काठमाडौं । ओमानले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाई ओमानमै बसिरहेका आप्रवासी श्रमिकहरुलाई तीनमहिना भित्रमा स्वदेश फर्किन सक्ने गरी आममाफीको घोषणा गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानको श्रम मन्त्रालयले त्यसरी बसिरहेकाहरुलाई जरिवाना नतिरी स्वदेश फर्किनका लागि तीन महिनाको समय दिएको हो । नेपाली दूतावासका अनुसार तीन महिना भित्रमा स्वदेश फर्किनेहरुका लागि जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको छ ।
नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै ओमान सरकारले उपलव्ध गराएको यो अवसरको सुदपयोग गर्न र त्यसरी कागजातविहिन भएर बसिरहेकाहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ओमान सरकारले यो योजना २०२५ जुलाई ३१ मा अन्त्य हुने जनाएकोले समयभित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ ।’
स्वदेश फिर्ती प्रक्रियाको लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । यसका लागि दूतावासले स्वयंसेवी नियुक्त गरेको छ । ओमानमा करिब २२ हजार नेपाली कार्यरत छन् जसमध्ये १० हजार महिला छन् ।
नेपाली दूतावासका अनुसार भिसाविहीन नेपालीको संख्या यकिन गरिएको छैन । पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिक भिसाविहीन भएर बस्ने गरेको दूतावासले जनाएको हो ।
दूतावासको सुचना
ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) सम्बन्धी जानकारी
