काठमाडौं, फागुन ११
बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घटिरहेको छ । गत साउनयता माघसम्ममा विदेश जानेको संख्या अघिल्लो बर्षको सोही अवधिको तुलनामा हरेक बर्ष विदेश जानेको संख्यामा कमी आएको बैदेशिक रोजगार विभागको तथ्याँक छ ।
गत माघ महिनामा विभिन्न देशमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या ३४ हजार २ सय १९ रहेको छ । यो अघिल्लो बर्षको माघ महिनाको भन्दा १४ हजार ७ सय २२ ले कम हो । गत बर्षको माघ महिनामा ४८ हजार ९ सय ४१ ज्ना नेपाली श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका थिए ।
विभागको तथ्याँक अनुसार यस आर्थिक बर्षमा साउनयता हरेक महिनाको तथ्याँक अघिल्लो बर्षको भन्दा कम देखिएको छ । त्यसैले यसबर्ष बैदेशिक रोजगारीमा जानेहरुको संख्या कम हुने देखिएको छ ।
यस आर्थिक बर्षमा सवैभन्दा धेरै साउदी अरवमा रोजगारीका लागि गएका छन् । पछिल्लो ७ महिनामा साउदी अरवमा ८० हजार ५ सय ६ जना नेपाली रोजगारीका लागि गएका छन् । यसैगरी दोश्रोमा कतारमा रोजगारीका लागि नेपाली पुगेका छन् । ७ महिना भित्र कतारमा ७५ हजार १ सय ६७ जना नेपाली रोजगारीका लागि गएको तथ्याँक छ । यसैगरी अघिल्लो बर्षसम्म पहिलो नम्वरमा रहेको मलेसिया नेपालीको तेश्रो आकर्षणको गन्तव्यमा झरेको छ । विगत सात महिना भित्र ३९ हजार १० जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका छन् ।
