काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरु र रोजगारी पश्चात स्वदेश फर्केकाहरुको समूह श्रमिक सञ्जालले यहि साता परदेशीहरुका सिर्जना समेटिएको पुस्तक पुरानो पन्ना सार्वजनिक गरेको छ । अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर सार्वजनिक गरिएको सो पुस्तकमा विशेषगरी खाडीमा श्रम गरिरहेकाहरु तथा त्यहाँ श्रम गरेर स्वदेश फर्केका श्रमिकहरुका कविता, गजल लगायतका सिर्जना समेटिएका छन् ।
१ सय ८ जना श्रमिक सर्जकका सिर्जना समेटिएको पुस्तकको प्रकाशक संस्था श्रमिक सञ्जालले सो पुस्तकको प्रकाशकीयमा लेखेको छ, “एउटा श्रमिकले प्रवासमा रहँदा कामका अलावा देश, घरपरिवार, समाज, आफन्तजन, प्रियजनसँग बिताएको सम्झनासँगै विदेशिनुको पीडा र समाजमा घटिरहने विभिन्न घटना परिघटनालाई लेखनका माध्यमबाट व्यक्त गरिरहेको हुन्छ । मौका पाउँदा आफ्ना पाखा, गाउँ र देहातका गीत गाइहाल्छः सिलोक हालिहाल्छ । कविता र टुक्का झिकिहाल्छ । अनि उमेर बमोजिमका रनाहा व्यक्त गर्छ, कविता, गजल र मुक्तकमा । कतिले डायरीका पानामा त कतिले सामाजिक सञ्जालमै । साहित्यका यी विधामा कतिपय कुरा घुमाएर भन्न मिल्छ । सबै कुरा खोल्न नमिल्ने हुँदा संकेत र विम्बहरूमा कतिपय कुरा राख्न पाउँदा राख्नेको मन हलुको पनि हुन्छ ।”
पुस्तक प्रकाशनको पृष्ठभूमिमा अगाडी लेखिएको छ, “यो काव्य संग्रह श्रमिक साथीहरूका त्यस्तै अभिव्यक्तिको आँखीझ्याल हो । नेपालका हिमालदेखि पहाड र तराईसम्म अनि कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका श्रमिक साथीहरूले घरदेशको सम्झना, कामको थकान, तातो घाम र. एक्लोपनालाई शब्दमा बाँध्दै व्यक्त गरेका भावना र अनुभवहरू ’पुरानो पन्ना’ मा संगृहीत छन् ।”
वैदेशिक रोजगारहरुका काव्यिक सुस्केरा भनिएको यस पुस्तकमा परदेश हिंड्नेहरुको पीडालाई सर्जकहरुले राम्रोसँग पोखेका छन् । कनकाइ नगरपालिका, झापा घर भइ हाल साउदी अरवमा कार्यरत रमेशकुमार सिटौला आफ्नो सिर्जनामा लेख्छन्,
परिवारको अवस्था बदल्छु भनी हिंडेको दिन
रातैभरि झरी परेको थियो
थाहा छैन
म अभागीलाई देखेर
आकाश रोएको थियो
वा खुशी भएको थियो
अब यो अभागीको पनि दुःखका दिन सकिए भनेर
तर मलाई
पर्नु पीर परेको थियो ।
यसैगरी गल्याङ नगरपालिका, स्याङ्जा घर भइ हाल कुवेतमा कार्यरत तिलाचन बस्याल लेख्छन्,
गाउँघरको माया मारी, परदेशतिर हिंडेको छु
पापी धनको पछि लागी, परदेशतिर हिंडेको छु
रुँदाखेरी आमा खाली साहूको ऋण सम्झिएर
ऋण तिर्ने बाजी राखी, परदेश तिर हिंडेको छु
साथिभाई छुट्नुपर्दा, आँशुका धारा चुहाउँदै
जसोतसो मन सम्हाली, परदेशतिर हिंडेको छु
परदेशमा श्रमरत सर्जकहरुले परदेशमा आइपर्ने पीडालाई पनि आफ्नो सिर्जना मार्फत प्रस्तुत गरेका छन् । संखुवासभाको पाँचखपन नगरपालिका घर भइ हाल साउदी अरेवियामा कार्यरत अमर तामाङ लेख्छन्,
जस्तोसुकै संघर्षलाई आँटेको छ परदेशीले
बिरामी हुँदा सञ्चै भनी ढाँटेको छ परदेशीले
सुखै सुख लाग्छ होला, गगन चुम्ने महल देख्दा
कैयौं रातहरु खाली पेट काटेको छ परदेशीले
अर्घाखाँची घर भइ हाल साउदी अरवमा कार्यरत विनोद श्रेष्ठको रचनामा उनी भन्छन्,
थाहा छ दुःख छ परदेशमा, भए नि आइयो
बाह्र घण्टा ड्यूटी रातमा, आँशुले सिरानी भिजाइयो ।
हेर्दा देखिन्छन् बाहिरबाट परदेशीका सुन्दर तस्वीरहरु
तर यहाँ एक बोतल पानी र खबुसले दिन काट्ने बानी बसाइयो ।
यसैगरी झापा घर भइ कतारमा केहि बर्ष श्रम गरेर फर्केका चर्चित ढुँगेलको भावना छ,
रेगिस्तानमा आएको सपना
वर्षैपिच्छे सपनामै सीमित हुन्छ
दसैं, तिहार, तीजमा
ल्होसार, फगुवा, इदमा
साकेला, उँभौली र उँधौलीमा
डाँको छोडेर रुन्छ सपना
मुलुक सम्झेर रुन्छ सपना ।
हाम्रो समाजमा कतिपयले परदेशको कामलाई दुःखै दुःखको सागर ठान्छन् अनी कसैले चाहिं पैसा टिप्ने वृक्ष हुने ठाउँ । बुटवल उपमहानगरपालिका घर भइ हाल ओमानमा कार्यरत कृष्ण भुसाल, प्यासी लेख्छन्,
ऐश्वर्य टिप्नलाई भेटिन्न वृक्ष बुझ्नुस्
यो भोक टार्नलाई जोतिन्छ बालुवामा
प्राणै सकिन्न थेग्न, चर्को छ ताप उस्तै
सोच्नुस् कसोरी घैला भरिन्छ बालुवामा
सिन्धुपाल्चोक घर भइ कुवेत र इराकमा रोजगारी गरी फर्केका सञ्चारकर्मी समेत रहेका हरिकृष्ण न्यौपानेको गजलमा पनि परदेशमा काम गर्ने सोझासादा नेपालीलाई आइपर्ने समस्याको पोको फुकाइएको छ । उनी लेख्छन्,
परदेशमा नै किन श्रमिकलाई पक्षपात गर्छन् ?
असहाय र सीधासादाहरुको किन पछि पर्छन् ?
ख्याल गर्नुहोस् है, मित्र पनि शत्रु हुन सक्छन्
आफू माथि पुग्नलाई हाकिमको कान भर्छन् ।
यति मात्रै होइन कतिपयले त अरबमा काम गर्न जानेहरुलाई दोस्रो दर्जाको परदेशी ठान्ने गरेको समेत समय समयमा सुनिन्छ । अरबमा श्रम गर्नेहरुलाई अरबे भनेर हियाउनेहरु प्रति कटाक्ष गर्दै विरुम नगरपालिका, खोटाङ घर भइ हाल कतारमा कार्यरत जीवन नाछिरिङ लेख्छन्,
गाउँमा अरवे भन्छन् मलाई
मास्टर सा’प अरबे भन्छन्
साहूजी अरबे भन्छन्
सरकारले अरबेलाई हेप्छ
सवैभन्दा धेरै भ्रष्टाचारीले हेप्छन् मलाई
तर गर्व छ
मेरा सारा अपूर्ण सपनाका भारी बोकेरै
सरकार पालिरहेछु
व्युरोक्रेसी पालिरहेछु
मस्टर पालिरहेछु
साहूजीको पसल चलाइदे’को छु
भ्रष्टाचारी नि मैले नै पालिरहेछु
किनकी म अरबे हुँ
पुस्तकमा संघर्षका कथाका कुरा पनि समेटिएका छन् । यूएईमा रोजगारी गरेर फर्केकी कन्याम इलामकी जुनू भट्टराई लेख्छिन्,
म लड्न छोड्नेछैन
जबसम्म सास छ तबसम्म संघर्ष जारी छ
हो,
म मरुभूमिको बालुवामा लडखडाएको एक पाइला हुँ
तर मेरो मनमा हिमालको चिसो हावा छ
जसले मलाई शीतलता दिन्छ
मेरो आँखामा गाउँको हरियो खेत छ
जसले मलाई फर्किएर आउने बाटो देखाउँछ ।
यसरी नरोउ न आमा
बरु मेरा साना बच्चाहरुलाई भनिदिू
तिमीहरुकी आमा
एक दिन फर्किएर आउँछे
आफ्नै देशमा
आफ्नै घरमा
उ पराई भएकी छैन
केवल परदेशमा तिमीहरुको भविष्य लेखिरहेकी छ ।
सर्जकहरुले व्यवस्था फेरिएको तर अवस्था नफेरिएको गुनासो पनि आफ्नो सिर्जना मार्फत पोखेका छन् । कतारमा श्रम गरी फर्केका कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंका दीपक पुडासैनी लेख्छन्,
व्यवस्था त फेरियो तर बेथा उस्तै चर्को
सिस्टमको कुरा गर्नै हुन्न
लाग्छ तिमीलाई झर्को
कमिसन, ठगी, दलाली जे गरे पनि खुसी तिमी
तालुको पसिनाले मोजा भिज्दा पनि
हामीलाई देशकै झल्को
तिमिलाई देखी देउता पनि
दिक्क मान्लान् आकाशमा
जिउँदै आउने आशा मर्यो
आउँला हामी बाकसमा ।
विशेषगरी खाडी र मलेसियामा केहि बर्ष श्रम गर्न गएको परदेशी त्यहाँको विकास देखेर चकित पर्छ । गगनचुम्वी महल देखि रातको चमकदमक देखेर उ छक्क पर्छ । दिनवित्छ, महिना र बर्ष वित्छ । तर उसलाई त्यो चमकदमले लोभ्याउँदैन । उसको मनभित्र आफ्नै गाउँ, आफ्नै देशको माया उकुसमुकुस भएर बाँचिरहन्छ । त्यहि भावनालाई काव्यिक भाव मार्फत पोखेका छन्, खोटाङ घर भइ हाल युएईमा कार्यरत हीराधन चाम्लिङ राईले,
ठूलाठूला बिल्डिङ
ग्हिरोगहिरो समुद्र
विदेश त बबाल हुँदो रहेछ
जत्तिकै बबाल भए पनि
जत्तिकै कमाल भए पनि
छातीभित्र आफ्नै देश हुँदो रहेछ
आफ्नै देश प्यारो हुँदो रहेछ ।
प्रस्तुत काव्यमा समेटिएका सर्जकहरु सिद्धहस्त कवि वा गजलकार होइनन् । यो कुरा श्रमिक सञ्जालका सदस्य भीम श्रेष्ठ भन्छन्, तर यी सिर्जनाले परदेशमा श्रमरत नेपालीको भावनालाई बोकेका छन् । उनीहरुका सुस्केरालाई उजागर गरेका छन् ।
