काठमाडौं, साउदी अरबबाट फर्केका अर्का एक व्यक्तिमा पनि एमपक्स (पहिले मंकिपक्स भनेर चिनिने) स्वास्थ्य समस्या पहिचान भएको छ । साउदी अरबबाट फर्केका सिन्धुलीका एक ४४ बर्षिय पुरुषमा एमपक्स पुष्टि भएको हो । यो नेपालमा पहिचान भएको एमपक्सको तेस्रो घटना हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस अगाडी साउदी अरबबाट नै फर्केका अर्का एक व्यक्तिमा पनि एमपक्स पुष्टि भएको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. यदुचन्द्र घिमिरेका अनुसार गत डिसेम्वर २० मा साउदी अरबबाट फर्केका तनहुँका एक ३६ बर्षिय पुरुषमा पनि एमपक्स पुष्टि भएको थियो । हाल दुवै विरामीको शुक्रराज सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ । यस अगाडी नेपालमा गत बर्ष एक विदेशी नागरिकमा एमपक्स देखिएको थियो । त्यो नै नेपालमा एमपक्सका विरामी भेटिएको पहिलो घटना थियो ।

१० दिनभित्रमा दुई व्यक्तिमा एमपक्स पुष्टि भएपछि यसले सो रोग समुदायस्तरमा फैलिन नदिन सजगताको खाँचो रहेको विज्ञहरुले औंल्याएका छन् । दैनिक हजारौं नेपाली वैदेशिक रोजगारीका साथै विविध उद्धेश्यका साथ भ्रमणबाट फर्किने गरेको हुँदा थप सजगता अपनाउन जरुरी रहेको शुक्रराज सरुवारोग अस्पताल, टेकुका क्लीनिकल रिसर्च युनिटका प्रमुख शेरबहादुर पुनले बताएका छन् । सो भाइरस शरिरमा प्रवेश गरेपछि रोगको लक्षण देखिन ५ देखि २१ दिनसम्म समय लाग्ने भएकाले पनि एमपक्सको समस्या भएका मुलुकहरुबाट फर्किनेहरुका कारण एमपक्स समुदायस्तरमा फैलन सक्ने खतरा छ । लक्षण देखिएकाहरुलाई विमानस्थलबाट नै अस्पताल लैजान सकिने भएपनि लक्षण नदेखिएकाहरु घर जाने र परिवारका सदस्यहरुमा यो रोग सर्न सक्दछ ।

यौन सम्पर्कको माध्यमबाट मात्र नभई, यो घातक रोग थुकको छिटा, हेरचाहकर्ताहरूसँगको छालासँगको सम्पर्क, सुई तथा व्यक्तिगत सुरक्षा उपायहरूको कमीका कारण बालबालिकामा पनि सर्न सक्दछ। ‘हामी समुदायस्तरमा भाइरस फैलिने जोखिमको बारेमा सचेत छौ’, रोग नियन्त्रण महाशाखा निर्देशक घिमिरेले भने, ‘हामीले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा स्वास्थ्य डेस्कमा निगरानीलाई मजबुत बनाइसकेका छौं।’

एमपक्स कम मात्रामा देखिने स्वास्थ्य समस्या हो । नेपालको छिमेकी मुलुक भारतमा सन् २०२२ यता ३० जना व्यक्तिमा यो रोग पुष्टि भएको छ । एमपक्सका विरामीहरु मध्ये अधिकाँशलाई धेरै गम्भीर स्वास्थ्य समस्या नहुने भएपनि यसले कतिपयको ज्यान पनि लिने गरेको छ ।

सन् २०२२ यता एमपक्स विश्वव्यापी रुपमा फैलिएको भाइरस हो । हालसम्म १ सय २२ मुलुकमा १ लाख भन्दा बढी व्यक्तिमा एमपक्सको संक्रमण पुष्टि भइसकेको छ । दुई सय भन्दा बढी व्यक्तिको मृत्यु एमपक्सका कारण भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  साउदी अरबमा पनि सन् २०२२ देखि नै एमपक्सको संक्रमण बेला बेलामा देखिंदै आएको छ ।

एमपक्स भएका व्यक्तिलाई ज्वरो आउने, टाउको दख्ने, शरिर सुन्निने, चिलाउने, घाँटी दुख्ने, शरिर दुख्ने, ढाड दुख्ने, अनुहार र शरिरका अन्य भागमा रातो फोका आउने लक्षण हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय