काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वीट्जरल्यान्डसँग रोजगार सेवा केन्द्रको सवलिकरण र आप्रवासनको विषयमा सहकार्यको आग्रह गरेका छन् । नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले यस्तो आग्रह गरे ।

मंगलवार श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरणका विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवलायले जनाएको छ । सो अवसरमा मन्त्री भण्डारीले रोजगार सेवा केन्द्रहरुलाई रोजगारीको केन्द्रका रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताएका थिए ।

मन्त्री भण्डारीले मंगलवार नै स्वीस सम्पर्क नेपालका देशीय निर्देशक सञ्जय कार्कीसहितको टोलीसँग आन्तरिक रोजगारी प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यका विभिन्न विषयमा छलफल गरेका छन् ।

यसैगरी मंगलवार नै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गरे । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भएको इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोग लगायतका विषयमा छलफल भएको छ ।

भेटमा इपिएस कोरियाका सम्बन्धमा भएको द्विपक्षीय श्रम समझदारी अद्यावधिक गरी समसामयिक बनाउने, इपिएस कोरियासँग सम्बन्धित विषयवस्तुका बारेमा छलफल गरी सुझाव दिनेगरी मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । प्राप्त सुझावका आधारमा अघि बढ्ने विषय र कोरियामा रहेका नेपाली कामदारलाई कोरियन कामदार सरह सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको रिजालले बताए । यसका साथै कोरिया जाने श्रमिकलाई आवश्यक सीप सिकाउने तालिम केन्द्र स्थापना र सुदृढीकरणमा सहयोगको अपेक्षासहित नेपाल फर्किएका श्रमिकले आफूले सिकेको सीपको उपयोग गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा सहकार्यका लागि छलफल भएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय