवन त त्यहि चियासँगै घुलेर सकियो । यसमा असन्तोष मान्नु पर्ने कारण पनि त छैन । त्यहि चिया बेचेर नै जेठादाईले हेटौंडामा करोड मूल्य पर्ने घर घडेरी जोडिसकेका छन् । बाँकी जीवन सुविस्ताले बित्छ भन्ने आधार पनि तयार भएको छ ।
दुईभाई छोरा कोल्ड स्टोर चलाउँछन् । अनी छोरी टेलर्स । कमाउन विदेश जानु पर्दैन भन्ने सिकाउन उनले आफ्नै ईलम, परिश्रमको उदाहरण देखाएर उनले कामको बाटो लगाएका हुन् ।
जेठादाइले चिया बेचेर अहिले पनि महिनामा सरदर ४० हजारभन्दा धेरै कमाउँछन् । ‘डेढ दुई लाख रुपिया खर्चेर खाडी मुलुक जानेहरु आफ्नै देशमा केही गर्न लाज मान्छन्’ केहि बेर गम खाएर उनी भन्छन् ‘कामलाई सानो–ठूलो नठानी गर्ने हो भने यहिं मनग्ये आम्दानी गर्न सकिन्छ ।’
चिया बेचेरै राम्रो आर्थिक हैसियत बनाएका जेठा दाई कामलाई सानोठूलो नभनी लगातार परिश्रम गर्दा बनेको गर्व गर्न लायक एउटा सग्लो पात्र हो ।
(शिव चौलागाईँ, हेटौंडा)