रोजगारीका लागि मलेसिया जान चाहनेले जान्नै पर्ने कुरा

आवश्यक योग्यता तथा पूर्व जानकारी 

  • रोजगारीका लागि मलेसिया जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।
  • कुनै न कुनै सीप सिकेर सोही अनुरुपको काममा मात्र मलेसिया जानु पर्दछ । नत्र त्यहाँ धेरै गाह्रो र थोरै कमाई हुने काम मात्र पाइन्छ । सीप सिकेर सोही अनुसारको काममा जाँदा कमाई राम्रो हुन्छ ।
  • वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न ।
  • आम्दानी र लागत खर्चका बारेमा थाहा पाउनुहोस् । कतिपय अवस्थामा आम्दानी भन्दा धेरै लागत पर्न सक्छ । यसमा सचेत रहनुहोस् ।

लागत खर्च

  • रोजगारीका लागि मलेसिया जाने व्यक्तिले बढीमा रु ८० हजार रकम तिर्नुपर्दछ । यो अधिकतम लागत खर्च हो । यसमा भिसा शुल्क र हवाई टिकट वापतको रकम समेत समावेश गरिएको हुन्छ ।
  • कतिपय कम्पनिले निःशुल्क भिसा र हवाई टिकट दिएका हुन्छन् । त्यस्तो भएमा लागत खर्च कम पर्दछ । विदेश उड्नु अघि
  • काम गर्न विदेश जानु अघि अनिवार्य रुपमा दुई दिनको अभिमुखिकरण तालिम लिनु पर्दछ । यस्तो तालिम लिन रु ७ सय लाग्दछ । यो तालिमको प्रमाणपत्र बनाएर ल्याइदिने तर तालिम लिनु नपर्ने भनेर तपाईलाई कतिपय म्यानपावर कम्पनी वा एजेण्टहरुले भन्न सक्छन् । तर त्यसो गर्नु हुन्न । तालिम लिएर मात्र विदेश जानु पर्दछ ।
  •  वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा रु १ हजार तिर्नुपर्दछ । कथम्कदाचित् विदेशमा कुनै भवितव्यमा परेमा यहि कोेषबाट राहत पाउन सकिन्छ ।
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनिवार्य रुपमा जीवन बिमा गर्नुपर्दछ । सम्झौता अवधिमा कामदारको मृत्यु भएमा वा अङ्गभङ्ग भएमा नेपालमा बिमा गरिएको कम्पनिमा ५ लाखसम्मको बिमा दावी गर्न सकिन्छ ।
  • सरकारद्धारा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य जाँच गराउनु पर्दछ ।
  • वैदेशिक रोजगारीमा मलेसिया जाँदा सम्झौता गरेर जानु पर्दछ । त्यस्तो सम्झौता म्यानपावर कम्पनीहरुले दिन्छन् । सम्झौता पत्रको एक प्रति घरमा राखेर मात्र विदेश जानु पर्दछ । यसले विदेशमा सो अनुसार काम र तलव नपाइएमा उजुरी गर्न र क्षतीपूर्ती भराउन ठूलो मद्धत पुग्दछ ।
  • म्यानपावर कम्पनीले बढीमा तीन महिना भित्रमा विदेश उडाइसक्नु पर्दछ ।

विदेश जाने क्रममा

  • विदेश जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्र उड्नु पर्दछ । कुनै कारणवस विदेशका कुनै विमानस्थलबाट जानु पर्ने भएमा वैदेशिक रोजगार विभागबाट त्यसको स्वीकृति लिएको हुनु पर्दछ ।
  • चुरोट, खैनी, मर्चा, भाङको दाना जस्ता कुरा साथमा लिएर जानु हुँदैन । यस्ता कुरा साथमा फेला परेमा कानूनी झमेलामा पर्न तथा जेलमा पर्न सकिन्छ । त्यसैले होसियार रहनुहोस् ।
  • जाँदा साथमा मलेसियाको मुद्रा रिंगिट केहि बोकेर जानुहोस् । यसले तपाईलाई त्यहाँ पुगेपछि केहि समय चलाउन आवश्यक पर्ने रकम हुन्छ ।
  • विमानस्थलमा उत्रिएपछि रोजगारदाता लिन नआएमा नेपालमा आफुलाई पठाउने म्यानपावर कम्पनीमा फोन गरी त्यसका बारेमा जानकारी गराउनु पर्दछ ।
  • २४ घण्टा भन्दा बढी समयसम्म पनि कोहि लिन नआएमा तल उल्लेखित सहयोगि निकायमा सम्पर्क गर्नुहोस् । त्यहाँबाट तपाईले मद्धत पाउन सक्नुहुन्छ । नेपाली दुतावास, क्वालालम्पुर, मलेसिया फोन नम्वरः ०३–२२८२ ०२४४ ०३–२२८२ ५९३४

जिफण्ट सपोर्ट ग्रुप सम्पर्क व्यक्ति वेदकुमार खतिवडा मोवाइल नम्वरः ०० ६०–०१४६४६७३१५ मलेसियामा बस्दा ध्यान दिनुपर्ने कुरा

  • मलेसियामा चोरी तथा लुटपाटको समस्या धेरै छ । त्यसैले कमाएर जोेगाएको रकम नेपाल पठाउँदा विशेष ध्यान दिनुपर्दछ ।
  • काम गर्दै गरेको कम्पनीको आई डी कार्ड वा जलान कार्ड सधैं साथमा बोक्नुहोस् ।
  • रोजगारदाताले दुर्घटना बिमा गरे/नगरेको यकिन गर्नुहोस् । कुनै दुर्घटनामा परेमा त्यसको क्षतीपूर्ती पाइन्छ । नपाएमा श्रम विभाग वा औद्योगिक सम्वन्ध बिभागमा उजुरी हाल्नु पर्दछ ।
  • मलेसियामा खान र बस्न रोजगारदाताले दिनु पर्दछ । त्यस वापत रकम कट्टा गर्न पाईंदैन । यदि कुनै रोजगारदाताले त्यसो गरेमा श्रम विभागमा उजुरी गर्नु पर्दछ ।
  • तपाईसँग भएको श्रम सम्झौता नै तपाईको कानूनी आधार हो । त्यसमा लेखिएका कुरा तपाई र तपाईको रोजगारदाताले पालना गर्नुपर्दछ । सम्झौता पत्र अनुरुपको ज्याला तथा अन्य सुविधा नपाएमा कहाँ उजुरी गर्नुपर्छ भन्ने जानकारी लिनुहोस् ।
  • मलेसियामा आफुखुशी रोजगारदाता फेर्न पाईंदैन । तर कसैलाई जवर्जस्ती कामबाट निकालिएमा त्यसको ६० दिन भित्रमा औद्योगिक सम्वन्ध विभागमा उजुरी दिन सकिन्छ ।
  • कुनै समस्या परेमा मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली दुतावासमा मद्धत माग्न सकिन्छ । क्वालालम्पुरमा रहेको नेपाली दुतावासको ठेगाना नेपाली दुतावास, मलेसिया क्वालालम्पुर फोन नम्वरः ०३–२२८२ ०२४४ ०३–२२८२ ५९३४
  • मलेसियामा कादारहरुले मान्यता पाएको मजदुर संगठनका गतिविधिमा भाग लिन पाउँछन् । तर हड्ताल वा धर्ना गर्न पाउँदैनन् । त्यसैले रोजगारीका लागि मलेसिया जाँदा त्यहाँको मजदुर संगठनसँग सम्पर्कमा रहनु पर्दछ । यसले त्यहाँ कुनै अप्ठ्यारो परेमा मद्धत पाइन्छ । ड्ड मलेसियामा जिफण्ट सपोर्ट ग्रुप छ । कुनै समस्या परेमा सहयोगका लागि जिफण्ट सपोर्ट ग्रुपका सदस्यहरुसँग सम्पर्क गर्नु पर्दछ । जिफण्ट सपोर्ट ग्रुप सम्पर्क व्यक्ति वेदकुमार खतिवडा मोवाइल नम्वरः ०० ६०–०१४६४६७३१५ एसएमएस हेल्पलाइनः ६०१२ २२३ ४३५७ ६०१२ २२३ Help
  • समस्यामा परेमा मलेशियन ट्रेड यूनियन महासंघ(एमटीयूसी) मा पनि सम्पर्क गर्न सकिन्छ । टेलिफोन सम्पर्कः ०३–८०२४२९५३ एसएमएस हेल्पलाइनः ६०१२ २२३ ४३५७ ६०१२ २२३ Help
  • कुनै कारणले पक्राउ परेमा टेलिफोन गर्न पाउने कानूनी अधिकार हुन्छ । त्यसको उपभोग गरी सहयोगि निकायमा मद्धतका लागि सम्पर्क गर्नुहोस् ।
  • मलेसियामा विदेशी श्रमिकलाई मलेसियन वा काम गर्ने अन्य व्यक्तिसँग विवाह गर्ने अधिकार छैैन । त्यस्तो अवस्थामा जन्मेको बच्चा समेत अवैध मानिन्छ । त्यसैले यसमा ध्यान दिनुहोस् ।
  •  विदेशी श्रमिकले त्यहाँको गृह मन्त्रालयको अनुमति वेगर काम वा रोजगारदाता परिवर्तन गर्न पाउँदैनन् । अनुमति विना त्यसो गरिएमा गैरकानूनी ठहरिन्छ । त्यसरी बस्नु हुन्न ।

तलव तथा अन्य सुविधा

  • मलेसियामा काम गर्न जाने कामदारका लागि न्यूनत तलव निम्नानुसार तोकिएको छः
  • न्यूनतम मासिक तलव ९ सय रिंगिट(नेरु लगभग २५ हजार ४ सय)
  • सावाह, सारवाक र लाबुवान संघीय क्षेत्रमा का गर्नेहरुको न्यूनतम तलव ८ सय रिंगिट(नेरु लगभग २२ हजार ६ सय)
  • मलेसियामा काम गर्दा यो रकमबाट खान वा बस्न रकम काट्न पाउँदैन । सो व्यवस्था रोजगारदाताले गर्नुपर्दछ ।
  • मलेसियाको श्रम कानून अनुसार दैनिक ८ घण्टाका दरले हप्तामा बढीमा ४८ घण्टा भन्दा धेरै समय काममा लगाउन पाईंदैन ।
  • साप्ताहीक रुपमा एक दिन तलवी विदा दिनु अनिवार्य छ ।
  • अतिरिक्त समय काम गरेको ओभरटाइम भत्ता पाइन्छ ।

सम्झौता अवधि सकिएपछि

  • मलेसियाको श्रम सम्झौता सामान्यतया तीन वर्षको हुन्छ । रोजगारदाता र श्रमिकबीचको सहमतिमा त्यसलाई नवीकरण गर्न सकिन्छ । यसरी सम्झौता नवीकरण गरेमा त्यसको लिखित जानकारी क्वालालम्पुरमा रहेको नेपाली दुतावासलाई दिनुपर्दछ । यति भएपछि मात्र आफु कानूनी रुपमा मजबुत भइन्छ ।
  • लिखित रोजगार सम्झौता बिना बस्नु भनेको अवैधानिक हुनु हो । त्यसरी बसेमा धेरै झण्झट व्यहोर्नु पर्दछ ।
  • सम्झौता सकिएर नेपाल फर्किदा रोजगारदाता कम्पनीले हवाई टिकट दिनु पर्दछ ।
  • कुनै समस्यामा परेर नेपाल फर्किनु परेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले क्षतीपूर्ती भराउने काममा मद्धत गर्दछन् । यसमा पिपुल्स फोरम, प्रवासी नेपाली समन्वय समिति, पौरखी, ओरेक नेपाल जस्ता संघसंस्थाबाट सहयोग लिन सकिन्छ ।

 

  • तपाई वैदेशिक रोजगारीमा जाने विचार गर्दै हुनुहुन्छ भनें तपाईको नजिकै कुनै सुचना केन्द्र छन् भनें त्यहाँ गएर सम्पूर्ण जानकारी लिनुहोस् । जिल्ला प्रशाससन कार्यालयमा राहदानी(पासपोर्ट) बनाउन गएको ठाउँमा पनि त्यस्तो सुचना दिने विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि हुनसक्छन् । उनीहरुको खोजि गर्नुहोस् र राम्रोसँग जानकारी लिएर मात्र वैदेशिक रोजगारीमा जाने प्रकृया अघि बढाउनुहोस् । यसले सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

 

  • तपाईलाई थप जानकारी आवश्यक परेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, काठमाडौंको टोल फ्रि नम्वर १६६००१ ५०००५ मा अथवा वैदेशिक रोजगार विभागको हटलाइन ०१ ४११२३५०(हटलाइन)मा सम्पर्क गर्न सक्नुहुन्छ । (यो जानकारी सेण्टर फर द स्टडि अफ लेवर एण्ड मोविलिटी, जिफण्ट, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, पीएनसीसी तथा ओरेक नेपालका प्रकाशनहरुबाट तयार पारिएको हो ।)
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय