पाल्पाली ढाकाका नाममा भारतीय ढाका कपडा खाडी देखि युरोपसम्म  

पाल्पा -तानसेन ५ का कमल भण्डारी जिल्ला विकास समितिका स्थायी जागिरे हुन् । चार वर्षअघि श्रीमतीले ढाका सिलाउने र बिक्री गर्ने गरेर सानो पसल सुरु गरिन् । उनको पसल राम्रो चल्यो । ढाका बिक्रीबाट राम्रो आम्दानी पनि भयो । कमल जागिरपछिको फुर्सदको समय ढाका कपडा बिक्रीमा सघाउँछन् । श्रीमती सितम भने बिहानदेखि बेलुकासम्म बिक्री केन्द्रमै हुन्छिन् ।

‘चार, पाँचजना कामदारलाई रोजगार पनि दिएकी छु,’ उनले भनिन्, ‘पर्स, टोपी लगायतका सामग्री आफैं र कामदारले बनाउने गर्छौं ।’ उनले अहिले महँगो भाडा तिरेर दुईवटा सटरलाई एउटै बनाएर बिक्री केन्द्र खोलेका छन् ।

ढाका कपडा बिक्रीप्रति मोहित भएर होला कमललाई सरकारी जागिर पनि छाडूँ र यसैमा काम गरौं भन्ने लाग्न थालेको छ । तर, यतिका समय काम गरियो समयावधि पुग्न दिने सोच पनि छ । श्रीमतीले पसल धानेकाले पनि जागिर छाडेका छैनन् ।

‘मदनपोखरा ढाका पसल’ अहिले तानसेनमा सबैभन्दा आकर्षक छ । सजावट र बिक्री केन्द्र राम्रो भएकाले ग्राहकको रोजाइमै छ । उनले व्यापार सुरु गरेको छोटो समयमै मुलुकका मेचीदेखि महाकालीसम्म चल्ने मेला, महोत्सव, स्वदेशी उद्योगको राष्ट्रिय प्रदर्शनीमा उत्कृष्टता हासिल गर्दै आएका छन् ।

‘मलाई जहाँ जाँदा पनि सन्तुष्टि मिलेको छ,’ उनले भने , ‘यही व्यवसायले मलाई चिनाएको छ ।’ कार्यालयको हलुका सवारी चालकको जागिरे भए पनि उनले बिहान बेलुका श्रीमतीलाई सघाएका छन् । जागिरले नपुगेपछि उनले व्यापार व्यवसायमा समेत हात हालेका थिए ।

अहिले यसैलाई राम्रो कसरी बनाउन सकिन्छ ? भनेर लागि पर्छन् । उनी मात्र होइन, ढाका व्यवसाय जसले सुरु गरेको छ उसले अहिले छाड्नै मान्दैन । कार्की ढाकाका चारवटा पसल छन् । सरस्वती ढाका, पौड्याल ढाका, बाँसटारी, पाल्पाली ढाका लगायतको पनि अवस्था राम्रो छ ।

तर, ढाका कपडाका संस्थापक स्व. गणेशमान महर्जनकी श्रीमती पूर्णमाया महर्जन भने सन्तुष्ट छैनन् । उनले पटक–पटक सञ्चार माध्यममा ‘पाल्पालीको नाममा नक्कली ढाका’ बिक्री नगर्न आग्रह गरेकी छन् । ‘पाल्पाली ढाका कपडाको बेइज्जत भएको छ,’ उनी गुनासो गर्छिन्, ‘यस विषयमा भएका र आएका गुनासो कसैले सुन्दैन ।’ उनका अनुसार पाल्पाली ढाका कपडाको सुरुवात आफ्नो श्रीमान् गणेशमानले गरेका हुन् । २०१५ सालमा तानसेनमा उनले हाते तान सुरु गरेका हुन् ।

बिस्तारै यसको मिहिनेत अनुसारको आम्दानी हुन छाडेपछि विस्थापित गर्दै लगेकाले अहिले हाते तान हराउँदै गएको छ । ढाका कपडाकी संस्थापक पूर्णमाया महर्जनका अनुसार जे कार्डबाट ढाका बुनाइ भएको छ । ‘कामदार पाउन छाड्यो,’ उनले भनिन्, ‘त्यसैले डेढ सय तानबाट घटेर अहिले १५ मा सीमित भएको छ ।’ ढाका कपडाबाट महिलाले राम्रो आम्दानी गर्ने र आत्मनिर्भर गराउन जे कार्ड हाते तानले सहयोग गरेको उनले बताइन् ।

भारतीय गोरखपुर, सुनौली सिमानामा ढाका बुन्ने गर्छन् । काठमाडौं र पूर्वका विभिन्न भागमा बुनेका जे कार्ड ढाका बिक्री भएको उनले गुनासो गरिन् । यहाँको ढाका कुनै बेला गुणस्तरीय थियो । अहिले त्यसैको ‘ब्याज’ खाएका छन् ।

खाडीदेखि युरोपियन मुलुकमा निर्यात हुने गर्दथ्यो । अहिले पूर्वेली र भारतीय सीमामा बुनेका कपडाले बजार ढाकेपछि बाहिर देश पठाउन छाडिएको छ । जिल्लाको प्रमुख उद्योग व्यवसाय बनेको ढाकाले १० हजार बढीलाई रोजगारी दिएको थियो । संस्थापक महर्जनका अनुसार अहिले १ हजारले पनि रोजगारी पाएका छैनन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले १ हजार जतिले मात्र रोजगारी पाएका छन् । हाते तानको संख्या पनि घटेको छ । ढाका कपडाको व्यवसायबाट वार्षिक १० करोड रुपैयाँको कारोबार भए पनि बाहिर जिल्लाबाट भित्रिएकाले जिल्लाभित्र रोजगारमा कमी आएको छ ।

‘पहिला हाते तानमा बुनेका ढाका कपडा गुणस्तरीय र राम्रो थियो,’ उनले भनिन्, ‘अहिले त्यस्तो छैन । अधिकांश नक्कली ढाकाले बजार लिएको छ ।’ पछिल्लो समय कामदार पाउनै मुस्किल छ । युवा विदेश पलायन भएकाले उनीहरूका श्रीमती दुस्ख गर्न चाहँदैनन् । त्यसैले पनि तान घट्दै गएको व्यवसायी बताउँछन् ।

सहरबाट गाउँ पस्यो हाते तान

सहरमा १५, २० वटा मात्रै होला तर गाउँमा भने बलियो आम्दानीको स्रोत बनेको छ । मदनपोखरा, छाप गाउँकी भगवती दर्लामीमगर ढाका कपडा बुनेर मासिक १० हजार सजिलै कमाउने बताउँछिन् । दर्लामीले आफ्नै कमाइले घरखर्च चलाउन पाएपछि श्रीमानको कमाइ खानुपरेको छैन । विदेशमा कमाउन गएका श्रीमान्ले कमाउने सबै रकम बचत गर्न सक्ने भएका छन् ।

आफ्ना छोराछोरी पढाएर घरखर्च पुर्‍याएको उनी बताउने गर्छिन् । दर्लामी भन्छिन्, ‘मैले ढाका बुनेर घरखर्च चलाउन सकेकी छु र श्रीमानको कमाइ जोगाएर केही नयाँ काम गर्ने सोच बनेको छ ।’

उनी मात्र होइन, ढाका कपडा बुनेर जिल्लाका सयौं महिला आत्मनिर्भर बनेका छन् । २० वर्षअघि भने तानसेनकै विभिन्न स्थानमा ५ सय बढी तान थिए । अहिले मदनपोखरा, कसेनी, मस्याम, भैरवस्थान, खस्यौली लगायतका स्थानमा महिलाले बुन्ने ढाका कपडाको तान छ ।

उनीहरू आत्मनिर्भर बनेको, सानातिना खर्चका लागि श्रीमानको हात थाप्नु नपरेको, कसैको कमाइ खानु नपरेको, दुईरचार हजारका लागि साहूसँग हात थाप्नु नपरेको बताउने गर्छन् । दिनभर ढाका कपडा बुन्ने महिलाले आफ्ना छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको बताए । महिलाले घरपरिवारको गुजारा चलाउन ढाका कपडा बुन्ने गरेको बताए ।

‘मैले ढाका कपडा बुनेर राम्रै खर्च चलाउन सकेकी छु,’ छापकी हेमा दर्लामी मगरले भनिन्, ‘म जस्ता धेरैले कमाइ गर्न सकेका छन् । गाउँमै बसेर पनि रोजगार मिलेको जस्तो लागेको छ ।’ सयभन्दा बढी महिलाले ढाका कपडा बुन्ने काम पाएका छन् । गाउँकै र गाविस बाहिरका महिलाहरू समेत ढाका कपडा बुन्ने रोजगारी पाएका छन् । उनीहरूले मासिक कम्तीमा ४ हजार ५ सय र बढीमा ८ हजारसम्म कमाउन सकेका छन् ।

हाते तानभन्दा पनि जे कार्ड हाते तानमा ढाका बुन्ने गर्छन् । पाल्पाली हाते तान विस्थापित हुँदै जे कार्ड हाते तानको विकास भएको छ । एक मिटर ढाका बुनेको १ सय ९० देखि ५ सय रुपैयाँसम्म ज्याला पाउँछन् । विभिन्न डिजाइनमा बुनिने ढाकाको बुट्टा हेरिकन फरक–फरक ज्याला दिने गरेको छापका उद्योगी रामबहादुर ठकुरीले बताए ।

यो समाचार कान्तिपुरमा माधव अर्यालले लेखेका हुन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय