सुनिल न्यौपाने-
नेपालबाट वैदेशिक रोजगारमा जाने चलन पुरानो हो । लाहोर जाने लाहुरे देखि खाडी र मलेसियामा न्यून पारिश्रमिकमा श्रम गर्न जाने श्रमिक हुँदै पछिल्लो केहि बर्षयता पूर्वी युरोपका मुलुकहरुसम्म नेपाली श्रमिकहरु पुगिरहेका छन् । चाहे खाडी होस्, चाहे भारत, इजरायल, जर्मनी, साइप्रस वा नेपालको शहरी क्षेत्र नै किन नहोस्, हेरचाह सम्वन्धी काम गर्ने श्रमिकहरुको माग पछिल्ला दशकमा निकै बढेको छ । ‘केयर वर्क’ भनिने यस्तो काममा हजारौं नेपाली श्रमिकहरु संलग्न छन् । हेरचाह अर्थात सुस्याहारको काममा नेपाल भित्र मात्रै होइन भारत, इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरु (हेरचाह केन्द्र), खाडीका मुलुकहरु (विशेषगरी संयुक्त अरव ईमिरेट्स, कुवेत, साउदी अरब, ओमान बहराइन) देखि जर्मनी, साइप्रससम्म पुगेर नेपाली श्रमिकहरुले काम गरिरहेका छन् । यसरी काम गर्ने नेपालीले इमान्दार, परिश्रमी र कर्तव्यनिष्ठको परिचय बनाएका छन् ।
बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति, विरामी वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई घरमा वा सेवा उपलव्ध गराउने केन्द्रहरुमा गएर सेवा प्रदान गर्ने देखि घरायसी काम गर्नेहरु हेरचाह सम्वन्धी काम गर्नेहरु हुन् । नेपालको सन्दर्भमा हेर्दा हेरचाह सम्वन्धी काममा घरेलु श्रमिकहरुको भूमिका अलिक धेरै छ जो नेपाल भित्रै पनि र विदेशमा पनि यस्तो सेवा प्रदान गर्दछन् । तर हेरचाह सम्वन्धी काम यतिमा मात्र सिमित छैन । कपितय स्वास्थ्य सम्वन्धी सेवा प्रदान गर्नेहरु पनि हेरचाह अर्थात सुस्याहारको काममा समेटिन्छन् ।

नेपालमा हेरचाहको काम
पछिल्लो दशकमा नेपालभित्रै पनि श्रमको संसार फेरिएको छ । पहिले कहिल्यै नसोचिएका कामहरु तिब्र शहरीकरणसँगै आवश्यकता बनेर गएका छन् । हेरचाहको काम त्यसै मध्ये एक हो । नेपालमा हेरचाहको काममा संलग्न नेपाली श्रमिक कति छन् भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग पनि छैन। अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार नेपालमा २ लाख घरेलु श्रमिक रहेको अनुमान गरिन्छ जसमध्ये बहुसंख्यक महिला छन् ।
नेपालमा हेरचाहको कामको प्रकृति फरक छ । मुख्यगरी घरमा काम गर्ने घरेलु श्रमिक हेरचाहसँग सम्वन्धित काम गर्नेहरु हुन् । यसरी घरेलु श्रम गर्नेहरु पनि तीन प्रकृतिका छन् । पहिलो रोजगारदाताको घरमै बसेर काम गर्नेहरु । दोस्रो विहान आएर काम गरेर बेलुका आफ्नै वासस्थानमा फर्किनेहरु । तथा तेस्रो निश्चित तोकिएको काम वा तोकिएको समयावधि (घण्टा) मा काम गर्नेहरु । विगतमा अभ्यासमा रहेको कमैया, कम्लहरी राख्ने कामलाई पनि हेरचाह श्रमिकका रुपमा नै लिन सकिन्छ । तर सो अभ्यास दास प्रथाकै निरन्तरता भएको हुँदा त्यसलाई नेपालमा उन्मुलन गरिसकिएको छ । हलिया, हरुवा चरुवा लगायतले प्रदान गर्ने सेवा पनि हेरचाह सम्वन्धी काम नै हो ।
फेरिदो समाज, बढ्दो आवश्यकता
नेपालमा शहरीकरण तिब्र भएको छ । रोजगारीका लागि विदेश जाने मात्रै होइन गाउँबाट शहरमा बसाई सर्ने प्रवृत्ति पनि बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार विसं २०६८ देखि विसं २०७८ को बीचमा शहरी जनसंख्या २२.३१ प्रतिशतबाट वृद्धि भइ २७.०७ प्रतिशत पुगेको छ । नेपालको राष्ट्रिय जनगणना, २०७८ ले शहरी जनसंख्या ६६ प्रतिशत रहेको देखाएको भएपनि गणनामा त्रुटी भएकोले सच्याउँदै राष्ट्रिय तथ्याङक कार्यालयले विसं २०८० मा नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो ।
शहरीकरण बढेसँगै रोजगारीको तौरतरिका पनि फेरियो । विशेषगरी शहरमा घरेलु श्रम गर्ने श्रमिक, बालबालिका, वृद्ध, विरामी र अपाङ्गता भएकाहरुलाई सेवा दिने श्रमिकको माग बढेको छ । त्यसैले हेरचाह सम्वन्धी सेवा श्रम संसारमा पछिल्लो समयमा निकै विकास भएको क्षेत्र हो ।
अर्कातर्फ नेपालको अर्थतन्त्र क्रमशः कृषि आधारितबाट वैदेशिक रोजगारमा आधारितमा रुपान्तरण भएको छ । धेरै विकसित देशहरूमा वृद्धवृद्धाहरुको जनसंख्या बढ्दै जानु र घरेलु श्रमिक राख्ने प्रचलनका कारण हेरचाह सेवा प्रदान गर्ने श्रमिकहरुको माग बढेको हो । संयुक्त अरव ईमिरेट्स (युएई), कुवेत, साउदी अरब नेपाली घरेलु श्रमिकका मुख्य गन्तव्य मुलुकहरु हुन् जहाँ हेरचाह सम्वन्धी सेवा प्रदान गर्ने श्रमिकहरुको माग धेरै छ । साइप्रस, जोर्डनसँगै जर्मनीमा अउ पेयर भएर जाने नेपालीको संख्या पनि उल्लेख्य छ ।
नेपालमा हेरचाह सम्वन्धी कामलाई स्वास्थ्य सेवा, वृद्धवृद्धाहरुको हेरचाह, बालबालिकाको हेरचाह र अपाङ्गता भएकाहरुको हेरचाह गरी मुख्यरुपमा चारवटा क्षेत्रको काममा बाँडेर हेर्न सकिन्छ ।
स्वास्थ्य सेवा क्षेत्रः नेपालको स्वास्थ्य सेवा प्रणाली सार्वजनिक र निजी सेवाहरूको मिश्रण हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरू छन् तर तिम ध्ये अधिकाँश ठाउँमा प्रदान गरिने सेवा पर्याप्त छैन । विशेषगरी दक्ष चिकित्सक र अन्य स्वास्थ्यकर्मीको अभाव ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुको साझा समस्या हो । तसर्थ विशेषगरी ग्रामिण क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रदान गर्ने सेवा महत्वपूर्ण छ । उनीहरु स्वास्थ्य सुधारका लागि हेरचाह सम्वन्धी सेवा प्रदान गर्ने महत्वपूर्ण व्यक्तिहरु हुन् ।
वृद्धवृद्धाको हेरचाहः नेपालमा परम्परागत रूपमा हेर्दा वृद्धवृद्धाहरुको हेरचाह परिवारको जिम्मेवारी थियो । तर शहरमा भएको बसाईसराई र परिवारका कमाउने उमेरका सदस्यहरु आर्थिक उपार्जनमा संलग्न हुनुपर्ने दबाबका कारण यो मान्यतामा परिवर्तन आएको छ । कतिपय परिवारले आफ्नो परिवारका ज्येष्ठ सदस्यहरुका लागि घरमै हेरचाहको सेवा प्रदान गर्ने श्रमिक राख्न थालेका छन् । त्यसैले शहरीकरणसँगै सेवा क्षेत्रमा वृद्धवृद्धाहरुको सेवा गर्नेगरी रोजगारी विकास भएको छ ।
बालबालिकाको हेरचाहः बालबालिकाहरुको हेरचाह पछिल्लो दशकमा विकास भएको अर्को सेवा क्षेत्रको रोजगारी हो । मुख्यतः शहर केन्द्रीत यो रोजगारीमा पनि ठूलो संख्यामा श्रमिकहरु आवद्ध छन् ।
अपाङ्गता भएका व्यक्तिहरू तथा गम्भीर स्वास्थ्य समस्या भएकाहरुको हेरचाहः अपाङ्गता भएका व्यक्तिहरू तथा गम्भीर स्वास्थ्य समस्या भएकाहरुको हेरचाह पनि नेपालमा पछिल्लो समयमा विकास भएको रोजगारीको क्षेत्र हो । शहर केन्द्रित र अधिकाँश महँगा भएपनि पछिल्ला वर्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष हेरचाह केन्द्रहरू खुल्ने क्रम पनि बढिरहेको छ । कतिपय परिवारले भनें घरमा नै आफ्ना परिवारका त्यस्ता सदस्यहरुका लागि स्याहार गर्नेहरु राख्ने गरेका छन् ।
नेपालको विद्यमान कानून र नीतिगत संरचनाले सबै नागरिकलाई मर्यादित जीवनको अधिकार सुनिश्चित गरेको छ । नेपालको संविधान, २०७२ ले नै हेरचाह क्षेत्रसँग सम्बन्धित कानून र नीतिहरू बनाउन र कार्यान्वयनको विषय सुनिश्चित गरेपनि अझै पनि आवश्यक कानून र नीतिहरूको अभाव छ । भएका कानुन र नीतिहरुको कार्यान्वयनको अभाव अर्को चुनौती हो ।

हेरचाहको काम र वैदेशिक रोजगार
हेरचाह सम्वन्धी कामका लागि विदेश जाने नेपालीहरुको संख्या पनि ठूलो छ । वैदेशिक रोजगारमा जानेहरुलाई श्रम स्वीकृति प्रदान गर्ने र ति श्रमिकको तथ्याङ्क राख्ने निकाय हो वैदेशिक रोजगार विभाग । तर विभागको तथ्याङ्कमा घरेलु श्रम गर्न जानेहरुको संख्या न्यून छ । सरकारले विगत देखि पटक–पटक लगाउँदै आएको बन्देजका कारण खाडीका मुलुकहरुमा घरेलु श्रम गर्न जानेहरु नियमित बाटो भएर जान पाएका छैनन् । अर्कातर्फ सरकारले लगाएको बन्देजका कारण यो काम मर्यादित काम हो भनेर पनि नेपाली समाजमा स्थापित हुन सकेको छैन ।
सरकारले पछिल्लो पटक २०७२ सालमा लगाएको बन्देज अझै पनि कायमै छ । बन्देज हटाउने विषय संसदले सरकारलाई र सरकारले संसदीय समितिलाई देखाउँदै वेवास्ता गरिरहँदा स्वदेशमा नै रोजगारीको उपयुक्त विकल्प नपाएकाहरु भनें बाध्य भएर अनियमित बाटो भएर घरेलु श्रम गर्न खाडीका मुलुकहरुमा पुगिरहेका छन् । तसर्थ यसरी जानेहरुको तथ्याङ्क सरकारी निकायमा छैन । घरेलु श्रम गर्न जानेहरु कागजमा शुन्य प्रायः भएपनि व्यवहारमा भनें उनीहरु विभिन्न बाटो भएर हेरचाह सम्वन्धी काममा खाडीका मुलुकहरुमा पुगिरहेका छन् ।
हेरचाह सम्वन्धी काममा विसं २०७८ देखि पुनः नेपाली श्रमिक इजरायल जान थालेका हुन् । दुई देशका सरकारी निकायहरुबीचको सम्झौत पश्चात इजरायलमा रहेको दीर्घकालिन स्याहार केन्द्रहरुमा २०८१ पुष मसान्तसम्ममा झण्डै १ हजार ४ सय नेपाली हेरचाह सम्वन्धी काममा गएको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । यसैगरी हेरचाह सम्वन्धी काममा लागि साइप्रस नेपाली श्रमिकहरुको अर्को गन्तव्य मुलुक हो । साइप्रस बाहेक जर्मनी पनि नेपाली श्रमिकको हेरचाह सम्वन्धी काम गर्न जाने मुलुक हो । तर अउ पेयर भएर कति नेपाली जर्मनी गएका छन् भन्ने तथ्याङ्क भनें नेपालको सरकारी निकायसँग उपलव्ध छैन । अउ पेयरको भिसामा कति नेपाली जर्मनी गएका छन् भन्ने जानकारीको अनुरोध सहित देशपरदेशले नेपालस्थित जर्मन दूतावासमा गरेको इमेलमा दूतावासले जर्मन सरकारको व्यक्तिको तथ्याङ्क सम्वन्धी गोपनियता नीति अनुसार जानकारी दिन असमर्थ रहेको जानकारी दिएको छ ।
चुनौतीहरू
हेरचाह सम्वन्धी काम समाज र अर्थतन्त्रको मेरुदण्ड हो । विश्वव्यापी रूपमा, हेरचाह सम्वन्धी कामले कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान गर्दछ । पछिल्ला केहि वर्षयता हेरचाह सम्वन्धी सेवाको मागमा तीव्र बृद्धि भएको छ । तर यति हुँदा हुँदै पनि यसलाई बेवास्ता गरिएको छ । हेरचाह सम्वन्धी काम प्रायः गणना नगरिएको र बेवास्ता गरिएको काम हो । यो काम गर्नेहरु प्रायः कम तलबमा काम गर्न बाध्य छन् भनें उनीहरुको रोजगारीको निरन्तरताको ग्यारेण्टी छैन ।
हुन त नेपालका केहि ट्रेड यूनियनहरुले घरेलु श्रम गर्ने श्रमिकहरुलाई सदस्य बनाएर संगठित गर्ने प्रयास गरेका छन् । तर यूनियनमा संगठित भएका हेरचाह सम्वन्धी सेवा प्रदान गर्ने श्रमिकहरुको संख्या न्यून छ । उचित रूपमा मूल्यांकन र लगानी गरिएमा आर्थिक वृद्धि र सामाजिक विकासलाई गति प्रदान गर्ने क्षेत्र भएपनि हेरचाह सम्वन्धी काम गर्ने धेरैजसो श्रमिक असंगठित छन् र अनिश्चित रोजगारीका बीच काम गर्न बाध्य छन् ।
एकातिर हेरचाहको कामको मूल्याङ्कन नहुनु समस्या हो भनें स्वास्थ्य सेवा प्रदान गर्ने सीपयुक्त दक्ष जनशक्तिको अभाव छ । ग्रामीण क्षेत्रमा यस्तो सेवा प्रदान गर्ने व्यक्तिहरुको अभाव छ भनें सेवा प्रदान गरेवापत उनीहरुले उचित पारिश्रमिक पाउँदैनन् । स्वास्थ्य क्षेत्रको हकमा उदाहरणका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लिन सकिन्छ । रोकथाम र उपचार दुवै प्रकारको सेवा गाउँगाउँ, घरघरसम्म पुगेर प्रदान गर्दै आएपनि उनीहरूले अत्यन्तै न्यून सुविधा पाउँछन् । नेपालमा मातृ मृत्युदर र बालमृत्यु दरमा उल्लेख्य मात्रामा कमी ल्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरु राज्यले प्रदान गर्नुपर्ने पारिश्रमिकबाट भनें वञ्चित छन् । हेरचाहको क्षेत्रमा कार्यरत श्रमिक कसरी राज्यबाट नै ठगिएका र वेवास्ता गरिएका छन् भन्ने बुझ्न यो एउटा उदाहरण हो ।
कानुनी र नीतिगत प्रवन्धको अभाव, हेरचाह सम्वन्धी कामका लागि विदेश जान चाहनेहरु प्रति गरिएको वेवास्ता र उनीहरुको समग्र योगदानलाई नजरअन्दाज गरिएको भएपनि यो क्षेत्र निरन्तर विस्तार भइरहेको छ । त्यसैले हेरचाह सम्वन्धी सेवाको बढ्दो माग पूरा गर्नका लागि सुलभ स्वास्थ्य सेवा, गुणस्तरीय बाल हेरचाह, वृद्ध हेरचाह, र अपाङ्गता हेरचाह सम्वन्धी सेवाहरूको पहुँचमा विस्तार गरिनु जरुरी छ । यसैगरी यस क्षेत्रलाई थप व्यवस्थीत बनाउन र यसमा संलग्न हुने श्रमिकहरुको पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता गर्दै रोजगारीको यस क्षेत्रलाई व्यवस्थीत गर्न योजनाहरु बनाइनु आवश्यक छ । हेरचाह सम्वन्धी सेवाको दायरा राष्ट्रिय सिमाना भन्दा बाहिर अर्थात वैदेशिक रोजगारमा पनि विस्तार भएका कारण हेरचाह सम्वन्धी काम गर्ने श्रमिकहरुको गरिमा र अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य अत्यावश्यक छ ।

घरेलु श्रमिक र आइएलओ महासन्धि १८९ को अनुमोदन
हेरचाह सम्वन्धी काम भित्रको एउटा काम घरेलु श्रमलाई पहिचान गर्न, त्यसलाई मर्यादित बनाउन आइएलओ महासन्धि १८९ महत्वपूर्ण छ । हालसम्म .३८ वटा मुलुकहरुले अनुमोदन गरेको भएपनि सो महासन्धि हालसम्म नेपालले अनुमोदन गरिसकेको छैन । सो महासन्धिले घरेलु श्रमलाई पनि काम हो भनेर पहिचान प्रदान गर्ने, त्यसको कार्यावधि, प्राप्त हुने सेवा र सुविधाहरुको ग्यारेण्टी सुनिश्चित गर्दछ । सो महासन्धि अनुमोदन गरिएमा नेपाल भित्र कार्यरत अनुमानित दुई लाख भन्दा बढी र वैदेशिक रोजगारमा रहेका हजारौं नेपाली घरेलु श्रमिकहरुको मर्यादा र श्रमिक अधिकार संरक्षणका लागि राष्ट्रिय कानुनी प्रावधानहरुको व्यवस्था हुन्छ ।
महासन्धि १८९ अनुमोदन गर्दा नेपाललाई कुनै अतिरिक्त व्ययभार सिर्जना हुँदैन । घरेलु श्रम पनि मर्यादित काम हो भन्ने कुरा स्थापित भइ देशभित्रै रोजगारी सिर्जना हुन मद्धत पुग्दछ । आइएलओले सन् २००४ मा गरेको अध्ययन अनुसार यदि घरेलु श्रमजस्ता अनौपचारिक श्रम क्षेत्रलाई व्यवस्थित गर्ने हो भनें २५ प्रतिशतसम्म गार्हस्थ उत्पादनमा थप योगदान पुग्दछ । विकासोन्मुख मुलुकहरुमा कुल रोजगारीमा १० प्रतिशत थप योगदान पुग्न सक्दछ ।
यसैगरी स्वदेशमा कानुनी रुपमा सुरक्षित घरेलु श्रमको अभ्यास देखे भोगेका श्रमिकहरुले विदेशमा पनि सोही अवस्थाको माग गर्न सिक्दछन् जसका कारण वैदेशिक रोजगारको घरेलु श्रम व्यवस्थित बनाउन मद्धत पुग्दछ । यसैगरी नेपाल सरकारले गन्तव्य मुलुकहरुसँग सम्झौता गर्दा सोही माग गर्ने आधार तयार हुन्छ ।
स्थानीय सरकारको भूमिका
स्थानीय तहहरुले हेरचाह सम्वन्धी काम गर्ने श्रमिकहरुको पञ्जिकरण गर्नु महत्वपूर्ण छ । हाल नेपालका केहि पालिकाहरुले आफ्नो पालिकामा रहेका अनौपचारिक क्षेत्रका (घरेलु श्रमिक समेत) को पञ्जिकरणको काम सुरु गरेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका र मकवानपुरको भिमफेदी गाउँ पालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको पञ्किरण सुरु गरेको छ । हेरचाह सम्वन्धी काम गर्ने श्रमिकहरुको पेशागत सुरक्षा र भविष्यमा सामाजिक सुरक्षा लगायतका योजनामा जोड्न यो महत्वपूर्ण कदम हो ।
