काठमाडौं, प्यालेष्टाइन र इजरायल दुवैतर्फ गरी ४७ हजार भन्दा बढी व्यक्तिको ज्यान लिनेगरी १५ महिना लामो समयसम्म चलेको इजरायल, हमास युद्ध लामो प्रयासपछि ६ साता लामो युद्धविरामसँगै थामिएको छ । कतार र अमेरिकाको मध्यस्थतामा भएको वार्ता युद्धविराम गर्ने तथा बन्धकहरू छोड्ने सहमतिमा पुगेपछि युद्धविराम भएको हो । यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन् । यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिएको छ ।

७ अक्टुबर २०२३ का दिन हमास लडाकुहरुले गाजा क्षेत्रबाट इजरायलमा घुसेर आक्रमण गरेपछि बर्षौ पुराना कट्टर दुश्मन हमास र इजरायल पुनः एकपटक आमनेसामने भएका थिए । यो युद्धमा ठूलो संख्यामा गाजा क्षेत्रका सर्वसाधारणहरुले इजरेली आक्रमणमा परेर ज्यान गुमाउनु परेको छ ।

हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएपछि युद्ध सुरु भएको थियो । अक्टोवर ७ को आक्रमणमा नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाएर हमासका लडाकुहरुले गाजा पुर्याएका थिए । अहिलको युद्धविरामले विपिन जोशी रिहा हुने आशा पलाएको छ । आशा गरौं उनी छिट्टै रिहा हुनेछन् ।

हमासको आक्रमणले क्रुद्ध भएको इजरायलले गरेको महिनौं लामो जवाफी हमलामा गाजाका बासिन्दाले चर्को मूल्य चुकाउनु परेको छ । सुरुमा हवाई तथा त्यसपछि हवाई र स्थल दुवैतर्फबाट गरेको इजरायली हमलामा परे्र गाजाका ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कुल ४७ हजार भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको युद्धले गाजा तहसनहस भएको छ । व्यक्तिगत र सार्वजनिक भवनहरु ध्वस्त भएका छन् । अस्पताल, विद्यालय सवै तहसनहस बनाइएको छ । संयमित हुन संयुक्त राष्टसंघले गरेको केहि पटकको प्रयासलाई लत्याउँदै इजरायलले गरेको लगातारको आक्रमणमा परेर सर्वसाधारण नागरिक ठूलो संख्यामा मारिएको अन्तराष्टिय सञ्चार माध्यमहरुको रीपोर्ट छ । पछिल्लो युद्धको बीउ रोप्ने हमासको शक्तिमाथि इजरेलको ठूलो प्रहार पनि भएको छ । यसले हमासलाई पुनः शक्ति सञ्चय गर्न र आक्रमणमा उत्रिन तत्काल सहज छैन ।

इजरेल हमास युद्धका पछिल्ला १५ महिनाका केही मुख्य घटनाहरुलाई स्मरण गरौं । ७ अक्टोवरको हमासको अप्रत्याशित आक्रमण पछि इजरेलले आक्रमण सुरु गर्ने जनाउ दिंदै गाजाका सर्वसाधारण बासिन्दाहरुलाई दक्षिणतर्फ जान आदेश दियो । भिषण आक्रमणको अनुमान गरेका गाजाबासीहरु त्यहाँबाट विस्थापित भएर अन्यत्र लागे । इजरेली सेनाले हवाई हमला सुरु गर्यो । गाजामा इजरेली सेनाले बमको बर्षा गरायो । युद्धमा ज्यान गुमाउनेहरुको संख्या दैनिक सयबाट हजारमा गणना हुन थाल्यो ।

२७ अक्टोबर, २०२३ । इजरायलले गाजामा पहिलोपटक स्थल हमला सुरु ग¥यो । गाजाका अस्पतालहरु, विद्यालयहरु कुनै ठाउँ बाँकी रहेनन् जहाँ इजरेली सेना नपुगेको होस् । अस्पतालहरु बन्द गरिएपछि घाइतेहरुको उपचार अझ कठिन भयो ।

युद्ध चलिरहँदा र मर्ने मार्ने क्रम जारी रहँदा २१ नोभेम्बर, २०२३ मा इजरायल र हमासले ७ दिनका लागि युद्धविरामको घोषणा गरे । सो क्रममा केहि बन्धकहरु रिहा पनि भए ।

युद्धविराम भएपनि युद्ध टुँगिएको थिएन । १ डिसेम्बर, २०२३ मा युद्ध पुनः सुरु भयो । गाजामा मान्छे मारिने क्रम पुनः सुरु भयो । खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामानको हाहाकार थियो । यसैबीच २६ जनवरी २०२४ का दिन हेगस्थित अन्तर्राष्ट्रिय अदालतले नरसंहार रोक्न इजरायललाई आदेश दियो । तर इजरेल रोकिएन । २९ फेब्रुअरी, २०२३ का दिन राहत सामग्री लिन लाइनमा उभिएका १०० भन्दा बढी गाजाबासी इजरायली सेनाको आक्रमणमा मारिए ।

युद्धले थिलथिलो भएको हमास युद्धविरामका लागि तत्पर भएपछि इजरेलले युद्ध जारी नै राख्यो । १ अगष्ट, २०२४ मा इजरेली आक्रमणमा परेर हमासका सैन्य प्रमुख मोहम्मद देइफ मारिए । यसले हमासलाई अझ कमजोर बनायो ।

हमाससँग लडिरहेको इजरेलले यहिबीचमा अर्को परम्परागत शत्रु हिजबुल्लाह बिरुद्ध पनि आक्रमण गर्यो । २७ जुलाई, २०२४ मा हिजबुल्लाहको रकेट आक्रमणमा परेर इजरायलको कब्जामा रहेको गोलन हाइट्समा बालबालिकासहित १२ जनाको मृत्यु भएपछि २८ सेप्टेम्बर, २०२४ मा इजरायलले लेबननका् राजधानी बेरुतमा गरेको हवाई हमलामा परेर हिजबुल्लाहका नेता हसन नरसल्लाहको मृत्यु भयो ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएकावेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् । यो युद्धविरामका दौरान पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छोडिने छ । त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छोड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यो युद्धविरामपछि हमासका प्रमुख वार्ताकार खलील अल हय्याले युद्धका क्रममा गाजामा भोगेका पीडाका लागि इजरायललाई माफ नगरिने’ बताएका छन् । सबै पीडितका तर्फबाट रगतका प्रत्येक थोपा र पीडाका प्रत्येक आँसु हामी बिर्सने छैनौँ उनले भनेका छन् ।

हुन त युद्ध कसैका लागि लाभदायी हुँदैन । अझ विशेषगरी सर्वसाधारणहरु जसलाई यस्तो युद्धमा कुनै लिनुदिनु हुँदैन, उनीहरु नै सबैभन्दा धेरै प्रताडित हुने गर्दछन् । बर्षौ देखि लडिरहेका हमास र इजरेलबीचको पछिल्लो युद्ध ठूलो मानविय र भौतिक क्षतिपछि थामिएको त छ, युद्धविरामको भविष्य के हुनेछ, भविष्यकै गर्भमा छ ।

यसपटक इजरेल र हमास मात्र लडेनन् । एकसाथ इजरेलले लेवननमा कृयाशिल हिजबुल्लाह र यमनमा रहेको हुथिसँग पनि लड्यो । यति मात्र होइन, यहिबीचमा इजरेलले इरानमै आक्रमण गरेर हमासका नेताको हत्या गर्यो । हुन त इरानले जवाफी हमला गर्यो तर त्यसले इजरायललाई खास संकट सिर्जना गरेन । त्यसैले यसपटकको युद्धमा इजरेलले सवै मोर्चामा दरिलो आक्रमण मात्रै गरेन, अस्त्रबाट अव इजरेललाई हराउन मुस्किल छ भन्ने तथ्य पनि स्थापित गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय